भूमे गाउँपालिकाले गाउँपालिकाभित्रका अभिभावकविहीन बालबालिकालाई आवासीय सुविधासहित पठनपाठन सुरु गरेको छ । भूमे–३, क्याङ्सीमा माओवादी जनयुद्धकालमा सञ्चालन गरिएको जनवादी विद्यालयलाई अहिले अनाथ बालबालिकाको आवासीय व्यवस्थाका साथै जीवन्त अध्ययन सङ्ग्रहालयको रूपमा प्रयोगमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताउनुभयो ।
चर्को घाममा कोदालोले खेत सम्याउँदै गरेको बेला भेटिए ५५ वर्षीय फिरन पासवान। धनुषाको शहीद नगरपालिका–४, ननुपट्टी घर भएका फिरन आफू कृषि बँधुवा मजदुर भएको र सम्याउँदै गरेको खेत साहुको भएको बताउनुभयो। विगत ३५ वर्षदेखि बँधुवा मजदुरका रूपमा काम गर्दै आएको बताउँदै उहाँले बाबुबाजे पनि बँधुवा मजदुर भएर काम गरेको सुनाउनुभयो। बुवा रूपलाल पासवान र हजुरबुवा स्वरूप पासवान बँधुवा मजदुरी गर्दागर्दै जीवन बिताउनुभयो।
सप्तरीको मुख्य भारतीय नाका राजविराज भन्सार र सीमापारिको बजार कुनौली जोड्ने दसगजा क्षेत्रमा पक्की पुल बन्ने भएपछि दुई देशका नागरिक खुसी भएका छन्। सीमा क्षेत्रमा हजारौँ नागरिकको विगतका कष्टपूर्ण दिनचर्या सम्झेरै दुःख लाग्ने गरेको तिलाठी कोइलाडी–१ का युवा पङ्कजले बताउनुहुन्छ। सीमा क्षेत्रमा बसोबास गर्दै आएका दुई देशका नागरिकको आवश्यकतालाई बुझेर दुवै सरकारको पहलमा पक्की पुल निर्माणको खबरले नागरिकमा खुसीयाली छाएको उहाँले बताउनुभयो।
भोजपुरको हतुवागढी गाउँपालिका–९, मजुवाटारवासीले स्थानीय नाङ्खुवा खोलाबाट लघुजलविद्युत् आयोजना सञ्चालन गर्न सकिन्छ र गाउँघर झलमल पार्न सकिन्छ भन्ने कुरा थाहा पाए। लघुजलविद्युत्को क्षेत्रमा काम गर्ने संस्था नाम्सालिङ सामुदायिक विकास केन्द्र (एनसीडीसी) इलामले स्थानीयवासीलाई नाङ्खुवा खोलाबाट बिजुली निकाल्न सकिन्छ भन्ने जानकारी दिएको थियो तर थोरै लागतमा विद्युत् उत्पादन असम्भव भएको थाहा पाएपछि उनीहरूलाई कसरी बिजुली उत्पादन गर्ने भन्ने चिन्ताले सतायो। अन्ततः उनीहरू सामुदायिक वनमा भएको खयर बेचेर बिजुली बाल्ने निर्णयमा पुगे। २३ लाख रुपियाँको लागतमा २०६४ सालमा विद्युत् निकाल्ने तयारी भयो। स्थानीयवासीको पहलमा वैकल्पिक ऊर्जाले आठ लाख ४० हजार रुपियाँ सहयोग ग-यो। बाँकी रकम स्थानीयवासीले नजिकै रहेको नाङ्खुवा सामुदायिक वनको खयर बिक्री गरेर बाँकी रकम जुटाई लघुजलविद्युत् आयोजना सम्पन्न गरेको नाङ्खुवा खोला लघुजलविद्युत् आयोजनाका संस्थापक सचिव अनिराज राईले बताउनुभयो।
सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएर सुनसरी जिल्लाको हालको बराह क्षेत्र नगरपालिकाका साथै कोसी र हरिनगर गाउँपालिकाका हजारौँ सर्वसाधारण प्रभावित भएको आज ठीक चौध वर्ष भएको छ। यस अवधिमा त्यस क्षेत्रका हजारौँ सर्वसाधारणले अपेक्षाकृत मुआब्जा र क्षतिपूर्तिको अभावमा गरिबी र आर्थिक जटिलता मात्र भोगेका छैनन्, उनीहरूमा मनोसामाजिक प्रभावको असर गम्भीर रूपमा परेको पाइएको छ।
गुल्मीको रेसुंगा र मदाने वन संरक्षण क्षेत्र हिजोआज दुर्लभ चराको बासस्थान बन्न थोलेको छ । २०७३ सालमा रेसुंगा र २०६८ मा मदानेलाई सरकारले वन संरक्षण क्षेत्र घोषणा गरेको थियो ।
मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले कार्यान्वयन गर्ने अमेरिकी अनुदान सहायताका दुई परियोजना एक वर्षपछि कार्यान्वयनमा ल्याइने भएको छ । आयोजना कार्यान्वयनका लागि एमसीसी सम्झौताको संसदीय अनुमोदन समयमा हुन नसक्दा कार्यक्रम कार्यान्वयन सुरु गर्ने अवधि पूर्वनिर्धारितभन्दा तीन वर्षपछाडि सारिएको छ । एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टका अनुसार आगामी सेप्टेम्बरदेखि प्रसारण लाइन र सडक स्तरोन्नति सुरु हुनेछ ।
तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले त्यस समयको सामाजिक परिवेश अनुकूल वि.सं. १९१० मा जारी गरे नेपालको पहिलो मुलुकी ऐन समयको वेगसँगै परिवर्तन हुँदै अगाडि बढ्यो। बदलिँदो समयसँगै वि.सं २०२० मा नयाँ मुलुकी ऐनद्वारा प्रतिस्थापित गरियो। ऐन, कानुन समय, परिस्थिति एवं परिवेशअनुरूप परिवर्तन हुनु आवश्यक हुन्छ किनकि कुनै एक समय परिवेशमा उपयुक्त ठानिएका नियम कानुन समयको अर्को काल खण्डमा अव्यावहारिकसमेत हुन सक्छन्। समाज परिवर्तनशील हुन्छ र समयले नयाँ माग गर्छ। तद्अनुरूप नयाँ मुलुकी ऐनलाई पनि समयानुकूल व्यावहारिक बनाइनु समयको आवश्यकता थियो। यसै तथ्यमा आधारित भएर नयाँ मुलुकी ऐन लागू भएको झन्डै साढे पाँच दशकमा अर्थात् वि.सं २०७४ देखि संहिताका रूपमा ल्याइएको छ। गणतान्त्रिक संविधानको मर्मअनुरूप मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता, मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता र मुलुकी फौजदारी (कसुर तथा सजाय निर्धारण ) ऐन कार्यान्वयनमा भएको पाँच वर्ष बितेको छ।
पश्चिम सेती जलविद्युत् आयोजनाका समाचार नेपालीका लागि नयाँ विषय होइन। आयोजना भारतीय कम्पनी एनएचपीसी (नेसनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसन लिमिटेड) लाई निर्माण गर्न अध्ययन अनुमति दिइएको समाचार सार्वजनिक भयो। यो समाचारले केही व्यक्तिलाई उत्साही बनाएको होला तर जहाँ आयोजना बन्ने भनिएको छ, त्यो ठाउँका बासिन्दामा कुनै आश, उत्साह र उमङ्ग भर्न सकेको छैन । उनीहरूको बुझाइमा अब यो आयोजना नेताले भाषण गर्ने, पत्रकारले समाचार लेख्ने र केही टाठाबाठाले हेलिकप्टर चढ्ने, अभियान मात्रै हुनेछ। उनीहरूलाई यो आयोजना अब “गायत्री मन्त्र” हो भन्ने परेको छ अर्थात् जसरी बिहान बिहानै गायत्री मन्त्र जपिन्छ तर त्यसको अनुसरण गरिँदैन, ठीक त्यसैगरी भाषणमा, बजेट वक्तव्यमा आयोजना जपिन्छ तर काम हुँदैन।
वि.सं २०७८ माघ ८ गते नेपालमा ओमिक्रोन भेटिएपछि कोरोना सङ्क्रमण दर ५० प्रतिशतसम्म पुगेको थियो। फागुन महिनाबाट ओरालो लाग्दै एक अङ्कमा रहेको सङ्क्रमणदर असार लागेपछि उकालो चढदै छ र सक्रिय सङ्क्रमितको सङ्ख्यामा समेत बढोत्तरी भएको छ। नेपालमा कोरोना सङ्क्रमण सुरु भएदेखि हालसम्म आरटिपीसीआरबाट करिब नौ लाख ९१ हजार र एन्टिजेन परीक्षणमा एक लाख ४५ हजारमा कोरोना पुष्टि भइसकेको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ७५ पुगेको छ।
आज ३ भदौ । ठीक १५ वर्षअघि नेपालमा सूचनाको हकसम्बन्धी ऐन लागू भएको दिन। वि.सं. २०६४ साउन ५ गते तत्कालीन अन्तरिम संसद्बाट यो ऐन पारित भएको थियो। सूचनाको हकसम्बन्धी कानुन निर्माण भएको यतिका वर्ष बितिसकेको छ तर यसको कार्यान्वयन पक्ष अझै पनि गर्व गर्न लायक बनेको छैन।
कृष्णका रूप, गुण र व्यवहार आफैँमा बहुआयामिक छन् र विश्वले पनि त्यही नजरले हेर्ने गर्छ उनलाई। समकालीन दुर्योधन उनलाई मायावी सम्झन्छन्, शकुनि उनलाई छलछाम गर्ने व्यक्ति सम्झन्छन्। शिशुपाल त उनलाई १०१ गाली नै दिन्छन्। यस्ता नकारात्मक आयामबाट हेर्नेहरू पनि छन् असङ्ख्य। समकालीन राजा र युवराजहरू पनि छन् धेरै। द्रौपदी, विदुर, अर्जुन, युधिष्ठिर, अक्रुरहरू धेरै छन्; जो उनलाई सकारात्मक आयामबाट हेर्छन्। सुदामा अर्कै दृष्टि राख्छन् उनीप्रति। कोसेलीका रूपमा लिएर गएको कनिका दिन पनि लाज मान्छन् उनी। स्वयं कृष्ण खोसेर लिन्छन् र उनकै अघि खाएर सम्मान व्यक्त गर्छन् उनको। पहिलो पटक वृन्दावनबाट मथुरा आइरहँदा किशोर वयका कृष्णमा मथुरावासीहरू पनि अनेक रूपमा देख्छन् उनलाई। युवतीहरू साक्षात् कामदेवका रूपमा। बूढाबूढी ईश्वरका रूपमा। बालबालिका समवयी मित्रका रूपमा। कंसका अनुयायी शत्रुका रूपमा।
यहाँको सिन्जा गाउँपालिकाले मासिक हाटबजार सुरु गरेको छ । यहाँको सिन्जा गाउँपालिकाले सिन्जा सभ्यताको पहिचान जगाउने र आर्थिक उत्पादन बजारीकरण गर्ने भन्दै हरेक महिनाको १ गते हाटबजार सुरु गरेको हो । वि. सं. १८४६ पूर्वको तत्कालीन शक्तिशाली सिन्जा राज्यका बेलादेखि प्रयोग हुँदै आएको ‘हाट’ शब्दले आफ्नै इतिहास बोकेको छ । त्यसबेला भारत र तिब्बत, चीनका व्यापारी, उपभोक्तालाई आकर्षण गर्ने गरी सिन्जामा लाग्ने ‘हाट’ आर्थिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक र भू–राजनीतिक दृष्टिले पनि निकै महत्त्वपूर्ण मानिन्थ्यो । ‘हाट’कै कारण १२औँ शताब्दीदेखि १४औँ शताब्दीसम्म सिन्जा खस राज्य आर्थिक रूपमा बलियो भएको इतिहास छ । उतिबेलाको ‘हाट’ आजको प्रमुख व्यापारिक केन्द्रजस्तै भएको बुद्धिजीवी बताउँछन् ।
नेपालबाट भारतमा हुने व्यापारमा ढुवानीको व्यवस्था सीमाविहीन हुनुपर्ने सुझाव व्यक्त गरिएको छ । नेपाली ढुवानी साधनको निर्बाध आवागमनको व्यवस्था गरेर द्विपक्षीय व्यापार सम्झौता संशोधन गर्न यहाँका उद्यमी व्यापारीले सुझाव दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश १ समितिको आयोजनामा विराटनगरमा भएको ‘सीमावर्ती भारतीय क्षेत्रसितको व्यापार सम्भावना’ विषयक गोष्ठीमा दुई देशबीचकोे व्यापार सम्झौता संशोधन गरेर गैरभन्सार अवरोध हटाउन पहल गर्नुपर्ने सुझाव दिइएको थियो ।
स्थानीय प्रशासनले हेटौँडा औद्योगिक क्षेत्रस्थित खाद्य तथा दाना उद्योगको अनुगमन गर्दा होटल र खाद्य पसलमा भन्दा बढी समस्या देखिएको छ। खाद्य पदार्थ उत्पादन गर्ने उद्योगले खाद्य अनुज्ञापत्र नवीकरण नगर्ने, उत्पादन स्थलमा सरसफाइ नगर्ने, म्याद गुज्रेका दाना बिक्री गर्नेलगायतका समस्या देखिएको हो।