• २९ असार २०८२, आइतबार

मणिपालले सबै प्रकारका क्यान्सरको उपचार गर्ने

blog

गोरखापत्र समाचारदाता

पोखरा, असार २९ गते । कास्कीको पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालले अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य राखेर विस्तार अघि बढाएको छ । अस्पतालले नागरिकको जीवन रक्षा र सहरदेखि ग्रामीण क्षेत्रसम्म स्वास्थ्य सेवा विस्तारको लक्ष्य अनुसार नवीनतम र अत्याधुनिक सेवा प्रदान गर्ने कार्य तीव्र बनाएको हो । 

अस्पतालका निर्देशक डा. अभिषेक मास्केका अनुसार क्यान्सरको उपचारका लागि अत्याधुनिक तथा गुणस्तरीय सेवा प्रदान गर्ने गरी क्यान्सर उपचार विभागको सुरुवात गरिएको हो । उहाँले भन्नुभयो, “विशेष गरी गण्डकी प्रदेशका सबै जसो जिल्लाका क्यान्सरपीडित नागरिकलाई उपचार सेवा प्रदान गर्ने हाम्रो प्रयास हो । गण्डकी प्रदेशबासीले काठमाडौँ वा भारतको दिल्ली जान नपरोस् र खर्च बचत होस् भन्ने नै हाम्रो उद्देश्य हो ।”

डा. मास्केले क्यान्सर उपचारका लागि सुविधासम्पन्न विभाग सुरु गरिएको र विभागले अत्याधुनिक प्रविधिबाटै उपचार गर्ने बताउनुभयो । उहाँका अनुसार रेडियो थेरापी (विकिरण उपचार पद्धति), केमोथेरापी, हर्मोनथेरापी, टार्गेटेडथेरापी, इमुनोथेरापी, अन्को सर्जरी (क्यान्सरको शल्यक्रिया) सहित क्यान्सरका बिरामीलाई चाहिने सबै किसिमको उपचार हुने बताउनुभयो । डा. मास्केले भन्नुभयो, “क्यान्सरको उपचार यसअघि पनि गरिन्थ्यो तर अब स्तरोन्नति गरेर सम्पूर्ण सेवा विस्तार गरिएको छ ।”