• ६ साउन २०८१, आइतबार

एक वर्षमा एमसीए परियोजना कार्यान्वयन हुने

blog

काठमाडौँ, भदौ ३ गते । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले कार्यान्वयन गर्ने अमेरिकी अनुदान सहायताका दुई परियोजना एक वर्षपछि कार्यान्वयनमा ल्याइने भएको छ ।  आयोजना कार्यान्वयनका लागि एमसीसी सम्झौताको संसदीय अनुमोदन समयमा हुन नसक्दा कार्यक्रम कार्यान्वयन सुरु गर्ने अवधि पूर्वनिर्धारितभन्दा तीन वर्षपछाडि सारिएको छ ।

एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टका अनुसार आगामी सेप्टेम्बरदेखि प्रसारण लाइन र सडक स्तरोन्नति सुरु हुनेछ ।  बिहीबार पत्रकार सम्मेलनमा उहाँले हाल पूर्वतयारीका काम तीव्र गतिमा भइरहेको र एक वर्षभित्र जग्गा अधिग्रहण, प्रसारण लाइन रेखाङ्कन पुनः अध्ययन, रुख कटान तथा ठेक्का प्रक्रियाका काम सम्पन्न भइसक्ने छन् । उहाँले भन्नुभयो, “अहिले हामी पूर्वतयारीकै चरणमा छौँ । पुनर्बास कार्ययोजना, प्रसारण लाइन रेखाङ्कनका क्रममा आएका गुनासा सम्बोधन जग्गा अधिग्रहण, निर्माण तथा परामर्श ठेक्काको तयारी र रुख कटानको अनुमति लिने काम गरिरहेका छौँ ।” यसअनुसार आयोजना अब सन् २०२८ को सेप्टेम्बरसम्म निर्माण सम्पन्न भइसक्नुपर्नेछ । 

एमसीए नेपालले यसअघि सन् २०२०को जुनदेखि कार्यान्वयनको चरणमा लैजाने तयारी थियो तर सम्झौता अनुमोदन नै नभएपछि एमसीसी सहायता नै संशयमा परेको थियो । गत फागुनमा सम्झौता अनुमोदन भएपछि एमसीए नेपालले आफ्ना गतिविधिलाई तीव्रता दिएको हो । 

पूर्वतयारी कार्यका लागि करिब १० अर्ब रुपियाँ खर्च गर्ने निर्धारित पुँजीमध्ये हालसम्म चार अर्ब ७७ करोड रुपियाँ खर्च भइसकेको छ ।

काठमाडौँको लप्सीफेदीदेखि नुवाकोटको रातामाटे, हेटौँडा रातमाटेदेखि दमौली र दमौलीदेखि बुटवलसम्म चार सय केभी डबल सर्किट जम्मा ३१५ किलोमिटर प्रसारण लाइन र पाँचवटा सबस्टेसन बन्नेछन् । त्यस्तै सडक मर्मत आयोजनाअन्तर्गत दाङको धानखोलादेखि पश्चिम शिवखोलासम्म ७७ किलोमिटर पूर्व–पश्चिम राजमार्ग ७७ किलोमिटर स्तरोन्नति गरिँदै छ । यी दुई परियोजना कार्यान्वयनका लागि अमेरिकी सरकारको मिलेनियम च्यालेन्स कर्पोरेसनलाई ५० करोड डलर अनुदान उपलब्ध गराउने र नेपाल सरकारले पनि १३ करोड डलर थप लगानी गर्ने गरी सन् २०१७ मा यससम्बन्धी सम्झौता भएको थियो ।