• ६ साउन २०८१, आइतबार

कोसीपीडितमा गम्भीर मनोसामाजिक असर

blog

सचिन पोख्रेल

इटहरी, भदौ ३ गते । सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएर सुनसरी जिल्लाको हालको बराह क्षेत्र नगरपालिकाका साथै कोसी र हरिनगर गाउँपालिकाका हजारौँ सर्वसाधारण प्रभावित भएको आज ठीक चौध वर्ष भएको छ। यस अवधिमा त्यस क्षेत्रका हजारौँ सर्वसाधारणले अपेक्षाकृत मुआब्जा र क्षतिपूर्तिको अभावमा गरिबी र आर्थिक जटिलता मात्र भोगेका छैनन्, उनीहरूमा मनोसामाजिक प्रभावको असर गम्भीर रूपमा परेको पाइएको छ। 

सप्तकोसीले पूर्वी तटबन्ध भत्काएर प्रभावित क्षेत्रका सर्वसाधारणमा मनोसामाजिक प्रभावको असर गम्भीर रूपमा देखिएको हो। सप्तकोसी कटानबाट पीडित भएका सर्वसाधारणमा आधारित भएर गरिएको छ महिना लामो खोज तथा अनुसन्धानका क्रममा सो कुरा पुष्टि भएको हो। 

पूर्वाञ्चल विश्वविद्यालयकी सहायक प्राध्यापक सरिता खतिवडाको नेतृत्वमा रहेको खोज तथा अनुसन्धान टोलीले कोसी प्रभावित क्षेत्रका सर्वसाधारणमा तत्कालीन समयदेखि अहिलेसम्म जटिल मनोसामाजिक असर रहेको पुष्टि गरेको छ। सहायक प्राध्यापक खतिवडाले कोसी प्रभावित क्षेत्रका विशेष गरी मुस्लिम तथा मधेशी समुदायका गरिब तथा विपन्न परिवारमा मनोसामाजिक असर अधिक देखिएको बताउनुभयो। “चौध वर्षको यो अवधिमा उनीहरूमा गरिबी र चरम आर्थिक 

दुरवस्था त छँदैछ, त्यसबाहेक मानसिक स्वास्थ्यमा समस्या देखिएको छ,” खतिवडाले भन्नुभयो।

 कोसी कटानका कारण विस्थापित भएका र घरबारविहीन भएका परिवारका सदस्यमा अपेक्षाकृत मुआब्जा र क्षतिपूर्ति तथा आवश्यक मानसिक र सामाजिक सहयोग नपाएका कारण मानसिक समस्या पाइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। कोसीपीडितमध्ये पचास वर्ष उमेर समूहमाथिका विशेष गरी महिलामा एन्जाइटी, डिप्रेसन, मनमा दिक्क लागिरहने जस्ता समस्या देखिएको अध्ययनले पुष्टि गरेको छ। त्यस क्षेत्रमा गरिएको अध्ययनलाई आधार मान्दा कोसी कटान पीडितलाई सरकार र सरोकारवाला निकायले तत्काल आवश्यक आर्थिक र सामाजिक सहयोगका साथै मानसिक स्वास्थ्यका लागि मनोचिकित्सकमार्फत आवश्यक परामर्श र उपचार गराउन आवश्यक देखिन्छ।

२०६५ भदौ २ गते सप्तकोसीको बाँध भत्किएर मानव बस्तीमा प्रवेश गरेको थियो। सो क्रममा सुनसरीको हरिपुर, श्रीपुर र पश्चिम कुसाहामा पूर्ण रूपमा क्षति पुगेको थियो भने लौकही, मधुवन, वसन्तपुर र घुस्कीका धेरै स्थानमा आंशिक क्षति पु-याएको थियो। सप्तकोसी नदीले सुनसरीको पश्चिम कुसाहामा पूर्वी तटबन्ध भत्काएर गाउँमा बाढी पस्दा सात हजार ५७२ घरका ४२ हजार आठ सय विस्थापित भएका थिए। तटबन्ध भत्किएर नदी मानव बस्तीमा आउँदा पाँच हजार पाँच सय हेक्टर जमिन बालुवामा परिणत भएको थियो। 

त्यसैगरी नदीले पूर्व–पश्चिम राजमार्गको करिब ११ किलोमिटर कालोपत्रे र करिब १२ किलोमिटर ग्रामीण सडक भत्काएको थियो।  कोसी प्रभावित क्षेत्रका सर्वसाधारणले भदौ २ गतेलाई कालो दिनका रूपमा लिँदै आएका छन्। सप्तकोसीको बाँध फुट्दा भारतको विहार राज्यका १८ वटा जिल्लासमेत प्रभावित भएको थियो।