प्रेम अधिकारी
पशुपतिनगर (इलाम), असार २८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले चाहेमा देशको विकास चाँडै हुने बताउनुभएको छ ।
इलामको माई नगरपालिकामा शनिबार आयोजित कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री ओलीले जनताले चासो राखे देशको विकास चाँडै हुने बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले विकास निर्माणका काममा कसैले अवरोध गर्न नहुने बताउँदै विकास निर्माणका काममा सहभागी बन्न सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘सरकार विकास गर्न कम्मर कसेर लागेको छ, त्यसमा तपाईंहरु सकारात्मक सोच राखेर सारथी बन्नुहोस् ।
राजनीतिक विषयमा कुनै प्रतिक्रिय नजनाउनुभएका प्रधानमन्त्री ओलीले मदन भण्डारी राजमार्ग निर्माणले विकासको ढोका खोलेको बताउनुभयो । उहाँले स्थानीय स्तरमा उत्पादन हुने सुपारी, केरालगायतको बजारीकरणमा तीन तहका सरकार लाग्नुपर्ने बताउनुभयो ।
उक्त अवसरमा माई नगरपालिकाका नगरप्रमुख खम्बासिं लिम्बूले नगरको विकासका लागि विभिन्न मागसहितको ज्ञापन पत्र बुझाउनुभयो । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायतको सहभागिता थियो ।