• १० मंसिर २०८१, सोमबार

श्रीकृष्णका विविध रूप

blog

कृष्णका रूप, गुण र व्यवहार आफैँमा बहुआयामिक छन् र विश्वले पनि त्यही नजरले हेर्ने गर्छ उनलाई। समकालीन दुर्योधन उनलाई मायावी सम्झन्छन्, शकुनि उनलाई छलछाम गर्ने व्यक्ति सम्झन्छन्। शिशुपाल त उनलाई १०१ गाली नै दिन्छन्। यस्ता नकारात्मक आयामबाट हेर्नेहरू पनि छन् 

असङ्ख्य। समकालीन राजा र युवराजहरू पनि छन् धेरै। द्रौपदी, विदुर, अर्जुन, युधिष्ठिर, अक्रुरहरू धेरै छन्; जो उनलाई सकारात्मक आयामबाट हेर्छन्। सुदामा अर्कै दृष्टि राख्छन् उनीप्रति। कोसेलीका रूपमा लिएर गएको कनिका दिन पनि लाज मान्छन् उनी। स्वयं कृष्ण खोसेर लिन्छन् र उनकै अघि खाएर सम्मान व्यक्त गर्छन् उनको। पहिलो पटक वृन्दावनबाट मथुरा आइरहँदा किशोर वयका कृष्णमा मथुरावासीहरू पनि अनेक रूपमा देख्छन् उनलाई। युवतीहरू साक्षात् कामदेवका रूपमा। बूढाबूढी ईश्वरका रूपमा। बालबालिका समवयी मित्रका रूपमा। कंसका अनुयायी शत्रुका रूपमा। 

आधुनिक युगमा समेत भिन्न पन्थ र सोच भएका मान्छेहरू अलग अलग रूपमा हेर्ने गर्छन् उनलाई। उनीभित्र जुन जुन रूप र गुण देखिए पनि मूलतः उनी ज्ञान, भक्ति र कर्मयोगका उन्नायक मानिन्छन्। उनैको जन्मोत्सव पर्छ भाद्र शुक्लाष्टमी तिथिमा। उनी मानिन्छन् भगवान् नारायणका दस अवतारमध्येका आठौँ अवतार। देवकी र वसुदेवका आठौँ पुत्ररत्नका रूपमा मथुरास्थित कारागारमा जन्म लिएका थिए उनले। 

वेदव्यासकृत श्रीमद्भागवतअनुसार सत्ययुगमा सनत, सनन्दन, सनातन र सनतकुमार भगवान् विष्णुको दर्शन गर्न वैकुण्ठ पुगे। उनीहरूलाई द्वारपालका रूपमा रहेका जय र विजयले भगवान्सँग भेट गर्न दिएनन्। पटक पटक अनुरोध गरे पनि त्यसको अवज्ञा गरे उनीहरूले। त्यसपछि क्रुद्ध भएका सनतकुमारहरूले दुवै द्वारपाललाई तीन जन्मसम्म विभिन्न योनिमा जन्म लिनुपर्ने र भगवान् विष्णुसँगै वैरभाव राख्नाले उनकै हातबाट मृत्यु हुनुपर्ने श्राप दिए। यो घटना हुनासाथ भगवान् विष्णु त्यहीँ आइपुगे र कुमारहरूसँग क्षमा याचना गरे। सँगै आफ्ना पाश्र्ववर्ती जय र विजयलाई तीनवटै जन्ममा आफूले अवतार लिई श्रापमोचन गरिदिने वचन दिए। वचनअनुरूप नै कंसको वध गरे। असत्यको मार्गमा हिँडिरहेका शासकलाई मिलेसम्म सत्मार्गमा हिँड्न प्रेरित गर्ने र अस्वीकार गरेमा संहार गरी मार्ग प्रशस्त गर्ने कार्य गरे। 

अष्टावक्रलाई निरोगी तुल्याए। अर्जुनको सारथि बन्न स्वीकार गरी कुरुक्षेत्र पुगे। महायुद्धमा शत्रुपक्षबाट युद्ध गर्न आतुर रहेका आफन्तजनलाई देखेर युद्ध विमुख हुन खोजिरहेका अर्जुनलाई गीताको ज्ञान दिई युद्ध गर्नका निम्ति क्रियाशील गराए। त्यस महाभीषण युद्धमा सहभागी भई धर्मपालक पाण्डुहरूको साथ दिए र उनीहरूलाई जिताए। यद्यपि महायुद्धमा कर्ण, द्रोणाचार्यहरूको मृत्यु हुनुमा उनलाई दोषी सम्झनेहरू पनि छन्। कतिपयले कर्ण, द्रोणाचार्यहरूले असत्यको पक्षपोषण गरेको हुँदा उनीहरू दण्डनीय रहेकाले नै कृष्णले उनीहरूको संहार गर्न उत्प्रेरित गर्नु उपयुक्त रहेको ठान्छन्। यस्ता दण्डनीय व्यक्तिहरूप्रति कठोर दण्ड चलाए उनले। 

कर्षति इति कृष्ण अर्थात् जसले आफूतिर खिच्छ। अर्थात् मनको आसनमा विराजमान चेतनत्व। जसले प्रभावित तुल्याउँछ सारा इन्द्रीय, सुषुम्ना नाडी र गतिहरूलाई। इन्द्रीय, नाडी, सुषुम्ना र संवेदनत्वलाई कथामा गोपगोपिनी र भौमासुरबाट कैद गरिएका हजारौँ युवतीका रूपमा प्रतिविम्बित गरिएको देखिन्छ यसमा। कथाका पात्ररूप दिइएका रूपक हुन् ती अर्थात् मानवीय विम्बहरू। ती सदैव वशमा रहेका हुन्छन् कृष्णत्व अर्थात् चेतनत्वको प्राधिकारमा। यसर्थ त्यो कथन हो देहात्मा र इन्द्रियादिलाई नियन्त्रण गर्ने मन। जुन हरेक मानिसमा रहन्छ। त्यसलाई कृष्णरूपी चेतनत्वले नियन्त्रण गर्नुपर्छ तब मात्र सार्थक हुन्छ जीवन। 

उनका बाल, किशोर, युवा र वयस्कावस्थामा गरिएका लीलालाई आधार बनाएर धेरै सम्प्रदाय विकसित भएका पाइन्छन् सदैव। प्रणामी धर्म सम्प्रदायका अनुयायीहरूले उनलाई आराध्य सम्झन्छन् र उनका बाललीलामा निमग्न हुन्छन् पनि। वैष्णवका चार सम्प्रदायमध्ये निम्बार्कका अनुयायीले पनि उनलाई आराध्य ठान्दछन्। सनातन धर्मावलम्बीले पनि विशेष भक्तिभावका साथ उपवास बस्छन् र पूजा अर्चना गर्छन्। बल्लभाचार्यहरू पनि कृष्णप्रति विशेष अनुरक्त छन्। उनका नामोच्चारण गरी अभिवादन गर्नेहरूको ठूलै लर्को छ भक्तहरूमा। जय श्रीराधेकृष्ण, राधेश्याम, जय श्रीकृष्ण आदि। नेपालमा पनि उनका असङ्ख्य भक्तगण छन् र उनका नाउँमा असङ्ख्य मठमन्दिर छन्। काठमाडौँ उपत्यकामा पनि पाटनस्थित कृष्ण मन्दिर विशेष प्रसिद्ध छ। 

जन्माष्टमीका दिन उपवास बस्ने र रातिको १२ बजेपछि कृष्णको जन्मोत्सव मनाएर कतिपयले व्रतोद्यापन गर्ने गर्छन्। प्रायःले बिहान रथयात्रा सम्पन्न गर्ने चलन छ। कतिपय मन्दिरमा रातभरि भजन कीर्तन गर्ने चलन पनि छ। कतिपय मठमन्दिरमा राति रामझुलाझैँ कृष्णझुला उत्सव गर्ने परम्परा पनि छ।

श्रीमद्भागवत, महाभारतादि पूर्वीय वाङ्मयअनुसार भगवान् विष्णुका दस अवतारमध्ये आठौँ अवतार हुन् श्रीकृष्ण। उनको उमेर समूहलाई लिएर विभिन्न सम्प्रदाय खडा भएका छन्। उनका विचार र चिन्तनलाई लिएर पनि विभिन्न वाद र सम्प्रदाय जन्मिएका छन्। उनका समग्र आचरण, राजनीति, कूटनीति आदि सन्दर्भलाई लिएर पनि धेरै सिद्धान्त जन्मिएका छन्। 

खासगरी गोपिनीको चीरहरण, रासलीला, राधासँगको प्रेम, राधा र कृष्णको विवाह नहुनुका कारण, सोह्र हजार एक सय आठ नारी विवाह गर्नुपरेको प्रसङ्ग नै आलोचनाका विषय बन्ने गरेका छन् अहिले पनि। पौराणिकता, त्यसका मर्म र कालाचारमाथि नै विचार नगरी गरिने आलोचनालाई न्यायोचित मान्न सकिन्न। कृष्णलाई हेर्ने र सम्झने दृष्टिकोण अनेक थरी छन्। जसले जुन रूपमा हेरे पनि उनले प्रदान गरेको ज्ञानयोग, भक्तियोग र कर्मयोग मानव जीवनका निम्ति अमोघ प्राप्ति बनेर रहेको छ।

हिजोको सोच, व्यवहार र निर्माणहरू तत्कालीन साधन, स्रोत, समय, परिस्थिति जनसङ्ख्या आदिजन्य रहेकाले त्यो त्यस समयका निम्ति औचित्ययुक्त थियो। अहिले त्यो उपयुक्त र पर्याप्त हुन सकेन। आजका निम्ति बनेका सारा नीति, परिणति, साधन, स्रोत र निर्माण भोलिका निम्ति उपयुक्त लाग्दैनन्। यसर्थ हरेक घटना, गतिविधि र सामाजिक मान्यताको निक्र्योल तत्कालीन कालखण्डमा नै उभिएर गर्नु सान्दर्भिक हुन्छ।

मूलतः श्रीमद्भागवत गीतामा उनका विचार र चिन्तन मुखरित छन्। उनले दिएको सांख्य दर्शनको ज्ञान उपयोगी छ। जीव, आत्मा, परमात्मा, कर्म, ज्ञान, उपासना, भक्ति, उन्नति र मानव सभ्यताको विकासमा पु-याएको योगदान पनि उत्तिकै स्तुत्य छ। कर्म गर्न तर फलप्रति बढी आशक्ति नदेखाउन भनी दिएको सल्लाह मानव जीवनका निम्ति सदैव अनुकरणीय मानिन्छ।