• २९ असार २०८२, आइतबार

भूस्खलन नियन्त्रण गर्न रोपिँदै बाँस

blog

रोपणका लागि तयार गरिएका बाँसका बिरुवा ।

पुतलीबजार समाचारदाता 

पुतलीबजार, असार २९ गते । वालिङ नगरपालिका क्षेत्रमा मोसो जातको बाँस रोपिने भएको छ । नगरपालिकाले एक हजार पाँच सय मोसो बाँसका बिरुवा रोप्ने योजना सार्वजनिक गरेको छ । यो बाँस सौन्दर्य वृद्धि, व्यावसायिक उपयोग र भूस्खलन नियन्त्रणका लागि अत्यन्त उपयुक्त मानिन्छ ।

नगरप्रमुख कृष्ण खाँणका अनुसार परम्परागत रैथाने बाँसका प्रजातिमा बाँदरले क्षति पुर्‍याउने, झाडी झार बन्ने र खेतीयोग्य जमिन बिगार्ने समस्या भइरहेका थिए । त्यसैले व्यवस्थित र उद्देश्य पूर्ण खेतीका लागि मोसो बाँस चयन गरिएको हो ।

“मोसो बाँस हेर्दा अग्लो, घना, बलियो हाँगाहरू हुने र पात नझर्ने प्रकारको हुन्छ । यसले भूस्खलन रोक्न निकै प्रभावकारी भूमिका खेल्छ । साथै हस्तकला र सौन्दर्यवर्धक संरचनामा प्रयोग गर्न सकिने गुण यसमा छन्,” प्रमुख खाँणले जानकारी दिनुभयो ।

खाणका अनुसार मोसो बाँसबाट कपडा, कागज, हस्तकलाका सामग्री र अन्य व्यावसायिक उत्पादन तयार गर्न सकिन्छ । रैथाने बाँसको तुलनामा यो जातबाट अधिक फाइदा लिन सकिने भएकाले पहिलो चरणमा एक हजार पाँच सय बिरुवा रोपिने निर्णय भएको हो । प्रतिबिरुवा १८० को दरले बनेपादेखि खरिद गरी ल्याइएको यो बाँस सामुदायिक वन उपभोक्ता महासङ्घ नगर समिति वालिङमार्फत करम भन्ज्याङ पित्लेक सामुदायिक वनमा रोपण गरिने भएको हो ।  

यो बाँस पूर्ण रूपमा हुर्किंदा सुन्दर देखिने भएकाले पर्यटकको आकर्षण हुने नगर उपप्रमुख कविता तिवारी गैरेले बताउनुभयो ।  यहाँ आउने पर्यटकले बाँसको अवलोकनसँगै पित्लेक सामुदायिक होमस्टेको स्वागत एकैसाथ प्राप्त गर्न सक्ने तिवारीको भनाइ छ । 

विशेष गरी पहाडी भूभागमा हरेक वर्ष मनसुनमा हुने भूस्खलन र जमिन कटान जस्ता समस्यालाई मोसो बाँसले न्यूनीकरण गर्न सक्ने अपेक्षा गरिएको छ । यसको बलियो जरा प्रणाली माटो मजबुत बनाउने र भूक्षय रोक्न मद्दत गर्ने खालको हुन्छ ।

मोसो बाँसको प्रयोग फर्निचर, लोरिङ, बायोडिग्रेडेबल सामग्री र कपडा उद्योगसम्म फैलिएको छ । यसले स्थानीय उत्पादनलाई प्रवर्धन गर्दै रोजगारी सिर्जना गर्ने र स्थानीय अर्थतन्त्रलाई टेवा दिने विश्वास गरिएको छ ।

वालिङ नगरपालिकाले आगामी वर्षमा मोसो बाँसको खेतीलाई थप विस्तार गर्ने योजना बनाइएको छ । यसका लागि स्थानीय किसान, युवा समूह र सहकारीलाई समेत बाँस खेतीमा सहभागी गराउने तयारी भइरहेको छ ।