• ९ मंसिर २०८२, मङ्गलबार

मासु प्रशोधन कारखाना : मङ्सिरदेखि निर्माण सुरु

blog

काठमाडौँ, मङ्सिर ९ गते । सिन्धुलीको मरिण गाउँपालिकामा मङ्सिर अन्तिम सातादेखि मासुु प्रशोधन कारखानाको निर्माण सुरु हुने भएको छ ।  

नेपालबाट चीनमा प्रशोधित भैँसीको मासु निर्यात गर्ने उद्देश्यले कारखाना निर्माण गर्न लागिएको हो । हिमालयन फुड इन्टरनेसनल प्राइभेट लिमिटेडले डिजाइनको काम सकेर कारखाना निर्माणको चरणमा पुगेको जनाएको छ । 

२७ अर्ब ६४ करोड ८४ लाख ६० हजार लागतमा कारखाना निर्माण गर्न लागिएको कम्पनीले जनाएको छ । जसमध्ये २० 

अर्ब रुपियाँ कारखाना निर्माण र प्लान्ट स्थापना, सात अर्ब रुपियाँ पशुपालन, कामदार बस्ने आवास र घाँस खेतीमा खर्च हुने कम्पनीले जानकारी दिएको छ । 

कुल लगानीमध्ये २० अर्ब रुपियाँ चीनको छेङ्दु जियान फुड लिमिटेडबाट विदेशी लगानी भित्र्याउन लागिएको छ । उद्योग विभागले गत साउनमा वैदेशिक लगानी भित्र्याउन स्वीकृति प्रदान गरेको थियो ।

हिमालयन फुड इन्टरनेसनल प्राइभेट लिमिटेडका अध्यक्ष डा. नवीन शर्माले जग्गाको डिजाइन गर्ने काम सकिएकाले मङ्सिर अन्तिम सातादेखि फ्याक्ट्री निर्माणको काम सुरु गरिने जानकारी दिनुभयो । 

कारखाना निर्माणका लागि ५० करोड रुपियाँ विदेशी लगानी भित्रिसकेको र बाँकी आउने क्रममा रहेको उहाँले बताउनुभयो । “अहिले २० अर्ब रुपियाँ चीनबाट भित्र्याउने प्रक्रियामा छौँ, बाँकी रहेको सात अर्ब रुपियाँमध्ये केही प्रतिशत चिनियाँ साझेदारबाट थप र बाँकी नेपाली साझेदार कम्पनीले जुटाउने तयारी भएको छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार  खाना, आवासगृह, होल्डिङ सेन्टर, प्रशोधनगृह निर्माण गर्न आवश्यक पर्ने जग्गा व्यवस्थापन गर्ने प्रक्रियालाई अघि बढाइएको छ । 

कारखाना निर्माणपछि मासु सिन्धुलीबाट काठमाडौँ हुँदै केरुङ नाकामार्फत चीनमा निर्यात हुने छ । ५५ बिघा क्षेत्रफलमा निर्माण हुन लागेको कारखाना सञ्चालन हुँदा पाँच हजार १५६ जनाले रोजगारी पाउने विवरण उद्योग विभागलाई कम्पनीले उपलब्ध गराएको छ । कारखानाबाट दैनिक पाँच हजार वटा राँगा तथा भैँसीबाट पाँच सय मेट्रिक टनका मासु निर्यात गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार अनुसार वार्षिक दुई लाख मेट्रिक टन प्रोसेस्ड बफेलो मिट र ५५ हजार मेट्रिक टन सहउत्पादन (हाड, छाला, टाउको, विभिन्न प्रकारका आन्तरिक अङ्गलगायत) गर्ने लक्ष्य राखिएको छ । 

किसानलाई व्यावसायिक र रोगमुक्त भैँसीपालनमा आकर्षित गर्न देशभर भैँसीपालक समूह गठन गरिएको छ । यस्तै बर्दियाको गुलरियामा घाँस उत्पादन गर्ने प्रक्रियासमेत सुरु भइसकेको कम्पनीले जनाएको छ ।

साउनमा चिनियाँ साझेदारीमा सिन्धुलीमा निर्माण हुने गरी भैँसीको मासु प्रशोधन उद्योग (प्रोसेस्ड कुक्ड बफेलो मिट फ्याक्ट्री) का लागि २० अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) पनि स्वीकृत भइसकेको छ । 

कारखाना निर्माण दुई सिफ्टमा गरेर आठ महिनाभित्रमा सक्ने योजना छ । असोजमा ढुङ्गा गिट्टी, बालुवा निकाल्न नपाएकाले निर्माणको काम ढिलाइ भएको कम्पनीले जनाएको छ । कम्पनीले एक वर्षभित्रमा मासु निर्यात गर्ने लक्ष्य राखेको छ ।