गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १० गते । चलचित्र क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यले ‘सिनेम्याटिक एआई : फ्रम स्क्रिप्ट टु स्क्रिन विथ आर्टिफिसियल इन्टेलिजेन्स’ विषयक दुईदिने कार्यशाला सुरु भएको छ । चलचित्र विकास बोर्ड र नेपाल एआई चलचित्र एलायन्स (नाइफा) को सहकार्यमा आयोजित कार्यक्रममा दुई सयभन्दा बढी चलचित्रकर्मीको सहभागिता रहेको छ । कार्यशालामा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले एआईले चलचित्र क्षेत्रमा नयाँ सम्भावना सिर्जना गरेको बताउनुभयो । उहाँले एआईको प्रयोगसँगै मानवीय सिर्जनशीलताको भूमिका अझ महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।
त्यसै गरी नाइफाका अध्यक्ष करुण थापाले एआईले चलचित्र निर्माणलाई सर्वसुलभ बनाएको धारणा व्यक्त गर्नुभयो । उहाँका अनुसार पहिले चलचित्र बनाउन ठुलो बजेट, उपकरण र जनशक्ति आवश्यक पर्ने भए पनि अहिले आइडिया र इन्टरनेटको सहायताले कोठामै बसेर पनि चलचित्र निर्माण सम्भव भएको छ । कार्यशालामा सहभागीलाई आइडियाबाट स्क्रिप्ट, स्क्रिप्टबाट इमेज, इमेजबाट भिडियो र अन्ततः पूर्ण चलचित्र तयार पार्ने प्रक्रियाबारे अभ्यास गराइएको छ । साथै साउन्ड डिजाइन, सम्पादन, कलर करेक्सन तथा भिएफएक्समा एआईको प्रयोगबारे पनि जानकारी दिइएको छ । कार्यक्रममा नाइफाका तर्फबाट करुण थापा, अजय शर्मा, शिव पुरी, मौसम पुरीले दुई दिनसम्म प्रशिक्षण दिनुहुने छ ।