• २४ जेठ २०८२, शनिबार

पूर्व सांसद भूसालद्वारा दल परित्याग

blog

पूर्वसांसद तीर्थ भुसाल भरतपुरमा शनिबार पत्रकार सम्मेलनमा बाेल्नुहुँदै । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली
नारायणगढ, जेठ २४  गते । 
पूर्वसांसद तीर्थ भुसालले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । नेपाली कांग्रेस परित्याग गरी केही वर्ष अघि नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएका भुसालले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो ।

भरतपुरमा शनिबार पत्रकार सम्मेलन गरेर आफू अब स्वतन्त्र जीवन बिताउने जानकारी दिनुभयो ।

नेकपा (एमाले)र नेकपा (एकीकृत माओवादी) केन्द्र बिच एकता भएर कम्युनिष्ट पार्टी बन्दा त्यसले देशमा स्थिरता दिन सक्छ कि भनेर आफू २०७६ सालमा  कम्युनिष्ट प्रवेश गरे पनि त्यो हुन नसकेपछि आफूले पार्टी छाड्ने निर्णय लिएको उहाँले बताउनुभयो । 
नेपाल कम्युनिष्ट पार्टी विभाजनपछि आफू राजनीतिमै निष्क्रिय रहँदै आएको पनि उहाँले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस चितवनका पूर्व सभापति, कांग्रेसबाट निर्वाचित सांसद र  सुकुम्वासी समस्या समाधान आयोगका अध्यक्ष भइसक्नुभएका भुसाल २०७६ सालमा कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको थियो ।

पत्रकार सम्मेलनमा भुसालले लोकतान्त्रिक व्यवस्था, विधिको शासन र अद्यावधिक निर्वाचनसहितको शासकीय व्यवस्थाको विकल्प नभएको धारणा पनि राख्नुभयो ।