• २९ असार २०८२, आइतबार

नेपालीहरू जीवित रहेसम्म भानुभक्तको महत्व रहन्छ : मन्त्री पन्त

blog

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त ।

गोरखापत्र अनलाइन

काठमाडौं, असार २९ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपालीहरू जीवित रहेसम्म आदिकवि भानुभक्त आचार्यको महत्व रहिरहने बताउनुभएको छ । आइतवार २१२ औं भानु जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले भानुजयन्ती मनाउन मूल तात्पर्य आफ्नो भाषाको जगेर्ना गर्ने, आफ्नो भाषा फैलाउने, आफ्नो भाषामा साहित्य सिर्जना गर्ने व्यक्तित्वलाई सम्झनु रहेको बताउनुभयो । उहाँले जुन बेलासम्म नेपाल, नेपाली, नेपाली भाषा रहन्छ तबसम्म भानुभक्तको महत्व र ऐतिहासिकता रहने बताउनुभयो । उहाँले हरेक व्यक्तिले सधैँ नेतृत्व गर्न नसक्ने र आफ्नो कालखण्डलाई नेतृत्व गर्ने बताउनुभयो । 

भानुभक्तले पनि साहित्यमा आफ्नो कालखण्डको नेतृत्व गर्नुभएको बताउनुभयो । आफूले नेपाली भाषाको नेतृत्व गरेर नेपाली भाषालाई फैलाउने मूर्धन्य व्यक्तित्व भानुभक्त भएको बताउनुभयो । भानुभक्त आचार्यलाई सम्झनु भनेको नेपाली भाषा बोल्ने, नेपाली भएर बस्ने सबैले उहाँप्रति श्रद्धा अर्पण गर्नु रहेको बताउनुभयो । 

मन्त्री पन्तले भन्नुभयो, ‘भानु जयन्ती मनाउन मूल तात्पर्य के हो भने हामीले आफ्नो भाषाको जगेर्ना गर्ने, आफ्नो भाषा फैल्याउने, आफ्नो भाषामा साहित्य सिर्जना गर्ने व्यक्तित्वहरुलाई सम्झनु हो । जुन बेलासम्म हामी नेपाली जीवित रहन्छौं, जुन बेलासम्म नेपाल भन्ने देश रहन्छ र जुन बेलासम्म नेपाली भाषा रहन्छ, त्यस बेलासम्म भानुभक्तको महत्व र ऐतिहासिकता रहन्छ । हरेक व्यक्तिले सधैँ नेतृत्व गर्न सक्दैनन्, उनीहरुले आफ्नो कालखण्डलाई नेतृत्व गर्दछन् । त्यो हरेक क्षेत्रमा हुन्छ, साहित्यमा पनि हुन्छ ।’ 

भानुभक्त आचार्य आफ्नो कालखण्डमा साहित्यको पाटोलाई नेतृत्व गरेर नेपाली भाषा फैलाउने मूर्धन्य व्यक्तित्व भएको उहाँले चर्चा गर्नुभयो । ‘उहाँलाई सम्झनु भनेको हामी नेपाली भाषा बोल्ने, नेपाली भएर बस्ने सबैले उहाँप्रति श्रद्धा अर्पण गर्नु हो’ उहाँले भन्नुभयो । मन्त्री पन्तले विभिन्न भाषाहरु मर्दै गइरहेको बताउनुभयो । भाषालाई समृद्ध बनाइ र संरक्षण गर्ने चुनौती रहेको उहाँको भनाइ छ ।