• २५ जेठ २०८२, आइतबार

त्रिविको प्राध्यापक र सहप्राध्यापकको विज्ञापन विवादित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २४ गते । त्रिभुवन विश्वविद्यालयले करिब चार वर्षपछि प्राध्यापक तथा सह प्राध्यापकमा बढुवाको आह्वान गरेको बिषय पनि विवादित बनेको छ । 

कुनै सङ्कायका लागि आवश्यकता नै नभएपनि प्राध्यापक तथा सह प्राध्यापक बढुवाको लागि आवेदन आहवन गरेको तथा कुनै सङ्कायमा भने प्रशस्तै विद्यार्थी हुँदा पनि बढुवाको लागि आह्वान नगरिएको प्राध्यापकहरुले आरोप लगाएका छन् ।

विश्वविद्यालयका पदाधिकारीहरुको व्यक्तिगत स्वार्थबाट प्रेरित भएर विज्ञापन आह्वान गरेको आरोप लगाउँदै प्राध्यापकहरुले हाल आह्वान गरिएको विज्ञापन तत्काल सच्याएर अर्को आवेदन आहवान गर्न चेतावनी दिएका छन् । 

विश्वविद्यालयमा क्रियासिल प्राध्यापकहरुको ६ वटा सङ्गठनले हाल आह्वान गरेको आवेदनप्रति असन्तुष्टि जनाएका छन् । हाल आवेदन आह्वान गरिए अनुसार नै प्राध्यापक तथा सह प्राध्यापक बढुवाको अन्तिम सिफारिस भएमा शैक्षिक क्षेत्रको विकासमा प्रतिकूल असर पार्ने प्राध्यापकहरुको भनाई छ । 

“वर्तमानमा व्यवस्था रहेको दरबन्दीको पिरामिडलाई बेवास्ता गरिएको छ । कुनै विषयमा बढुवाका निम्ति दरबन्दी सिफारिस गरिएको छैन भने कुनै विषयमा अत्यन्तै न्यून संख्यामा प्राध्यापक तथा सहप्राध्यापकको दरबन्दी सिफारिस गरिएको छ,” प्राध्यापकका सङ्गठनले संयुक्त रुपमा जारी गरेको वक्तव्यमा भनिएको छ । 

सामान्यतया विश्वविद्यालयमा ६ जना उप प्राध्यापक भएको विधामा दुई जना सह प्राध्यापक र एक जना प्राध्यापक हुनुपर्छ । यसलाई विश्वविद्यालयको पिरामिड भनिन्छ । तर अहिले आह्वान गरिएको विज्ञापनले यस्तो मान्यतालाई पालना नगरेको असन्तुष्ट पक्षको आरोप छ ।