• २९ असार २०८२, आइतबार

समाजमा सामन्ती सोच कायमै छ : मन्त्री लेखी

blog

स्थानीयको समस्या बुझ्दै मन्त्री राजकुमार लेखी । तस्विरः देवरामप्रसाद यादव

देवराम प्रसाद यादव

सप्तरी असार २९ गते । मधेस प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले सामन्ती अवशेष समाप्त नभएसम्म सामन्ती सोच, संस्कार समुदायमा अझै कायमै रहेको बताउनुभएको छ । 

जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ स्थित चाँदनी बजारमा शनिबार स्थानीयबासीसँग भेटघाट गर्दै उहाँले सो कुरा बताउनुभयो । सामन्ती सोंच, संस्कार परिवर्तन नभएसम्म व्यवस्था कार्यान्वयनमा चुनौती थपिएको बताउनुभयो । मन्त्री लेखीले आफूले परिवर्तन गर्न खोज्दा धेरैको टाउको दुःखाइ भएको टिप्पणी गर्नुभयो ।  

‘जनप्रतिनिधि, मन्त्री गाउँघरमा आउँदा ठुला–ठालु सामन्तीहरुको घरमा आउँदा उनीहरुलाई सूचना दिएर आउने विगतको सामन्ती परम्परामा परिवर्तन ल्याउने प्रयास गरेको बताउनुभयो । उहाँले सर्वसाधारणसँग सिधा सम्पर्क गरेर भेटघाट गरी गुनासो सुन्ने गरेको बताउनुहुँदै यो कुरा कतिलाई अपच भएको बताउनुभयो । 

मन्त्री लेखीले परिबर्तन नचाहनेहरुले घेराबन्दी गरे पनि समानता, समावेशी र समतामूलक समाज निर्माण वर्तमान शासन व्यवस्थाको मूल नीतिलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 

गाउँपालिकासहितको सरकारको योजनाहरु अपारदर्शी र गुणस्तरहीन भएको स्थानीयको गुनासोलाई हात्मसात गर्दै मन्त्री लेखीले बजेट सदुपयोग र गुणस्तरीय कार्यका लागि उपभोक्ता स्तरबाट खबरदारीको आवश्यकता रहेको बताउनुभयो । कुनै पनि योजनामा भ्रष्टाचार गर्ने जोकोहीलाई स्थानीयवासी मिलेर नाङ्गेझार गर्नुपर्ने मन्त्री लेखीले आम जनतालाई आह्वान गर्नुभयो । 

उहाँले दलित, महिला, मुश्लिम, मधेसी, थारु, आदिवासी जनजाति तथा अल्पसङ्ख्यक समुदायले राज्यको हरेक निकायमा समान प्रतिनिधित्व र अवसर पाए मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको महसुस आम जनताले गर्ने बताउनुभयो । 

स्थानीयको माग र आवश्यकतालाई प्राथमिकीकरण गरी प्रदेश सरकारले आव २०८२–८३ का लागि एउटै वडामा दर्जनौं योजनामा बजेट विनियोजन गरेको बताउनुहुँदै मन्त्री लेखीले स्थानीय स्तरको थप समस्या पहिचानका लागि सल्लाह सुझाव सङ्कलन गर्न भेटघाट कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो । उहाँले चालु आव २०८१–८२ मा सञ्चालित योजना कार्यान्वयन तथा पारदर्शिता र गुणस्तरीयताको विषयमा समेत जनधारणा लिएर सुधार गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।