• ९ मंसिर २०८२, मङ्गलबार

एसिसी यु–१९ प्रिमियर कप : नेपालको विजयी सुरुवात

blog

काठमाडौँ, मङ्सिर ९ गते । नेपालले युएईमा जारी एसिसी यु–१९ प्रिमियर कपमा विजयी सुरुवात छ । अजमानस्थित करवान ग्रुप मैदानमा मङ्गलबार भएको खेलमा नेपालले साउदी अरबियालाई आठ विकेटले हरायो । 

जितका लागि दुई सय १९ रनको लक्ष्य पछ्याएको नेपालले ३०.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । नेपालका लागि निरजकुमार यादवले सतकीय पासिल खेल्नुभयो । उहाँले ९० बलमा १३ चौका र एक छक्कासहित एक सय १४ रन बनाउनुभयो । यस्तै निश्चल क्षेत्रीले ६६ र वंश क्षेत्रीले ३० रन बनाउनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको साउदी अरबियाले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय १८ रन बनाएको थियो । साउदीका लागि मोहम्मद जुबेर सुनसाराले सर्वाधिक ४८ रन बनाउनुभयो । यस्तै मोहम्मद रेहान सिद्दीकीले ४१ र ओमै अहमद वहाबले ३९ रन बनाउनुभयो । 

बलिङमा नेपालका अशोक धामीले दुई विकेट लिनुभयो । यस्तै दर्श सोनार, सिब्रिन श्रेष्ठ, सुशीलबहादुर रावल र दयानन्द मण्डलले एक एक विकेट लिनुभयो । नेपालले दोस्रो खेल बिहीबार हङकङसँग खेल्नेछ।