• १० चैत २०८२, मङ्गलबार

इरानमाथिको सैन्य कारबाही रोकियो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १० गते । अमेरिका र इजरायलले इरानमाथिको सैन्य कारबाही रोकेका छन् । युद्ध सुरु भएको २४ औँ दिनमा इरानमाथिको सैन्य कारबाही रोकिएको हो । युद्धबाट जनधनको व्यापक क्षति हुनुका साथै यसको असर विश्वव्यापी भएपछि अमेरिका र इजरायलले इरानमाथिको सैन्य कारबाही रोकेको बताएका छन् । 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार तेहरानसँग ‘धेरै राम्रो र फलदायी वार्ता’ पछि इरानको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न अमेरिकी र इजरायली सेनालाई आदेश दिएको बताउनुभएको छ । उहाँले आफ्नो पूर्वचेतावनीबमोजिम अघि नबढ्न र कारबाही रोक्न सेनालाई आदेश दिनुभएको र इरानसँगको वार्ता यो साता जारी रहने अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएन र अल जजिराले जनाएका छन् । 

राष्ट्रपति ट्रम्पले भन्नुभएको छ, “अमेरिका र इरानबिच मध्यपूर्वमा हाम्रो शत्रुताको पूर्ण समाधानका बारेमा विगत दुई दिनमा धेरै राम्रो र फलदायी कुराकानी भएको छ । साताभरि जारी रहने यो रचनात्मक वार्ताको प्रतिबद्धतालाई ध्यानमा राख्दै मैले युद्ध विभागलाई इरानको ऊर्जा प्लान्ट र पूर्वाधारमा सबै सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएको छु । यो निर्णय बैठक र छलफलको सफलतामा निर्भर हुने छ ।” उहाँले अमेरिका र इरानबिच जारी द्वन्द्व अन्त्य गर्ने विषयमा छलफल भइरहेको स्पष्ट गर्नुभयो । इरानका विद्युत् केन्द्रमा गर्ने भनिएको सम्भावित सैन्य आक्रमण स्थगित गरिनुले ठुलो सङ्कट टरेको छ । 

सिएनएनका अनुसार राष्ट्रपति ट्रम्पले कूटनीतिक प्रयासलाई अवसर दिन आक्रमण रोक्नुभएको हो । उहाँले दुवै पक्षबिच संवादको ढोका खुला रहेको र युद्ध अन्त्यतर्फ प्रगति हुने बताउँदै इरानसँगको वार्ता सकारात्मक र परिणाममुखी भइरहेको समेत स्पष्ट गर्नुभयो । जारी युद्धका कारण विश्वकै अर्थ व्यवस्थामा चुनौती थपिएपछि इरान युद्ध अन्त्य गर्न अमेरिका र इजरायलमाथि आन्तरिक र बाह्य दबाब बढिरहेका बेला ट्रम्प वार्ताको प्रयासमा लाग्नुभएको हो । 

इरान र अमेरिकाबिचको यो पछिल्लो संवादले मध्यपूर्वमा केही समयदेखि चल्दै आएको सैन्य तनाव मत्थर हुने अपेक्षा गरिएको छ । इरानलाई आणविक हतियार बनाउन नदिन, इरान संरक्षित आतङ्कवाद रोक्न र त्यहाँको अतिवादी इस्लामिक सत्ता ढालेर लोकतान्त्रिक सरकार बनाउने उद्देश्यसहित अमेरिका र इजरायलले सैन्य कारबाही सुरु गरेका हुन् । सुरुमै अमेरिकी र इजरायली सेनाको सैन्य कारबाहीमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित ५० जनाभन्दा बढी उच्च नेता र अधिकारी मारिएका थिए । त्यसपछि इरानले खामेनीका छोरा मोजतबा खामेनीलाई नयाँ सर्वोच्च नेता चयन ग¥यो । इरानी नयाँ नेतृत्वलाई राष्ट्रपति ट्रम्पले आत्मसमर्पण गर्न पटक पटक चेतावनी दिए पनि मानेको थिएन ।