• २९ असार २०८२, आइतबार

खडेरी हटाउन ‘जटजटिन’ नृत्य र इन्द्र पूजा

blog

मध्यरातणा जटजटिन नृत्य गर्दै महिलाहरु ।

विनय कर्ण  

कल्याणपुर (सप्तरी), असार २९ गते । विगत एक महिनादेखि अत्यधिक गर्मी बढिरहेको र वर्षा नहुँदा सप्तरीको कञ्चनरुप नगरपालिका १ बैरवाका महिलाहरूले जटजटिन धार्मिक सांस्कृतिक नृत्य तथा पुजा सुरु गरेका छन्।

वर्षाका लागि इन्द्रदेवतालाई प्रसन्न पार्ने उद्देश्यले उनीहरु मिथिला संस्कृति अनुसारको जटजटिन नाच सहित इन्द्र भगवानको पूजा सुरु गरेका हुन् ।

बैरवास्थित पञ्जियार टोलमा दुई दिनदेखि मध्यरातमा स्थानीय महिलाहरुको सहभागिता जटजटिन सांस्कृतिक नाच गरिएको धार्मिक सांस्कृतिक कार्यक्रम तथा पूजा समितिकी संयोजक उर्मिलादेवी पञ्जियारले जानकारी दिनुभयो ।

“मध्यरातमा जटजटिन नाच र पूजा गर्दा इन्द्रदेवता प्रसन्न भई वर्षा गराउँछन् भन्ने जनविश्वासका आधारमा हामीले यो विधि अपनाएका हौं,” संयोजक पञ्जियारले भन्नुभयो ।

मिथिला संस्कृति अनुसार खडेरीको बेला यहाँका महिलाहरु जटजटिन नृत्य गर्दा जलका देउता इन्द्र भगवान प्रसन्न हुने र पानी पर्ने जनविश्वास रहिआएको छ ।

अत्यधिक गर्मीका कारण बोटबिरुवा सुक्न थालेको र पानीका मुहानहररु सुक्दै गएकाले भगवान इन्द्रसँग पानी माग्दै जटजटिन नृत्य गर्ने पौराणिक परम्परा रहेको स्थानीय समाजसेवी अनिल पञ्जियारले बताउनुभयो ।

"अहिले खडेरी लागेर खेती प्रभावित भएको छ । यही कारण महिलाहरूले सामूहिक रूपमा वैदिक विधिअनुसार इन्द्रदेवताको पूजा गरेका हुन्," उहाँले भन्नुभयो ।

महिलाहरुको मात्र सहभागितामा गरिने 'जटजटिनको' गीत र नुत्य प्रस्तुत गर्नुका साथै इन्द्रदेवताको वैदिक मन्त्र पाठ र परम्परागत पूजा विधिहरु  गरिएको छ । असार महिनाको अन्तिमतिर पुग्दासमेत वर्षा नभएकोले खेतमा धान रोपाइँ हुन सकेको छैन ।

कृषि ज्ञान केन्द्र सप्तरीका अनुसार हालसम्म जिल्लाको मात्र १६ प्रतिशत खेतमा धान रोपाइँ हुन सकेको छ।