केदार तिमल्सिना
बनेपा, चैत २४ गते । गृहमन्त्री सुधन गुरुङले पुन निर्माण भैरहेको विपी राजमार्गको निरीक्षण गर्नुभएको छ । मङ्गलबार काभ्रेपलाचोक आउनु भएका गृहमन्त्री गुरुङले गत वर्ष असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त विपी राजमार्गको भकुण्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडकको निरीक्षण गर्नुभएको हो ।
राजमार्ग निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले आगामी वर्षाअघि नै राजमार्गको जोखिमपूर्ण स्थानहरुमा पुननिर्माणको काम सक्न निर्देशन दिनुभएको हो ।
उहाँले वर्षाअघि जोखिमपूर्ण स्थानको काम नसकिएको खण्डमा नागरिकले दुःख पाउने भएकोले वर्षाअघि नै त्यस्ता स्थानहरुको काम सक्न निर्देशन दिनुभएको हो । उहाँले विपद्को समयमा नागरिकको कसरी उद्धार गर्न सकिन्छ भन्नेतर्फ सरकारको ध्यान गएको र त्यसका लागि सरकारले तयारी समेत अघि बढाएको बताउनुभयो ।
निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले राजमार्ग पुननिर्माणको कामलाई गति दिनका लागि कामदारको सङ्ख्या बढाउन, उपकरणहरु थप्न, तथा राजमार्ग निर्माणमा खटिएका कामदारहरुको सुरक्षाको लागि सुरक्षा सर्तकर्ता अपनाउन समेत निर्देशन दिनुभयो ।
विपी राजमार्ग निरीक्षणका क्रममा सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले गत वर्षको बाढीबाट क्षति भएको विपी राजमार्ग पुननिर्माणको काम चार खण्डमा भैरहेको बताउनुभयो।
उहाँले तीन चरणको काम सुरु भएपनि जाइकाले पुननिर्माण गर्ने खण्डको काम भने सुरु हुन नसकेको बताउनुभयो । उहाँले हाल राजमार्गका पिप्लेदेखि डालाबेशीसम्मको २।३ किलोमिटर सडक, डालाबेशीदेखि चार सयबेशीसम्मको ८.५ किलोमिटर र चार सयबेशीदेखि भकुण्डेबेशीसम्मको ११ किलोमिटर सडक पुननिर्माण भईरहेको बताउनुभयो ।
उहाँले हालसम्म पिप्लेदेखि डालाबेशीसम्ममा २२ प्रतिशत, डालाबेशीदेखि चार सयबेशीसम्म ३० प्रतिशत र चारसय बेशीदेखि भकुण्डेबेशीसम्मको खण्डमा २८प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । उहाँले हाल बाटो दुई लेन चौडा गर्ने, टेवा पर्खाल, आरसिसि पर्खाल, ढुङ्गाको पर्खाल, ग्याविन पर्खाल, पल्म्प वाल लगाउने काम भैरहेको बताउनुभयो । उहाँले वर्षाअघि साविकको सडक भएको स्थानबाट सवारी आवागमन गराउने गरी काम भैरहेको बताउनुभयो ।
राजमार्ग निरीक्षणमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, सडक विभागका महानिर्देशक डा. विजय जैसी, सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका सुपरिटेण्डेन्ट इन्जिनियर (सुई) शुभराज न्यौपानेसहितको टोलील काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलगायतको उपस्थिती रहेको थियो ।