धार्के–सीतापाइला खण्डको निर्माणसँगै राजधानी भित्रिने र बाहिरिने सवारीसाधनका लागि नागढुङ्गाको जाम छल्न एउटा उपयुक्त विकल्प तयार भएको छ ।
धार्के (धादिङ), जेठ २३ गते । मुलुकका अन्य भू–भागलाई राजधानीसँग जोड्ने मुख्य नाकाका रूपमा रहेको कलङ्की–नागढुङ्गा–नौबिसे सडकखण्डको विकल्पका रूपमा अगाडि सारिएको धार्के–सीतापाइला सडकखण्डको काठमाडौँतर्फको कालोपत्र सम्पन्न भएको छ ।
काठमाडौँ सडक डिभिजन कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले भन्नुभयो, “कालोपत्रे सम्पन्न भएसँगै काठमाडौँबाट बाहिरिने वा काठमाडौँ भित्रिने सवारीसाधनका लागि यो सडक पहिलो रोजाइमा पर्न थालेको छ । कुल २४ किलोमिटरको यो सडक काठमाडौँतर्फ सीतापाइलादेखि ठुलोखोलासम्म दस किलोमिटर पर्छ ।” कलङ्की–नागढुङ्गा–नौबिसे हुँदै राजधानी भित्रिने र बाहिरिने सवारीसाधनको चापले बर्सौंदेखि अत्यधिक ट्राफिकजामको सास्ती हुने गरेको छ । धार्के–सीतापाइला खण्डको निर्माणसँगै राजधानी भित्रिने र बाहिरिने सवारीसाधनका लागि नागढुङ्गाको जाम छल्ने एउटा उपयुक्त विकल्प तयार भएको उहाँले बताउनुभयो ।
यसअघि नै यस सडकखण्डको ट्र्याक खोल्नुका साथै दुवैतिर सडक विस्तार गर्ने, चौडा गर्ने तथा ढुङ्गाको पर्खाल लगाउने, कल्भर्टसहित आवश्यक पूर्वाधार तयार भइसकेको छ । यो सडकखण्ड निर्माणका लागि काठमाडौँतर्फको काम काठमाडौँ सडक डिभिजन कार्यालयमार्फत र धादिङतर्फको काम नुवाकोट सडक डिभिजन कार्यालयमार्फत भइरहेको छ ।
नुवाकोट सडक डिभिजन कार्यालयका प्रमुख सुबोधकुमार देवकोटाले नुवाकोट सडक डिभिजन कार्यालय मातहत निर्माण भइरहेको कुल सडकमध्ये चार सय मिटर मात्र कालोपत्र हुन बाँकी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ठुलोखोला भन्ने क्षेत्रमा करिब दुई सय मिटर र धार्के क्षेत्रमा दुई सय मिटर सडक कालोपत्र गर्न बाँकी रहेको छ । असारसम्ममा बाँकी रहेको कालोपत्रको काम सम्पन्न हुन्छ ।”
यो सडकखण्डको शून्य किलोमिटर सीतापाइला (चक्रपथ) देखि रामकोट–भीमढुङ्गा–महेशफाँट हुँदै धार्के पुग्ने छ । सीतापाइलादेखि धार्केसम्म कुल २४ किलोमिटर रहेको यस सडकखण्डको चौडाइ १२ मिटर हुने डिभिजन कार्यालयले जनाएको छ । यो सडकखण्ड दुई लेनको निर्माण हुँदै छ ।
सीतापाइला (चक्रपथ) देखि ठुलोखोला भन्ने ठाउँसम्म कुल दस किलोमिटर काठमाडौँ सडक डिभिजन कार्यालयको मातहतमा र ठुलोखोलादेखि धार्केसम्मको १४ किलोमिटरको निर्माण कार्य नुवाकोट सडक डिभिजन कार्यालय मातहत भइरहेको छ । नागार्जुन/सिएम/जय बाबा भन्ने निर्माण कम्पनीले यो सडकखण्ड निर्माणको जिम्मेवारी पाएको छ ।
२४ किमीको विकल्पमा २४ किमी नै धार्केदेखि कलङ्कीसम्मको दुरी २४ किलोमिटर छ भने त्यसै गरी धार्केदेखि सीतापाइलासम्मको दुरी पनि २४ किलोमिटर नै छ । यो सडक दुई लेनको भएपछि नौबिसे पुग्न र नौबिसेबाट काठमाडौँ आउन दुई वटा विकल्प तयार हुने छ । धार्के–सीतापाइला खण्डको निर्माण सम्पन्न भएसँगै नागढुङ्गामा सानो समस्या आए पनि वा गाडी बिग्रे पनि घण्टौँ रोकिनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको डिभिजन प्रमुख भण्डारीले बताउनुभयो ।
यो सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन कुवेत सरकारले तयार पारेको थियो । कलङ्की–नागढुङ्गा–नौबिसे सडकखण्डको सवारी चापलाई घटाउन २०४५ सालमा नै यो सडक निर्माणको अवधारणा ल्याइएको थियो । सरकारले सडक गुरुयोजना अनुसार पहाडमा चार घण्टामा र तराईमा दुई घण्टा पैदल दुरीमा पक्की सडक सुविधा पुग्ने गरी सडक सञ्जालको विकास गर्ने लक्ष्य लिएको छ ।