रैथाने भन्नाले कुनै विशेष स्थानका सम्बन्धमा मानिसको समूह र उनीहरूले सनातनदेखि प्रयोग गर्दै आएको ज्ञान, सिप, परम्परा, संस्कृति र खाद्य उत्पादनको पहिचान बुझिन्छ । यो शब्द सामान्यतया ठाउँको नाम (बस्ती, गाउँ, सहर, नगर क्षेत्र, प्रदेश, राज्य, देश र महाद्वीप) बाट लिइएको हुन्छ । कुनै पनि ठाउँको जनसङ्ख्याभित्र हुन सक्ने जातीय, भाषिक, धार्मिक वा अन्य सांस्कृतिक भिन्नताको वास्ता नगरी रैथाने शब्दको प्रयोग कुनै विशेष स्थानका सबै मानिसलाई निर्दिष्ट गर्न प्रयोग गरिन्छ, जस्तै हिमाली, तराईवासी, पहाडिया आदि तर पछिल्लो समय यो रैथाने शब्दको अर्थ र वर्ण विन्यासमा (स्थानीयवासीले सनातनदेखि चलाउँदै आएको, छोटकरीमा रैथाने) देखिएको विवादले सर्वसाधारणमा द्विविधा पर्न गएको छ । यसलाई प्रस्ट पार्न अहिले प्रज्ञा–प्रतिष्ठानले शब्दकोष परिमार्जनको प्रक्रिया अगाडि बढाएको अवस्था छ ।
रैथानेप्रतिको आकर्षण
आजकल गाउँसहरका भुइँमान्छेदेखि ठुलाबडा भनाउँदासम्म सबैमा आफ्नो मौलिकपन हराउँदै जान थालेको प्रति चिन्ता, चासो र आक्रोश छ । उनीहरू आफ्नो विगतप्रति गौरव गर्दै वर्तमान समय आफूभन्दा धेरै अगाडि पुगिसकेको निष्कर्ष निकाल्दै पश्चात्ताप गर्न थालेको सुनिन्छ । अहिले सहरमा बसे पनि पहिलेको आफ्नो गाउँघर, बालापन, संस्कृति, चाडपर्व, नातागोता अनि वरिपरिका प्रकृति र प्रविधि नसम्झने को नै होला र ? पहिलेका गाउँघरका कुरा सम्झँदा वा सुन्दा भावुक हुँदै तुरुन्तै आफ्नो गाउँ फर्किहालूँ जस्तो हुन्छ नै तर सहरको व्यस्त जञ्जालले त्यति सजिलै जान कहाँ दिन्छ र ? यद्यपि जान नपाए पनि हराउँदै गएको रैथाने खाद्यबाली, चिजवस्तु, प्रकृति, संस्कृतिप्रतिको चिन्ता, चासोले उब्जाएको छटपटी र उकुसमुकुसले गर्दा अब हामीले केही त गर्नै पर्छ, हामीले नगरे कसले गर्ने ? अहिले नै नगरे अब ढिला हुन्छ भन्ने सोचेर ‘रैथाने संरक्षण अभियान’ सञ्चालन गर्न जुर्मुराएका छौँ । यो निःसन्देह गौरवको विषय हो । गाउँको मौलिकपन झल्कने सिप, कृषिउपज, ज्ञान, प्रविधि, संस्कृति तथा परम्परागत वस्तुको संरक्षण गर्नु नै यस अभियानको प्रमुख उद्देश्य हो भन्ने मलाई लाग्छ । रैथानेपन जोगियो भने नेपालीपन जोगिन सक्छ, नेपालीपन जोगियो भने मात्रै हाम्रो संस्कृति, स्वाभिमान जोगिन सक्छ भन्ने नै यो अभियानको मूल मान्यता हो ।
यसै मान्यताबमोजिम हामीले अब रैथाने उत्पादन क्षेत्र रहेको गाउँघर, हाटबजारमा जनजागरण कार्यक्रम, रैथाने चिजवस्तुको सङ्कलन र उपभोगको अभ्यासमा लाग्नुपर्ने हुन्छ । त्यसै गरी हामीले चलाउँदै आएका पेसा व्यवसायका पुरानो प्रविधि भनेर नफालीकन ती परम्परागत प्रविधिलाई कसरी स्थायित्व दिने र कसरी समयसापेक्ष आधुनिक प्रविधिसँग जोड्ने भनेर त्यसको खोज अनुसन्धान गर्ने गराउनेतर्फ पनि हामी लाग्नुपर्ने हुन्छ । यस तरिकाले विगत समयदेखि नै राज्य र समाज लाग्नुपर्ने थियो तर राज्य र समाज त्यसमा चुक्यो । जसले गर्दा ‘न पुराना प्रविधि साथमा, न नयाँ प्रविधि हातमा’ भनेको जस्तो स्थितिमा अहिले हामी पुग्यौँ र परम्परागत पेसा व्यवसाय चौपट भयो । यसै गरी रैथाने खाद्यबालीबाट हुने फाइदा र महत्वबारे यथेष्ट जानकारी जनतालाई गराउन नसक्दा र रैथानेभन्दा धान, गहुँ, मकै र तोरीलाई राज्यले प्राथमिकता दिएको अवस्था छ, जसले परिणाम सकारात्मक हुन सकेको छैन । अब अहिले ढिलै भए पनि रैथाने संरक्षण अभियानमा जुटेका छौँ यो खुसीको कुरा हो ।
रैथाने बालीको महत्व
रैथानेले प्रकृति र मानव स्वास्थ्यसँग अनौठो सम्बन्ध स्थापित गरेको छ । मानव स्वास्थ्यलाई चुस्त दुरुस्त राख्ने अचुक उपायको रूपमा रैथाने खाद्य प्रणालीले काम गरेको तथ्य प्रमाणित भइसकेको अवस्था छ । विगतमा गाउँघरमा सप्रेको काँक्रो आमाले टिपेपछि त्यसको बिउ भण्डारण प्रविधिका रूपमा घरको भित्तामा टाँस्ने, छर्कने र अनि बनेको काँक्राको अचार दसैँको मासुभातसँग खाँदाको क्षण हामी सम्झन सक्छौँ । हो, आज यही आनन्द र खुसीको रैथाने प्रविधि र प्रकृति अस्तित्व सङ्कटमा पर्दै गएकाले चिन्तित हुनु परेको छ । हाम्रो काँक्राका अचार बनाउने र त्यसको बिउ भित्तामा टाँसेर बर्सौंसम्म सुरक्षित राख्ने प्रविधि, बिनाबिजुली खर्चमा हावा फुक्ने छालाको आरन, मिठो मकैको पिठो पिँध्ने घट्ट, तेल निकाल्ने काठको कोललगायतका प्रविधि र त्यस्तै खाद्य बालीमा चिनो, कागुनो, उवा, लट्ठे मार्सी, फापर, जुम्ली मार्सी, कोदो, जौ र स्थानीय सिमीलगायतलाई अहिलेका पुस्ताले भुल्दै गएको अवस्था देखिन्छ । यस्ता बाली हराउँदै जानु हाम्रो मानव स्वास्थ्य र सिङ्गो देशका लागि घातक विषय हो । किनकि रैथाने बाली भनेको त्यस्ता बाली हुन्, जुन कुनै कालखण्डमा सम्बन्धित देश वा भूगोलमा उत्पत्ति भई परापूर्वकालदेखि खेती हुँदै आएका बालीमा धेरैभन्दा धेरै जातीय तथा अनुवांशिक विविधता पाइन्छ । त्यसका जातमा स्थान विशेष गुणहरू पनि विकास भएका हुन्छन् । साथै रैथाने बालीहरूको त्यस क्षेत्रको धर्म, संस्कृति, सामाजिक रहनसहन तथा खाद्य प्रणालीमा विशेष महत्व राख्छन् ।
स्थानीय भूगोल माटो हावा पानी र कृषिप्रणाली सुहाउँदो वा अनुकूलित हुने, कम मलजल तथा थोरै लगानीमा पनि उत्पादन लिन सकिने, पौष्टिकताको हिसाबले उत्कृष्ट र स्वास्थ्यबर्धक हुने, धार्मिक तथा सांस्कृतिक रूपले महत्वपूर्ण हुने, आफूलाई आवश्यक पर्ने बिउ आफैँ राख्न सकिने, रोग किराहरू कम लाग्ने वा लागे पनि सहन सक्ने क्षमता भएको, सुक्खा खडेरी, असिना, हावाहुरी आदि सहन सक्ने गुण, प्राङ्गारिक तथा पर्यावरणीय कृषिका लागि उपयुक्त हुने, रैथाने कृषि उपजको मूल्य र बजार माग बढ्दो, कृषि अनुवांशिक स्रोतको संरक्षण र प्राकृतिक उत्परिवर्तनमा टेवा पुग्ने जस्ता रैथानै बालीका विशेषता हुन् । यसरी यी बुँदाबाट रैथाने बाली लगाउन र उत्पादन गर्न कति सजिलो रहेछ भन्ने बुझ्न सजिलै सक्छौँ । यसको अर्को महत्वपूर्ण कुरा के हो भने यो अर्गानिक हुन्छ ।
रैथाने र अर्गानिकको सम्बन्ध
रैथाने बालीमा खाद्य सुरक्षा, पोषणदेखि स्वस्थ जीवनयापनमा आवश्यक रहेको कार्बाेहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम म्याग्नेसियम र आइरन जस्ता खनिजको प्रचुरता बढी भएकाले संरक्षणमा जोड दिनु जरुरी देखिन्छ । यस हिसाबले रैथाने र अर्गानिकबिचको सम्बन्ध नङ र मासुको जस्तै देखिन्छ । यदि अर्गानिक खाने हो भने हामीले रैथानेको संरक्षण गर्नै पर्छ । रैथानेको संरक्षण गर्न हामीले गाउँघरमा नै सशक्त रूपमा जागरण ल्याउन सक्नु पर्छ । खुसीको कुरा भन्नु पर्छ कि पछिल्लो समय पर्यटन व्यवसायको रूपमा देखा परेको होमस्टेले रैथाने चिजको सामीप्य र उपभोग बढाएको छ । सबै मान्छेलाई होमस्टे पुग्ने सुविधा र खर्च नहुन सक्छ, यस्तो अवस्थालाई ख्याल राखी भुइँ मानिसलाई गाउँघरमा नै रैथाने चिज वस्तु चाख्ने, स्वाद लिने मौका जुराइदिने प्रयास भइराखेको पाइन्छ । रैथाने अभियानमा लागेका सङ्घ संस्थाले ‘विषादीरहित खाना, हामी सबैको चाहना’ को नारा दिई काम गरिरहेको अवस्था छ ।
रैथाने संरक्षणमा सरकारी प्रयास
नेपाल सरकारले रैथाने संरक्षण कार्यान्वयन कार्यविधि, २०७५ जारी गरिसकेको छ । यसको उद्देश्य यस्तो छ : रैथाने बालीको जातीय सुधार प्रवर्धन तथा संरक्षण गर्नु, रैथाने बालीको उन्नत खेती प्रविधि विस्तारमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्नु, रैथाने बालीको उत्पादन विविधीकरण तथा बजारीकरणमा सहयोग गर्नु, स्थानीय रैथाने बालीको घर खेती संरक्षणमा सघाउ पु¥याउनु । यी नै उद्देश्य सफल गराउन कर्णाली प्रदेश सरकारको २०७४ फागुन ६ गते बसेको मन्त्रीपरिषद्को पहिलो बैठकले अर्गानिक कृषिको आधार तयार पार्दै रैथाने बालीको संरक्षण गर्ने निर्णय गरेको थियो । यसरी रैथाने बालीको संरक्षण कार्यक्रम आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ मा केही जिल्लामा लागु गरिने र त्यसपछि त्यसका नतिजा हेरी क्रमशः अन्य जिल्लामा चरणबद्ध रूपमा लागु गर्दै जाने लक्ष्य राखेको थियो । यसै गरी सङ्घीय कृषि विभाग अन्तर्गत बाली तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले प्राङ्गारिक कृषि प्रवर्धन मिसन अन्तर्गत रैथाने बाली प्रवर्र्धन अभियान अनुसार मध्य र उच्च पहाडी क्षेत्रका होमस्टेका लागि रैथाने परिकारसम्बन्धी तालिम सञ्चालन गरेको थियो ।
कृषि ज्ञान केन्द्रले चालु आवमा बागमती प्रदेश र गण्डकी प्रदेशमा रैथाने बाली प्रवर्धन कार्यक्रम लागु गरिरहेको पाइन्छ । लागु भएका जिल्लाहरू काभ्रे पलाञ्चोक, रामेछाप, सिन्धुली, नुवाकोट, धादिङ, ललितपुर, चितवन, स्याङजा, तनहुँ, गोरखा, पर्वत, म्याग्दी र लमजुङका केही तहमा नमुनाको रूपमा यो कार्यक्रम लागु गरिएको पाइन्छ । ती जिल्लामा कृषि ज्ञान केन्द्रको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने कार्यक्षेत्र अनुसार प्रतिकेन्द्र ६१ लाख २५ हजारदेखि ६६ लाख ३० हजारसम्मको बजेट निकासा हुने गरेको पाइन्छ । रैथाने बालीको प्रमुख उपभोक्ताका रूपमा कार्यक्रम सञ्चालन हुने गाउँ नगरका बासिन्दा होटेल र होमस्टेलाई लिएको देखिन्छ । त्यही भएर होटेल व्यवसायी, होमस्टे सञ्चालक, उद्यमी, कृषक समूह तथा सहकारीका सदस्यलाई रैथाने बालीका उत्पादन एवं परिकारका लागि कृषि ज्ञान केन्द्रमार्फत तालिम दिइने गरिएको छ । यस कार्यक्रमले रैथाने बाली उत्पादन गरी प्याकेजिङ, ब्रान्डिङ गरी बजारमा उपलब्ध गराउने समूह तथा सदस्यलाई प्रोत्साहन अनुदान वापत प्रतिरोपनी दुई हजार रुपियाँ दिने गरेको छ । यस्ता कृषकलाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रम रहेका पाइन्छन् तर यसरी विभिन्न जिल्लामा कार्यक्रम लागु गरे पनि नतिजाको हिसाबले सबैभन्दा राम्रो व्यापकता काभेपलाञ्चोक जिल्लाको चौँरीदेउराली र मण्डनदेउपुर, सिन्धुपलाञ्चोकको हेलम्बु गाउँपालिका–६ मा भएको थियो । यस्तै रैथाने बालीलगायत रैथाने पशुपन्छीको संरक्षणका लागि समेत सर्वोच्च अदालतबाट २०७३ मा परमादेश जारी भइसकेको अवस्था छ ।
मौलिकता र स्वाधीनताको रक्षा
अहिले किसान र व्यापारीको अवस्था हेर्दा परम्परागत बाली र जैविक कृषिका विषयमा बहस र चासो बढ्दै गएको देखिन्छ । स्थानीय किसानले परम्परागत रैथाने बालीको संरक्षण र प्रवर्धनमा पनि सक्रियता देखाएकै देखिन्छ । भर्खरै चन्दननाथ नगरपालिकाले आफ्नो नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा दिवा खाजा खुवाउँदा अनिवार्य रूपमा स्थानीय रैथाने परिकारका खुवाउनुपर्ने निर्देशन दिएको छ । यसै गरी अब स्थानीय उत्पादन, प्रविधि र संस्कृतिको अनिवार्य प्रयोग राज्यका निकायले गर्नेतर्फ सरकार, राज्यका विभिन्न निकाय, सङ्घ संस्थाले पनि ध्यान दिन थालेको देखिएकाले रैथाने बालीको संरक्षण अभियान सफल हुने विश्वास गर्न सकिन्छ । यो अभियान सफल हुनु भनेको नेपाली मौलिकता र स्वाधीनताको रक्षा भई ‘सुखी नेपाली समृद्ध नेपाल’ को राष्ट्रिय आकाङ्क्षा पूरा हुनु हो । अतः रैथाने संरक्षण अभियान सफल पारौँ ।