• ६ साउन २०८१, आइतबार

खाद्य र दाना उद्योगको अनुगमन बजारभन्दा उद्योगमा समस्या

blog

मकवानपुर समाचारदाता

हेटौँडा, भदौ ३ गते । स्थानीय प्रशासनले हेटौँडा औद्योगिक क्षेत्रस्थित खाद्य तथा दाना उद्योगको अनुगमन गर्दा होटल र खाद्य पसलमा भन्दा बढी समस्या देखिएको छ। खाद्य पदार्थ उत्पादन गर्ने उद्योगले खाद्य अनुज्ञापत्र नवीकरण नगर्ने, उत्पादन स्थलमा सरसफाइ नगर्ने, म्याद गुज्रेका दाना बिक्री गर्नेलगायतका समस्या देखिएको हो।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्व र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडाको समन्वयमा औद्योगिक क्षेत्रभित्रका खाद्य तथा दाना उद्योगहरूको अनुगमन गर्दा उपभोक्ता संरक्षण ऐन र दाना पदार्थ ऐनविपरीत उत्पादन गरी बिक्री वितरण हुँदै आएको पाइएको छ। प्रशासनले उपभोक्ता संरक्षण ऐनविपरीत कार्य गर्ने मस्यौरा उद्योग बन्द गरी उत्पादन र बिक्रीमा रोक लगाएको छ। 

निजी उद्योगले मात्र होइन, सरकारी स्वामित्वको हेटौँडा दुग्ध वितरण आयोजनाले समेत सरसफाइ र उत्पादित वस्तुमा राखिने लेबलमा सचेतता नअपनाएको अनुगमनका क्रममा भेटिएको छ। अनुगमन टोलीले आयोजनाको व्यवस्थापनलाई आयोजना स्थलमा सरसफाइमा सुधार गर्न, संरचनाको मर्मत तथा रङ्गरोगन गर्न र लेबलिङमा सुधार गर्न निर्देशन दिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो।

उहाँले अनामिका खाद्य उद्योगले खाद्य अनुज्ञापत्र नवीकरण नगरेको पाइएपछि उद्योगको उत्पादन र बिक्री वितरणमा रोक लगाइएको बताउनुभयो। उद्योगले २०७६ साल असार मसान्तदेखि खाद्य अनुज्ञापत्र नवीकरण नगरेको पाइएको छ। उद्योग र अनुगमनमा संलग्न सरकारी कार्यालय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दुवै औद्योगिक क्षेत्रभित्रै रहे पनि खाद्य अनुज्ञापत्र नवीकरण लापरबाही गरेको देखिएको छ।

अनामिका खाद्य उद्योगको पूर्वाधार उपयुक्त नभएका कारण खाद्य पदार्थमा सङ्क्रमणको जोखिम देखिएको, सरसफाइमा कमी र एक पटक उत्पादित वस्तु पुनः उत्पादनमा प्रयोग गर्ने गरेको अनुगमनका क्रममा भेटिएको थियो। 

खाद्य अनुज्ञापत्र नवीकरण र टोलीले औँल्याएका कमजोरीको सुधार नगरेसम्म उद्योग बन्द गरी उत्पादन र बिक्रीमा रोक लगाएको सहायक  प्रजिअ गैह्रेले बताउनुभयो। 

यसैगरी दाना उत्पादन गर्दै आएको भ्याली पेलेट फिड प्रालिमा उपभोग्य अवधि सकिएको ५० केजी तौलको ४५ बोरा दाना फेला परेको छ। भ्याली ब्रान्डको एल–थ्री दाना एक लाख १४ हजार ७४० रुपियाँ मूल्य बराबरको रहेको छ। 

उद्योगमा ५० केजी दरका २६० बोरा भ्याली ब्रान्डको एल–थ्री दानामा उत्पादन र उपभोग्य मिति नखुलेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। उत्पादन र उपभोग्य मिति नखुलेको दाना नौ लाख २३ हजार रुपियाँ बराबरको रहेको छ। अनुगमन टोलीले उपभोग्य अवधि सकिएको दाना नष्ट गर्नुका साथै उत्पादन र उपभोग्य मिति नखुलेको दाना अर्को निर्णय नभएसम्मका लागि बिक्री वितरणमा रोक लगाइएको छ।

औद्योगिक क्षेत्रभित्र रहेको एन्टार्टिक बिस्कुट प्रालिमा सरसफाइमा कमी रहेकोले सरसफाइमा सुधार गर्न निर्देशन दिएको सहायक प्रजिअ गैह्रेले बताउनुभयो। अनुगमनमा सहभागी उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि वासु खतिवडाले अनुगमनका क्रममा बजार, खाद्य पसल, होटललगायतमा भन्दा उद्योगमा झनै समस्या देखिएको बताउनुभयो।