• २९ असार २०८२, आइतबार

कञ्चनपुरमा क्षतिपूर्तिको माग गर्दे पूर्वपश्चिम राजमार्ग अवरुद्ध

blog

झलारीमा मृतकको ब्यानर राखेर सडक अवरुद्ध । तस्बिर : भवानीदत्त भट्ट

भवानीदत्त भट्ट

कञ्चनपुर, असार २९ गते । कञ्चनपुरमा प्रहरी जवानमाथि कारबाहीसहित क्षतिपूर्तिको माग गर्दे स्थानीयहरूले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । शुक्रवार साँझ शुक्लाफाँटा नगरपालिका-१० का ३८ वर्षीय ललित जोशीको जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत घुमुवा प्रहरी जवान सवार मोटरसाइकलको ठक्करबाट ज्यान गएको थियो । 

स्थानीयहरूले पीडित परिवारलाई उचित क्षतिपूर्ति र प्रहरी जवानद्धय सिद्ध राज जोशी र अमर भट्टमाथि कडा कारबाहीको माग गर्दै आइतबार बिहानै देखि पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका हुन् ।

उनीहरूले शनिवारदेखि राजमार्ग अवरुद्ध गर्दै आएका छन् । आइतबार बिहान पनि सहमति जुट्न नसक्दा स्थानीयहरू टायर बालेर आन्दोलित बनेका छन्। प्रहरीले अवरुद्ध राजमार्ग खुलाउने प्रयास गरे पनि असफल रहेको जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु गन्तव्यमा पुग्न सकेका छैनन् । 

आइतबार बिहान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डम्बर बहादुर विश्वकर्मा सवार गाडी कहिबेर रोक्दै स्थानीयहरूले प्रहरी जवानद्धयमाथि कारबाहीको माग सहित उचित क्षतिपूर्तिको माग गरेका छन् । 

शुक्रवार बेदकोट नगरपालिका–१० त्रिपुरा मन्दिर नजिकै बा ६६ प ८७८७ नम्बरको मोटरसाइकले जोशी सवार लु.प्र ०३–००१ प २८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा जोशी गम्भीर घाइते हुनुभएको थियो । गम्भीर घाइते भएका जोशीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो ।

स्थानीयहरूले प्रहरीमाथि कारबाहीको माग गर्दे सडकमा ब्यानर गेट राखेर सडक अवरुद्ध गर्दै आएका छन् । मृतक जोशीका भाइ हेमराज जोशीले प्रहरी जवानद्धय माथि कारबाहीको माग राख्नुभयो । प्रहरीले घटनालाई सुरुवातदेखि नै मोड्ने प्रयास गरेकाले आफूहरु आन्दोलित बनेको स्थानीय पदम क्षेत्रीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, मृतकका श्रीमती लक्ष्मी ठगुन्नाले दिएको किटानी जाहेरीका आधारमा प्रहरी जवान सिद्ध राज जोशी र अमित भट्टलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले पक्राउ परेका जोशी र भट्टमाथि अदालतबाट म्याद थपगरि आवश्यक अनुसन्धान भइरहेको बताउनुभयो ।

मृतक जोशीको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । शवको पोष्टमार्टम हुन सकेको छैन् । जोशी डाबर नेपालको सुदूरपश्चिम प्रदेशमा बजार व्यवस्थापकका रूपमा कार्यरत थिए । उहाँको श्रीमती र दुई छोरा छन् ।