• ९ मंसिर २०८२, मङ्गलबार

घरबाटै नक्सा हेर्न पाइने

blog

नापी कार्यालय सल्यानको प्रशासनिक कार्यालय । तस्बिर : शङ्कर केसी

शारदा समाचारदाता

शारदा (सल्यान), मङ्सिर ९ गते । जग्गासम्बन्धी कामलाई छिटोछरितो, पारदर्शी र सुरक्षित बनाउन सल्यानमा अनलाइन प्रणाली औपचारिक रूपले कार्यान्वयनमा ल्याइएको छ । अब यहाँका जग्गाधनीले घरमै बसेर मोबाइल वा कम्प्युटरबाट ‘मेरो कित्ता’ अनलाइन प्रणालीमार्फत आफ्नो कित्ताको नक्सा, प्लट रजिस्टर, फिल्डबुक प्रिन्ट गर्न र फिल्ड रेखाङ्कनको निवेदन पनि अनलाइन पेस गर्न सक्ने व्यवस्था गरिएको नापी कार्यालय सल्यानले जनाएको छ । 

कार्यालय प्रमुख इन्जिनियर सुरज विष्टले भन्नुभयो, “सल्यानमा पनि नापी कार्यालयबाट नेपाल ल्यान्ड इन्फरमेसन सिस्टम र ‘मेरो कित्ता’ अनलाइन सुरु भइसकेको छ । अबदेखि इन्टरनेटबाटै घरजग्गाको नक्सा हेर्न र आफैँ प्रिन्ट गर्न मिल्ने छ ।” कित्ताकाट, नक्सा प्रिन्ट, नक्सा सुधार, कित्ता एकीकरणलगायतका सेवा केन्द्रीय सर्भरमा रहेको डाटाबेसमार्फत प्रदान हुने कार्यालयले जनाएको छ । जग्गाधनीको नक्सा, प्लट रजिस्टर, फिल्डबुक जस्ता महत्वपूर्ण अभिलेख केन्द्रीय सर्भरमा सुरक्षित रूपमा भण्डारण हुने भएकाले डाटा हराउने जोखिम कम हुने अपेक्षा गरिएको छ । 

कार्यालय प्रमुख इन्जिनियर विष्टका अनुसार कर्मचारीका लागि प्रयोगकर्ता र सेक्सन अनुसार जिम्मेवारी प्रदान गरिएको छ । उहाँले भन्नुभयो, “सेवाग्राहीले अब डिजिटल डिस्प्लेमा आफ्नो काम कुन फाँटमा कुन कर्मचारीबाट भइराखेको छ र कामको प्रगति के भइराखेको छ भन्ने कुरासमेत हेर्न मिल्ने हुँदा यसले अनुमानयोग्य सेवा प्रवाह गर्न मद्दत गर्ने छ ।” ‘मेरो कित्ताको’ अनलाइन व्यवस्था कार्यान्वयनमा आएपछि आफ्नो घरजग्गाको नक्सा प्रिन्ट गर्न र त्यसबापतको शुल्क बुझाउन कार्यालय धाइरहनु नपर्ने कार्यालयले जनाएको छ । यो सेवाका लागि ‘मेरो कित्ता डट डिओएस डट जिओभी डट एनपी’ लगइन गरेर आवश्यक कागजात अपलोड गरेपछि निवेदन स्वीकृत भएलगत्तै नक्सा डाउनलोड वा प्रिन्ट गर्न सकिने सुविधा रहेको बताइएको छ ।

यी दुई प्रणालीले जग्गा प्रशासनलाई पूर्ण डिजिटलाइज्ड बनाएको र सेवाग्राहीले कार्यालय धाउनुपर्ने झन्झट धेरै हदसम्म कम हुने एवं डाटा पनि सुरक्षित रहने विश्वास गरिएको छ । जग्गा प्रशासनलाई सुदृढ बनाई एकीकृत सेवा प्रवाह गर्ने उद्देश्यले नापी विभागले अनलाइन प्रणाली विकास गरेको हो ।