रामकृष्ण बोहरा
बागलुङ, भदौ १५ गते । बागलुङ बजारलाई आर्कषक बनाउन नगरपालिकाले फुटपाथको व्यवस्थापन गरिरहेको छ । तर मरेपिपल, ट्राफिकचोकदेखि आवारोड र श्रीनगर टोलको सडकमा फुटपाथमा सवारी साधन राख्ने गरेपछि पैदलयात्रीलाई सास्ती भएको छ ।
बिच सडकमा हिँड्ने अभ्यास अन्त्य गर्दै सभ्य नागरिकको पहिचान बनाउन यो फुटपाथ उपयोगी मानिन्छ । सडक दुर्घटना कमी गर्न यो काम उपयोगी बनेको मानिन्छ । पुरानो बजारका साँघुरा सडकपेटीमै सवारी पार्किङ गर्दा पैदलयात्रीले सास्ती खेप्न बाध्य छन् ।
‘‘अधिकांश पैदलयात्रीले आजकल फुटपाथ प्रयोग गर्छन् । बजारका साँघुरा सडकमा अव्यवस्थित तरिकाले ट्याक्सी पार्क गरिन्छ । त्यहीं पिकअप, अटो र मोटरसाइकल समेत पार्क गरिएका छन् । यसरी फुटपाथ नै ढाकिनेगरी सवारी पार्क गरिदिँदा यात्रीले चाहेर पनि किनाराबाट हिँड्न पाएका छैनन्’’ पैदलयात्री उमाकान्त शर्माले भन्नुभयो, ‘‘फुटपाथमा सवारी पार्किङ गरिएको छ, बिच सडकमा हिँड्दा दुर्घटना जोखिम छ ।’’
बागलुङ नगरपालिकाले केही दिनदेखि नगर प्रहरी खटाएर चोकमा जथाभावी पार्क तथा सडक ढाकेर सामग्री राख्ने प्रवृत्ति समेत रोक्ने प्रयास गरेको छ । तर, गाडी चालक र सवारी धनीले नियम पालना गरेको भेटिंदैन । कतिपय स्थानमा दोहोरो पार्क गरेर सडकमा गुड्ने सवारीलाई समेत सास्ती हुनेगरेको छ । सडक नै ढाकिनेगरी निर्माण सामग्री राखेर अप्ठ्यारो पार्ने, सामान लोड–अनलोड गर्नेगरी ठुला सवारी घण्टौं सडकमा रोकी दिने कार्यले पनि सडकको सुन्दरतामा असर परेको शर्मा बताउनुहुन्छ ।
ट्राफिक प्रहरीले अव्यवस्थित पार्किङका दृश्य देखेनदेखेझैँ गरेको जनप्रतिनिधिकै गुनासो छ । ‘‘कुन ठाउँ पार्किङ र कुन ठाउँ खुला राख्ने भन्नेबारे ट्राफिकले बेवास्ता गरेपछि पैदलयात्रीले समस्या भोगेका छन्’’ बागलुङ नगरपालिका २ का सदस्य अर्जुन घिमिरेले भन्नुभयो, ‘‘बागलुङ बजारमा ट्राफिक प्रहरी भए नभएको अवस्था छ ।’’ ट्राफिक नियम विपरितका धेरै गतिविधिले बागलुङ बजारका पैदलयात्रीले सास्ती खेप्ने उहाँको भनाइ छ ।
ट्राफिक प्रहरी प्रमुख मिनबहादुर कुँवरले भने जनताको गुनासो नआउने गरी काम गर्ने बताउनुहुन्छ । बजार अनुगमन, सवारी साधनको चेक र जथाभावी सवारी चलाउनेलाई कारबाही गर्ने कुँवरले बताउनुभयो । जिल्लामा आएको एक साता मात्रै भएकाले अध्ययन गरेर पैदलयात्रीलाई समस्या नपर्ने गरी काम गर्ने कुँवरको भनाइ छ ।
मोडिफाई गरेका केही मोटरसाइकल समातिसकेको र बसपार्क माथि सरेकाले केही दिन व्यस्त भएकाले हेर्न नभ्याएको भन्दै उहाँले दोहोरो पार्क गर्नेलाई तत्काल कारबाही गरेर देखाउने बताउनुभयो ।