• ९ मंसिर २०८२, मङ्गलबार

विवाहपञ्चमी महोत्सव : स्वयंवर सम्पन्न, राति वैवाहिक कार्यक्रम

blog

विवाह पञ्चमीको अवसरमा जनकपुरधामको जानकी मन्दिरमा ओर्लेको जनसागर। तस्बिर : धर्वेन्द्र झा

धर्बेन्द्र झा  

जनकपुरधाम, मङ्सिर ९ गते। जनकपुरधाममा सात दिवसिय सिता राम विवाहपञ्चमी महोत्सव उल्लासका साथ मनाइदै छ। महोत्सवको छैठौं दिन मंगलबार दिउँसो  जनकपुरधामको रंग भूमि मैदानमा भगवान राम सिताको स्वयंवर कार्यक्रम सम्पन्न भएको छ। 

जनकपुरधामको राम मन्दिरबाट बाजागाजासहित निस्केको भगवान रामको डोला र जानकी मन्दिरबाट बाजागाजासहित निस्केको माता जानकीको डोला रंगभूमि मैदान पुगेपछि स्वयंवर गरिएको हो। 

भगवान रामको डोलालाई माता जानकीको डोलाले तीन पटक परिक्रम गरेपछि पुजारीले डोलामा रहेका भगवान रामको गालामा मला लगाइ दिएर माला फेर गरिएको थियो। उक्त कार्यमा साधुसन्तले सहयोग गरेका थिए। स्वयंवर कार्यक्रम भैरहदा नेपाली सेनाको हेलिकप्टरबाट जानकी मन्दिरको तीन पटक परिक्रमा गरेर पुष्प वर्षा गरिएको थियो। 

स्वयंवर कार्यक्रम सकिएपछि आजै साँझ सात बजेबाट जानकी मन्दिरमा हिन्दु वैदिक परम्परा अनुसार वैवाहिक कार्यक्रमको आयोजना गरिने जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले जानकारी दिनुभयो। 


जनकपुरधाम उपमहानगरपालिका र जानकी मन्दिरले विवाह पञ्चमीको दिन राति जनकपुरधाम नगर क्षेत्रमा दिपावली मनाउनका लागि नगरवासीलाई अह्वान गरेको नगर प्रमुख मनोजकुमार साहले जानकारी दिनुभयो। यता धनुषाका प्रमुख जिल्ला अधिकारी  प्रेमप्रसाद लुइटेलले विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गरी नगर क्षेत्रमा मासु र मदिरमा बिक्री वितरणमा रोक लगाएको जानकारी दिनुभयो। मधेश प्रदेश सरकारले विवाह पञ्चमी पर्व मनाउनका लागि आज सार्वजनिक बिदा दिएको छ।