• ९ मंसिर २०८२, मङ्गलबार

घरमै गाडेको अवस्थामा शव भेटियो

blog

खाल्डोबाट प्रहरीले निकालेको तरीमा खातुनको शव । तस्बिर सौजन्य: जिल्ला प्रहरी कार्यालय रौतहट

प्रवीण कुमार शर्मा 

रौतहट, मङ्सिर ९ गते । रौतहटको वृन्दावन नगरपालिका–९, भुसाहामा एक महिलाको शव फेला परेको छ ।  वृन्दावन–९, भुसाहाका  शेख आदिलकी २५ वर्षीया श्रीमती तरीमा खातुनलाई सोमबार राति  हत्या गरेर आफ्नै घरको भुस राख्ने स्थानमा खाडल खनी गाडेको अवस्थामा प्रहरीले फेला पारेको छ । 

मङ्गलबार बिहान घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थल पुग्दा खातुनको शव पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले  जनाएको छ । 

प्रहरीका अनुसार खातुनको दाहिने खुट्टामा गहिरो चोट लागेको र टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अनुमान गरिएको छ । घटनास्थलबाट प्रहरीले एक चक्कु समेत बरामद गरेको  छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृतकका श्रीमान् शेख आदिल वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा हुनुहुन्छ । 

घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका सबै सदस्य खातुनकी डेढ वर्षीय छोरा मोहम्मद आरिफलाई  लिएर फरार  रहेको प्रहरीले जनाएको छ ।

खातुनको शव पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ । फरार परिवारजनको खोजी तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।