प्रविधिगत विकासले मानवीय जीवनमा अनगन्ती सुविधा उपलब्ध गराएको छ । यस्तो विकासले विनाश र विपत्तिसमेत उत्पन्न गरेको छ । मानवीय जीवनको सरलता र सुगमताका लागि प्लास्टिकजन्य वस्तुको उपयोगिता र महत्व जति धेरै छ, यस्ता वस्तुद्वारा सिर्जित वातावरणीय विनाश र क्षयीकरण पनि उत्तिकै जोखिमयुक्त छ । संसारमा प्लास्टिकजन्य वस्तुद्वारा सिर्जित पर्यावरणीय सङ्कट झनै भयावह हुँदै छ । यसको समाधान, जनचेतना अभिवृद्धि र विश्वव्यापी साझेदारी निर्माण गर्न हरेक वर्ष संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वव्यापी रूपमा मनाइने ‘विश्व वातावरण दिवस’ को विषयगत नारामा पनि प्लास्टिक प्रदूषणले प्राधान्यता पाइरहेको छ ।
सन् २०२५ को विषयगत नारा पनि ‘प्लास्टिक प्रदूषण अन्त्य गरौँ’ भन्ने छ । यसभन्दा अघि सन् २०२३, २०१८ मा पनि प्लास्टिक प्रदूषण नै नारा थिए । यसबाट प्लास्टिकजन्य प्रदूषणद्वारा प्रकृतिउपर थोपरिएको सङ्कटापन्नताको भीमकाय स्वरूपको चित्रण गरेको देखिन्छ । अब नारालाई व्यवहारमा उतार्न ढिला भइसक्यो । हरेक देशका सर्वसाधारण नागरिक, विश्वव्यापी मानव समुदाय र संसारका सबै मुलुकले वातावरणीय विनाशको यो चुनौतीलाई साझा सङ्कल्प र कार्यसम्पादनद्वारा पराजित गर्न विश्व साझेदारिता निर्माण गर्न चुक्नु हुन्न । अनि मात्र विश्व मानव कल्याण र जीवहरूप्रतिको प्रेमाभावको अविराम यात्राले सार्थकता पाउन सक्छ । नत्र आफ्नै ज्ञानको सिर्जनाद्वारा आफ्नै अस्तित्वको समाप्तितर्फ मान्छे अभिमुखीकृत भएको दोषारोपण अनवरत लागिरहने छ ।
विश्वव्यापी उत्पादन र बजार
मर्केल र चाल्स्र्ले सन् २०२२ मा गरेको एक अध्ययनद्वारा सन् २०२१ मा करिब छ सय अर्ब अमेरिकन डलर बराबर मूल्य रहेको प्लास्टिकजन्य वस्तुले विश्व बजार ओगटेको थियो । खनिजजन्य इन्धनको खपतद्वारा प्लास्टिकजन्य वस्तुको उत्पादनमार्फत सन् २०१९ मा १.८ अर्ब टन हरित–गृह ग्यास उत्सर्जन भएको अभिलेखसमेत प्रकाशित छ । विश्वव्यापी रूपमा एक मिनेटमा १० लाख वटा प्लास्टिकका बोतलको बिक्री–वितरण हुने गरेको समेत अभिलेख छ । सन् २०२० मा संसारभर ४१० मिलियन टन प्लास्टिकजन्य वस्तुको उत्पादन भएको थियो । यही दर कायम रहेमा सन् २०५५ सम्म पुग्दा ११०० मिलियन टन प्लास्टिकजन्य वस्तुको उत्पादन हरेक वर्ष हुने प्रक्षेपणसमेत गरिएको छ ।
प्लास्टिकजन्य वस्तुको एकल प्रयोगको देशगत विवरणका अभिलेख पनि प्रकाशनमा आएका छन् । प्लास्टिकजन्य वस्तुको एकल प्रयोग प्रदूषण सिर्जना गर्ने मुलुकमा अस्ट्रेलिया पहिलो स्थानमा छ । सन् २०१९ मा यस्तो प्लास्टिकजन्य वस्तुको एकल प्रयोग प्रदूषण सिर्जना यहाँ प्रतिव्यक्ति करिब ५९ किलोग्राम रहेको थियो । त्यसपछि यस्तो प्रदूषण सिर्जना गर्नेमा अमेरिका थियो जसको प्रतिव्यक्ति प्रदूषण सिर्जना ५३ किलोग्राम थियो । सबैभन्दा बढी प्रतिव्यक्ति प्लास्टिकको एकल प्रयोग प्रदूषण सिर्जना २० वटा देश सूचीमा चीनको स्थान १४ औँ हुन्छ, जसले प्रतिव्यक्ति प्रदूषण उत्पादन १८ किलोग्राम गरेको देखिन्छ । यो मामिलामा भारत २० औँ स्थानमा छ, जसले प्रतिव्यक्ति प्लास्टिकजन्य वस्तुको एकल प्रयोग प्रदूषण सिर्जना चार किलोग्राम रहेको सो अध्ययनले देखाएको थियो ।
नेपालमा प्लास्टिकजन्य वस्तु
सन् २०१९/२० मा गरिएको आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख भए अनुसार नेपालमा ३७५ वटा प्लास्टिकजन्य वस्तु उत्पादन गर्ने उद्योग सञ्चालित छन् । यस्ता उद्योगमा करिब ३७ अर्ब रुपियाँ बराबरको लगानी छ । यस्ता प्लास्टिकजन्य उद्योगमा करिब ११ हजार श्रमिकले रोजगार पाइरहेको सो सर्वेक्षणले देखाएको थियो । एक अध्ययनले प्रकाशित गरेको प्रतिवेदन अनुसार सन् २०२१/२२ मा नेपालभित्र करिब छ सय ३० मिलियन अमेरिकी डलर बराबरको मूल्य भएका प्लास्टिकजन्य वस्तु आयात गरिएको थियो । परिमाणका आधारमा विभिन्न प्रकारका प्लास्टिकजन्य वस्तु एक लाख ७० हजार ५३४ मे.ट आयात गरिएको देखिन्छ । उत्पादनको अवस्था हेर्दा नेपालमा प्रतिवर्ष एक लाख ६५ हजार मेट प्लास्टिकजन्य वस्तुको उत्पादन हुने गरेको छ । त्यस्तै, प्रतिवर्ष चार हजार नौ सय मेट प्लास्टिकजन्य फोहोर उत्पादन भइरहेको केही समय पहिलेको अध्ययनले देखाएको छ ।
विश्वव्यापी प्रभाव
विश्वव्यापी प्लास्टिक प्रदूषणले जलवायु परिवर्तनमा योगदान पु¥याउँदै एवं पारिस्थितिकीय प्रणाली विनाश गर्दै वातावरण, जीवजन्तु र मानवीय स्वास्थ्यमा गम्भीर प्रभाव पारेको देखिन्छ । प्लास्टिक प्रदूषण स्थायी प्रकृतिका हुन्छन् र वातावरणमा यिनीहरूको विसर्जनपश्चात् विखण्डन, विग्रह र विनाश हुन एक सयदेखि एक हजार वर्षसम्म लाग्ने अनुमान छ । विश्वको कुल खनिज तेलको २० प्रतिशत अंश प्लास्टिकजन्य वस्तुको उत्पादनमा प्रयोग हुने विभिन्न अध्ययनमा उल्लेख छ । यसो हु्ँदा सन् २०५० सम्म पुग्दानपुग्दा प्लास्टिक उत्पादनबाट मात्र हरितगृह ग्यास उत्सर्जनमा १५ प्रतिशत योगदान पुग्न सक्ने अनुमान गरिएको छ, यद्यपि अहिलेको उत्सर्जन दर करिब चार प्रतिशत रहेको छ । प्लास्टिक प्रदूषणबाट सामुद्रिक प्राणीमा बृहत्तर असर र प्रभाव पारेको पाइन्छ । जलीय र थलीय प्राणी गरी करिब १५ सय प्रजातिले विभिन्न प्लास्टिकका वस्तु निल्ने गर्नाले विभिन्न प्रभाव त्यस्ता जीवमा देखिएको छ । प्लास्टिकको विग्रह हु्ँदा सूक्ष्म रूपमा प्लास्टिकका कण वातावरणमा विस्तारित हुने तथा प्लास्टिक वस्तुमा रहेका रासायनिक पदार्थको चुहावट जल र थल दुवैमा हु्ँदा मानवलगायतका जीवको शरीरभित्र प्रवेश हुन पुगी विभिन्न शारीरिक अस्वस्थता र रोग देखा परेको छ । यस्ता प्लास्टिकजन्य रसायनको मानव तथा जीवमा अन्तरघुलन हुन पुग्दा शारीरिक विकास, प्रजनन क्षमतामा ह्रास, मस्तिष्कजन्य व्यवधान र रोग प्रतिरोधात्मक क्षमता विनाश–‘इम्युन डिसअर्डर’ जस्ता जटिलता देखिएका छन् ।
नियन्त्रण र व्यवस्थापन मार्गचित्र
विश्वव्यापी रूपमा प्लास्टिक प्रदूषणको नियन्त्रण र व्यवस्थापनको तथ्याङ्क केलाउँदा वातावरण–मैत्रीपूर्ण नदेखिएको निराशाजनक परिदृश्य छ । संसारभरिको प्लास्टिक प्रदूषणको व्यवस्थापन करिब ७९ प्रतिशत अंश ल्यान्डफिल साइटमा थुपारेर गरेको देखिन्छ । यो वातावरणीयमैत्री शैली होइन । त्यसपछि १२ प्रतिशत प्लास्टिक प्रदूषण जलाउने गरिन्छ । जलाउने प्रविधि वातावरणीय दृष्टिकोणले प्रभावकारी नभए यो झनै खतराजनक शैली हो । केवल नौ प्रतिशत प्लास्टिक वस्तुको पुनप्र्रयोगमा लगिएको देखिन्छ । प्लास्टिक प्रदूषणको विसर्जन, व्यवस्थापन र नियन्त्रणका लागि नीतिगत औजारको प्रभावकारी भूमिका रहन्छ । नीतिगत रूपमा तोकिएको कार्य नगर्नेलाई गरिने दण्डात्मक व्यवस्थाको कठोर कानुनी प्रबन्ध, जसले जति प्लास्टिक फोहोरको सिर्जना गर्छ । सो अनुसारको क्षतिपूर्ति तिराउने व्यवस्थाको बजार नियन्त्रणको प्रदूषकले तिर्ने व्यवस्था, शिक्षा र जनचेतनाको जागरणद्वारा नागरिक सचेतीकरणको अभियान र स्वेच्छिक रूपमा आफैँले विभिन्न प्रकृतिमैत्री वस्तुको उत्पादन र प्रयोग गर्ने स्वपरिचालन शैली नै प्रमुख पक्ष हुन् । मूलतः प्लास्टिक प्रदूषणको नियन्त्रण र व्यवस्थापनका तल उल्लिखित शैली र व्यवहार महत्वपूर्ण मानिन्छन् ।
प्राथमिकता प्रयोग घटाउने
प्लास्टिकजन्य वस्तुको उपयोग, घटाउने व्यवहार र शैली नै प्लास्टिक प्रदूषण नियन्त्रणको महìवपूर्ण रणनीति हो । प्लास्टिकजन्य पदार्थको विकल्पको खोजी पहिलो प्राथमिकता छँदै छ, प्रयोगमै प्लास्टिकको प्रयोग घटाउँदै लैजानु आवश्यक छ । वस्तुको प्याकिङ गन प्लास्टिकको बदलामा अन्य जैविक–विखण्डित हुने (बायोडिग्रेडेबल) वस्तुको प्रयोग बढाउन जरुरी छ । प्लास्टिक झोलाको बदलामा बोरा, जुट, कागज जस्ता पदार्थको प्रयोगद्वारा निर्मित झोलाको प्रयोग गर्ने प्रचलन बढाउँदै जानु आवश्यक छ ।
प्लास्टिकजन्य वस्तुको प्रयोग गर्ने बाध्यता छ भने एकल प्रयोगलाई निरुत्साहित गरी त्यही वस्तु पटक पटक गर्ने प्रचलन ल्याउनु आवश्यक छ । यस्तो व्यवहारको प्रभावकारिता भएमा प्लास्टिकजन्य वस्तु उत्पादनमा कमी आउँछ र प्रदूषणको मात्रामा पनि कटौती हुने छ ।
पुनः प्रयोग
तेस्रो विकल्प एक पटक प्रयोग भएका प्लास्टिकजन्य वस्तुको रिसाइकल गरी पुनः अर्को वस्तुको रूपान्तरणमार्फत पनि प्लास्टिकजन्य वस्तु उत्पादनको मात्रा र प्रदूषणको परिमाणमा भारी कटौती गर्न सकिन्छ ।
प्लास्टिकजन्य वस्तुको प्रशोधन गरेर ऊर्जा निकाल्ने वा सडकमा कालोपत्रे गर्न सकिने पदार्थको उत्पादन गर्न सक्ने प्रविधिको विकास भएको देखिन्छ । यसरी प्लास्टिकजन्य वस्तुमा अन्तरनिहित ऊर्जाको रिकोभरी गरी प्रयोगमा ल्याउने प्रचलन बढाउनु खाँचो छ ।
उचित व्यवस्थापन
माथि उल्लिखित उपाय अवलम्बनपश्चात् पनि प्लास्टिक प्रदूषणको व्यवस्थापन अनिवार्य छ । यसको निमित्त उपयुक्त ल्यान्डफिल साइटको व्यवस्थापन गरी त्यस्तो सुरक्षित स्थलमा प्लास्टिक फोहोर विसर्जन गर्नु बुद्धिमानी ठहर्छ । यसका लागि यस्ता ल्यान्डफिल साइटको वातावरणीय प्रभाव अध्ययन गरी मानव स्वास्थ्य, प्राकृतिक वातावरण र पारिस्थितिकीय प्रणालीमा न्यूनतमभन्दा न्यूनतम असर र प्रभाव हुने अवस्था सिर्जना गरी त्यस्तो स्थलमा प्लास्टिक प्रदूषणको व्यवस्थापन गर्नु आवश्यक छ ।
प्रभावकारी रणनीति आवश्यक
नेपालले प्लास्टिक प्रदूषण नियन्त्रण गर्ने रणनीति अवलम्बन गर्दा अवधि र सूचक निर्धारण गरी प्रभावकारी कार्यान्वयनको रणनीति लिन जरुरी छ । प्लास्टिक उत्पादन–आयात घटाउन सन् २०२५ को आधार वर्ष लिई सन् २०३५ सम्म पुग्दा ५० प्रतिशत प्लास्टिकजन्य वस्तुको उत्पादन र उपभोग घटाउने रणनीति लिनु आवश्यक छ । । प्लास्टिक प्रदूषण व्यवस्थापनको दृष्टिकोण अनुसार सन् २०३० सम्ममा ५० प्रतिशत प्लास्टिक प्रदूषण रिसाइकल गर्ने रणनीति कार्यान्वयन गर्नु आवश्यक छ । कम्तीमा पनि सन् २०३० सम्ममा ३० प्रतिशत प्लास्टिकजन्य प्रदूषण घटाउने गरी कार्यसम्पादन गर्ने रणनीति लिनु आवश्यक छ । उल्लिखित रणनीति कार्यान्वयनको निमित्त आवश्यक पर्ने संस्थागत प्रबन्ध, कानुनी साधन र जनचेतना अभिवृद्धिका प्रभावकारी उपाय अवलम्बन हुन सकेमा प्लास्टिक प्रदूषणको नियन्त्रण र व्यवस्थापनमा अन्तर्राष्ट्रिय स्तरमै उत्कृष्ट ठहरिने छ ।