रमेश विश्वकर्मा
गुल्मी, वैशाख १२ गते। गुल्मीमा कुपोषित बालबालिकाको खोजपड्ताल गरिने भएको छ।
राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत समयमै पहिचान, सही उपचार ः कुपोषण मुक्त पुस्ताको आधार भन्ने मुख्य नारासहित यस जिल्लामा स्वास्थ्यकर्मी मार्फत कुपोषित बालबालिका खोजपड्ताल गर्न लागिएको हो।
कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा पारिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै यहाँका दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तहका ९३ वटै वडाका ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्न लागिएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक ताराबहादुर कार्कीले जानकारी दिनुभयो।
लक्ष्यित समूहका बालबालिकामा शीघ्र कुपोषणको समयमै पहिचान गरी उपयुक्त कुपोषण व्यवस्थापन सेवामा रिफरल सुनिश्चित गर्नुका साथै स्थानीय तह, जिल्ला र प्रदेशस्तरमा कुपोषणको वास्तविक जोखिम वर्गीकरण गर्नका लागि कुपोषित बालबालिका खोजपड्ताल थालिएको हो।
यस जिल्लाका स्थानीय तहसँगको समन्वयमा खोजपड्तालको व्यवस्थापन सम्बन्धी र अभिलेख प्रतिवेदनका लागि कोबो टुल्स सम्बन्धि जिल्लास्तरीय अभिमुखीकरण गरिएको छ।
कुपोषण पहिचानका लागि यहि वैशाख १५ देखि ३० गतेभित्र स्वास्थ्य संस्थाबाट समुदायस्तरमा स्वास्थ्यकर्मीहरू पुग्ने उहाँले जानकारी दिनुभयो।
यस अवधिमा कुपोषणको जोखिममा रहेका बालबालिकाको कोबो टुल्स मार्फत तथ्याङ्क सङ्कलन गरिने छ। बालबालिकाको पाखुराको मध्य भागको परिधि मापन, उचाइ र तौलको आधारमा मूल्याङ्कन, कुपोषणको कारण सुन्निएको लेखाजोखा गरिने जनस्वास्थ्य निरीक्षक कार्कीले बताउनुभयो।
उहाँका अनुसार समुदायस्तरमा स्वास्थ्यकर्मी मार्फत सचेतना फैलाउँदै पोषणको लेखाजोखा गरिने र त्यसपछि बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउनका लागि कुपोषणको अवस्था अनुसार व्यवस्थापन गरिने छ।
यहाँका सबै स्थानीय तहका सबै वडामा लक्षित उमेर समूहका बालबालिकाको पोषण सुधारका लागि राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमले ठुलो सहयोग पुर्याउने बताउनुभयो।
आफ्नो बालबालिकाको पोषण सुधार गर्नका लागि यस समयावधिमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य कार्यालय गुल्मीले आग्रह गरेको छ।