• १३ पुस २०८२, आइतबार

स्राेत नखुलेको ६ लाखसहित एक व्यक्ति नियन्त्रणमा

blog

प्रहरीले बरामद गरेको रकम ।

खेमराज सापकोटा

रानी, पुस १३ गते । मोरङको विराटनगर–१५ स्थित रानी क्षेत्रमा स्राेत नखुलेको नेपाली नगदसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलील आइतबार विशेष सूचनाका आधारमा विराटनगर महानगरपालिका ६ बस्ने अरबिन्द्र अग्रवाललाई ६ लाखसहित नियन्त्रणमा लिएको हो । 

भारतबाट नेपालतर्फ हुण्डी रकमको कारोबार भइरहेको सूचनापछि प्रहरी टोलीले प्रदेश नं. १–०४–००१ च.०१६४ नम्बरको कारलाई निगरानीमा राखेको थियो । 

निगरानीकै क्रममा रानी–विराटनगर सडकखण्ड हुँदै रानीबाट विराटनगरतर्फ जाँदै गरेको उक्त कारलाई विराटनगर–१५ स्थित सुनसरी ट्रेडिङ सेन्टर (पेट्रोल पम्प) अगाडि रोकी जाँच गरिएको थियो। 

कार रोकेलगत्तै चालक कारबाट ओर्लिएर हातमा कालो रङको प्लास्टिकको पोका बोकी पेट्रोल पम्पको अफिसतर्फ भाग्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको हो । 

इलाका रानीबाट प्राप्त भएको सूचना अनुसार प्रहरीले नगद रकम, प्रयोग गरिएको कार र अग्रवाललाई नियन्त्रणमा लिई इप्रका रानीमा ल्याई थप अनुसन्धान भइरहेको जनाएको छ ।