राजु लामिछाने
रुकुमपश्चिम, चैत १० गते । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्र्वको दुर्गम गाउँमा नेपाली सेनाले निशुल्क स्वास्थ्य शिविरमार्फत प्रभावकारी सेवा प्रदान गरेको छ । मङ्गलबार चण्डी दल गण रुकुमपश्चिमले पुथा उत्तरगंगा गाउँपालिका वडा नम्वर २ को पेल्मा गाउँमा शिविर सम्पन्न गरेको हो ।
विपन्न सर्वसाधारणलाई लक्षित गरेर नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविरमार्फत प्रभावकारी सेवा प्रदान गरेको छ । निशुल्क स्वास्थ्य शिविरबाट २२४ सर्वसाधारणले सेवा पाएका छन् । सेवा पाउनेहरुमा १४५ जना महिला र ७९ जना पुरुष रहेका । जसमध्ये ५५ जना बालालिकासमेत रहेका छन् ।
चण्डीदल गणका गणपति प्रमुख सेनानी बिनिश श्रेष्ठका अनुसार सैनिक नागरिक सम्बन्ध सुदृढ बनाउने र ग्रामीण क्षेत्रमा आर्थिक तथा भौगोलिक रुपले पछाडि परेका गरीब तथा विपन्न समुदायलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने लक्ष्यसहित शिविर सञ्चालन गरिएको हो । उहाँले शिविरबाट नशा तथा हाडजोर्नी, बाल रोग, स्त्री रोग जाँच तथा उपचार, परामर्श सेवा, स्वास्थ्य परिक्षण तथा औषधि वितरण लगायतका सेवा प्रदान गरिएको जानकारी दिनुभयो । चण्डीदल गणले श्री नं. १९ फिल्ड एम्बुलेन्स गुल्म, साझा मुराल अस्पताल प्रा.लि रुकुमपश्चिम, रुकुमपूर्व जिल्ला अस्पताल, स्वास्थ्य सेवा कार्यालय रुकुमपूर्व र पुथा उत्तरगंगा गाउँपालिकाको सहयोगमा शिविर सम्पन्न गरेको जनाएको छ ।
गाउँमै पहिलो पटक शिविरमार्फत निःशुल्क सेवा पाउँदा यहाँका सर्वसाधारणहरु खुसी भएका छन् । पेल्मामा रहेको नमूना आमा समुहका अध्यक्ष जोगमाया पुनले दुर्गम गाउँमै दक्ष चिकित्सकसहितको टोलीले स्वास्थ्य शिविरमार्फत सर्वसाधारणको स्वास्थ्य जाँच र उपचार गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।
आर्थिक अभाव र समय व्यवस्थापन गर्न नसकेर रोगको शिकार भईरहेका जनताले गाउँमै सेवा पाउँदा उनीहरुसमेत खुशी रहेको उहाँले उल्लेख गर्नुभयो । निःशुल्क स्वास्थ्य जाँच, परामर्श र औषधि समेतको व्यवस्थाबाट सर्वसाधारणहरुमा ठुलो राहत भएको उहाँको भनाइ छ । यो क्षेत्रमा यातायात सुविधा समेत नहुँदा सर्वसाधरणले सहज स्वाथ्य सेवा पाउन मुश्किल रहेको जनाएका छन् ।
श्री नं. १९ बाहिनी गुल्मका डा.मिलन भण्डारीको नेतृत्वमा रहेको मेडिकल टोली शिविरमा परिचालन भएको थियो । शिविरमा डा. भण्डारी, डा. दिपक पुन, डा.कष्ण खराल र डा. विजय बस्नेत लगायतको स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको छ । चण्डीदल गणका गणपति बिनिश श्रेष्ठको मुख्य उपस्थितिमा सम्पन्न शिविरमा सेनानी सुस्पन कटुवाल, पुथा उत्तरगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकत ध्रुव बिक लगायतको उपस्थिति रहेको थियो भने पेल्मा र आसपास गाउँका सर्वसाधारणहरुले समेत सेवा पाएका छन् ।
सेनाले घरआँगनमा नै गएर प्रभावकारी स्वास्थ्य सेवा र औषधी उपचार गर्ने अभियानको निरन्तरता स्वरुप जिल्लाका अन्य स्थानमा पनि शिविर सञ्चालन गर्ने जनाएको छ । यस अघि रुकुमपश्चिमको आठबिसकोट, चौरजहाीर त्रिवेणीमा चण्डीदल गणले स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।