खेमराज सापकोटा
विराटनगर, जेठ २४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विराटनगस्थित हुलाक निर्देशनालयका साथै नेपाल टेलिकममको प्रादेशिक कार्यालयको अनुगमन निरीक्षण गर्नुभएको छ ।
निर्देशनालयका निमित्त हुलाक निर्देशक विष्णु बुढाथोकीका अनुसार कार्यालयको निरीक्षणका साथै प्रभावकारी कार्यसम्पादन गर्न आवश्यक निर्देशन दिनुभएको छ ।
त्यसअघि हुलाक सेवा विभागले विरानगरमा हुलाक सेवाको पुनःसंरचना विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले हुलाक सेवा विभागलाई रूपान्तरण गरेर अरबौँ रुपियाँ आम्दानी गर्न सकिने बताउनुभयो ।
हुलाक सेवा मागीखाने सेवा नभएर आम्दानी बढाउने संस्था बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । ‘इ–कमर्सको माध्यमबाट हामीले काम गर्न सक्छौँ । यसले सेवाका साथै आम्दानी गर्छ भन्ने कुरा प्रमाणित गर्नुपर्ने छ । त्यसका लागि सरकारले ऐन कानुनका साथै निर्णयहरूमा समेत सुधार गरेर प्रभावकारी बनाउन सक्छौँ’ उहाँले भन्नुभयो ।
हुलाकमा जनशक्तिको अपडेट गर्नुपर्नेमा जोड दिँदै प्रगतिमैत्री संस्था हुनुपर्ने आवश्यक्ता औँल्याउनुभयो । ‘यसका लागि प्रविधिमैत्री जनशक्ति बनाउन लाग्नु पर्दछ, कार्यालयको व्यवस्थापनमा कर्मचारी साथीहरू लाग्नुहोस्’ उहाँले भन्नुभयो
इजरायलले कृषि क्षेत्रमा आफूलाई परिमार्जन गरेको उदाहरण दिँदै उहाँले अहिलेको अवस्थामा नेपालमा विकास चाहिँ भएको उल्लेख गर्नुभयो । ‘विकासका लागि हाम्रोमा व्यवस्थापन हुन सकिरहेको छैन । त्यसकारण सबै क्षेत्रको व्यवस्थापन आवश्यक रहेको छ’ उहाँले भन्नुभयो ।
जनतालाई कुनै सुन्दर नारा आवश्यक नभएको बताउनुहुँदै जनतालाई काम चाहेको उहाँले बताउनुभयो । देशभरमा रहेका ६ सय बढी हुलाक सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कोशी प्रदेशमा रहेको हुलाकका प्रतिनिधिहरूले आफ्ना क्षेत्रका समस्या प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सञ्चार मन्त्रालय अन्तर्गत रहेका कर्मचारीका साथै सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो ।
मातहतमा रहेका सरकारी संरचना तथा संस्थानको निरीक्षणका लागि शुक्रबार विराटनगर आउनुभएका मन्त्री गुरुले धरानस्थित रेडियो नेपालको कार्यालय, इटहरीस्थित नेपाल टेलिभिजनको कार्यालय, विराटनगरमा गोरखापत्र दैनिकको पूर्वी प्रकाशन कार्यालयका साथै ताराणीप्रसाद कोईराला स्मृति संचारग्राम र राष्ट्रिय समाचार समितिको प्रादेशिक भवनको अवलोकनका साथै आवश्यक निर्देशन दिनुभएको थियो ।