• २९ असार २०८२, आइतबार

मणिपाल अस्पतालमा क्यान्सरको अत्याधुनिक उपचार, गण्डकीलाई सहुलियत

blog

पोखरा, असार २८ गते । कास्कीको पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालले अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य राखेर विस्तार अघि बढाएको छ । अस्पतालले नागरिकको जीवन रक्षा र सहरदेखि ग्रामीण क्षेत्रसम्म स्वास्थ्य सेवा विस्तारको लक्ष्यअनुसार नवीनतम् र अत्याधुनिक सेवा प्रदान गर्ने कार्य तीव्र बनाएको हो । 

अस्पतालका निर्देशक डा. अभिषेक मास्केका अनुसार क्यान्सरको उपचारका लागि अत्याधुनिक तथा गुणस्तरीय सेवा प्रदान गर्नेगरी क्यान्सर उपचार विभागको सुरुवात गरिएको हो । 

डा. मास्केले क्यान्सर उपचारका लागि सुविधा सम्पन्न विभागको सुरु गरिएको र विभागले अत्याधुनिक प्रविधिबाटै उपचार गर्ने बताउनुभयो ।

उहाँका अनुसार रेडियो थेरापी (विकिरण उपचार पद्धति), किमो थेरापी, हर्मोन थेरापी, टार्गेटेड थेरापी, इमुनो थेरापी, अन्को सर्जरी (क्यान्सरको शल्यक्रिया) सहित क्यान्सरका बिरामीलाई चाहिने सबै किसिमको उपचार हुने बताउनुभयो ।

अस्पतालले स्तन क्यान्सर, सानो तथा ठूलो आन्द्राको क्यान्सर, मलद्वार तथा टाउकोसम्बन्धी क्यान्सर तथा शरीरको सबै भागमा देखिने क्यान्सर रोगको उपचार सेवा आरम्भ गरेको छ । डा. मास्केले भन्नुभयो, “क्यान्सरको उपचार यसअघि पनि गरिन्थ्यो । तर अब स्तरोन्नती गरेर सम्पूर्ण सेवा विस्तार गरिएको छ ।”