जनार्जन खत्री
सर्लाही, असार २९ गते । मिनेट मिनेटमा झ्याप झ्याप गर्दे विद्युत् कटौतीले हैरान भएको भन्दै सर्लाही सदरमुकाम मलङ्गवामा आइतबार स्थानीयले प्राधिकरण घेराउ गरेका छन् ।
अघोषित लोडसेडिङले हैरान भएपछि स्थानीय युवा भेला भएर मलङ्गवास्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय घेराउ गरेका हुन् । नियमित विद्युत् प्रवाह गर्न माग गर्दै मलङ्गवामा यसरी युवाले बारम्बार प्रदर्शन गर्दै आइरहेका छन् ।
मलङ्गवाका स्थानीय चन्दनकुमार सिंहले गर्मीले खपि नसक्नु भएको समयमा घण्टौँसम्म बिजुली काटिने समस्याबाट आजित भइरहेको गुनासो गर्नुभयो । “गर्मीले छटपटी भएका बेला झ्याप्प झ्याप्प बत्ती गइरहन्छ,” सिंहले गुनासो गर्दै भन्नुभयो, “दिउँसो त काट्यो काट्यो राति पनि छिनछिनमै बत्ती कटौती हुँदा पङ्खा चलाउन नपाएर निधाउन सकिँदैन ।”
कयौँ पटक यसरी दबाबमूलक ढङ्गले प्रदर्शन गर्ने र ज्ञापन–पत्र बुझाउने काम गरे पनि मलङ्गवा वितरण केन्द्रले लापरबाही गर्न नछाडेको सिंहको भनाइ छ । प्राधिकरणको मलङ्गवा वितरण केन्द्र अगाडि नाराबाजी र टायर बालेर प्रदर्शन गरेपछि आन्दोलित युवाले वितरण केन्द्र प्रमुख इन्जिनियर उमेशप्रसाद यादवलाई भेटेर बिजुली नियमित बनाउन माग गरेका छन् ।
विद्यार्थी नेता समिमबाबु पठानले मलङ्गवा वितरण केन्द्रको लापरबाहीले गर्मी याममा बिजुली प्रवाहमा असाध्य समस्या आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो–“यसरी आन्दोलन गरेको धेरै पटक भइसक्यो तर मलङ्गवाको बिजुली नियमित हुनै सकेन ।”
नेपाल विद्युत् प्राधिकरण मलङ्गवा वितरण केन्द्रका प्रमुख इन्जिनियर यादवले गर्मीमा अत्यधिक तापक्रम र अधिक भारले गर्दा बेलाबेलामा बत्ती कटौती हुने गरेको जानकारी दिनुभयो । इन्जिनियर यादवले पूर्वपश्चिम राजमार्गस्थित नवलपुर ग्रिड सवस्टेशनदेखि तानिएको प्रसारण लाइनमा बारम्बार प्राविधिक समस्या आएर प्राधिकरण आफैँ पनि हैरान भइरहेको बताउनुभयो ।
अत्यधिक गर्मीमा पिन डिस्क पड्कने र ओभरलोड थेग्न नसकेर आफै लाइन कट हुने समस्या आउने गरेको वितरण केन्द्र प्रमुख यादवको भनाइ छ । “हाम्रो तर्फबाट बिजुली नियमित गराउन हरसम्भव प्रयास गरिरहेकै छौँ,” वितरण केन्द्र प्रमुख यादवले भन्नुभयो, “गर्मी याममा हरेक वर्ष यस्तो समस्या आएकै हुन्छ ।”
मलङ्गवा वितरण केन्द्रसँगै जिल्लामा लालबन्दी, हरिपूर्वा, बरहथवा र गडहीया वितरण केन्द्रको बिजुली गर्मी यामभर असाध्य अनियमित हुने गरेको उपभोक्ताले गुनासो गरेका छन् ।