• ७ पुस २०८१, आइतबार

पुल बन्ने भएपछि दुई देशका नागरिक खुसी

blog

ललिता साह 

बोदेबर्साइन (सप्तरी), भदौ ३ गते । सप्तरीको मुख्य भारतीय नाका राजविराज भन्सार र सीमापारिको बजार कुनौली जोड्ने दसगजा क्षेत्रमा पक्की पुल बन्ने भएपछि दुई देशका नागरिक खुसी भएका छन्। सीमा क्षेत्रमा हजारौँ नागरिकको विगतका कष्टपूर्ण दिनचर्या सम्झेरै दुःख लाग्ने गरेको तिलाठी कोइलाडी–१ का युवा पङ्कजले बताउनुहुन्छ। सीमा क्षेत्रमा बसोबास गर्दै आएका दुई देशका नागरिकको आवश्यकतालाई बुझेर दुवै सरकारको पहलमा पक्की पुल निर्माणको खबरले नागरिकमा खुसीयाली छाएको उहाँले बताउनुभयो।

पुल बनेपछि व्यापार र जीवन सहज हुने कुनौलीमा व्यापार चलाउँदै आएकी कुनौलीकी सीमा साहले सुनाउनुभयो। सीमामा दुईदेखि तीन किलोमिटरसम्म जताततै दुई देशको मानिस आवतजावत गर्न सक्ने दसगजाको अव्यवस्थित बाटोका कारण तस्करीलगायत सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि दिनानुदिन बढ्दै गएको छ। तर यो पुल निर्माणले यस्ता कुरामा नियन्त्रण हुने र व्यावसायिक रूपमा दुवै देशले लाभ उठाउन सक्ने सप्तरी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अरुण प्रधानको बुझाइ छ। 

सप्तरी र भारतको विहार राज्यको लाखौँ जनताको आवतजावत रहेको दसगाजा क्षेत्रमा खाँडो खोलाले बेलाबखत दुई देशको सीमा नजिकका नागरिकबीच विभिन्न प्रकारका विवादसमेत उत्पन्न गराउँदै आएको र पुल निर्माणले यो समस्या समाधानमा सहयोग पुग्ने तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले बताउनुभयो। 

भारत सरकारद्वारा स्वीकृत डीपीआरअनुसार दसगजा क्षेत्रमा बन्न लागेको पक्की पुलले दुई देशको नागरिक स्तरको सम्बन्धलाई थप सुदृढ पार्ने तथा हामी तथा हाम्रा बजारलगायत भारतका बजारहरूको विकासमा मदत पुग्ने सीमा पारीको कुनौली बजार व्यापार परिसङ्घका अध्यक्ष राधेश्यामप्रसाद गुप्ताको भनाइ छ। सदियौँदेखि आवतजावत रहेको र तीन वर्षअघि भएको बाँसको चचरी पुल पनि भत्कँदा दुवै देशका नागरिकको आवतजावतमा कठिनाइ र भन्सार असुलीमा समेत गिरावट आएको छ। यो पक्की पुलले दुवै देशको सरकारलाई कूटनीतिज्ञ तथा व्यावसायिक फाइदा हुने सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भन्नुभयो।

सप्तरीको व्यावसायिक विकास, सरकारको लक्ष्यअनुसारको यथोचित भन्सार असुली तथा सुरक्षा संयन्त्रको हिसाबले पनि दसगजामा बन्न लागेको यो पक्की पुल समयमै निर्माण होस् भन्ने हाम्रो चाहना रहेको उद्योग वाणिज्य सङ्घ सप्तरीका अध्यक्ष लालुप्रसाद अग्रवालले बताउनुभयो। 

सप्तरीस्थित खाँडो नदी व्यवस्थापन आयोजनाअन्तर्गत खाँडो नदीको तटबन्ध सबलीकरणका लागि भारत सरकारले झन्डै तीन अर्ब ७९ करोडको स्वीकृत डीपीआरभित्रै यो पुल बन्ने योजना समावेश छ। डीपीआरभित्र  स्वीकृत रकमको एक प्रतिशत मात्रैको लागतमा सो पुल निर्माण सम्पन्न हुने प्राविधिक अध्ययन गरिएको सप्तरीस्थित खाँडो नियन्त्रण व्यवस्थापन कार्यालयका इन्जिनियर जेपी साहले जानकारी दिनुभएको छ।

गत असार २२ गते विहारको पटनास्थित भारत सरकारको जल संसाधन विभागमा नेपाल र भारतका अधिकारीबीच आयोजित बैठकबाट भारत पक्षद्वारा उक्त डीपीआर स्वीकृत गरिएको खाँडो नदी व्यवस्थापन आयोजना कार्यालय सप्तरीका प्रमुख एकराज भट्टराईले बताउनुभयो।