यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), चैत ९ गते । बर्दियाका २७ वटा विद्यालय तीनतारे स्तरमा पुगेका छन् । नेपाल सरकारले २०७४ सालमा ल्याएको विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधिअनुसार ती विद्यालयले मापदण्ड पूरा गरेका हुन् । तीमध्ये २१ विद्यालय तीनतारे घोषणा भइसकेका छन् भने ६ विद्यालय घोषणा हुन बाँकी रहेका छन् ।
विद्यालय तहमा खानेपानी, सरसफाइ र स्वच्छता सुधार गरी शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यविधि लागू गरिएको हो । कार्यविधिअनुसार मापदण्ड पूरा गर्ने विद्यालयलाई तीनतारे स्तरमा वर्गीकरण गरिन्छ ।
बर्दियामा कार्यविधि कार्यान्वयनका लागि पाँच स्थानीय तहका ३३ विद्यालय छनोट गरिएका थिए । तीमध्ये २७ विद्यालय तीनतारे र ६ विद्यालय दुईतारे स्तरमा पुगेका छन् । जिल्लामा हाल २७१ विद्यालय रहेका छन् ।
संघीय सरकारको कार्यविधि कार्यान्वयनका लागि गुलरिया, बारबर्दिया, मधुवन, ठाकुरबाबा नगरपालिका तथा गेरुवा गाउँपालिकामा स्थानीय कार्यविधि निर्माण गरी लागू गरिएको छ । साथै, शौचालय, खानेपानी र सरसफाइ संरचनाको मर्मतसम्भारका लागि कोषको व्यवस्था पनि गरिएको छ ।
बारबर्दिया नगरपालिकाका प्रमुख छविलाल थारूका अनुसार स्थानीय कार्यविधिअनुसार अनुगमन तथा मूल्याङ्कन गरी मापदण्ड पूरा गर्ने विद्यालयलाई तीनतारे घोषणा गरिन्छ । नगरपालिका भित्रका सबै विद्यालयलाई तीनतारे स्तरमा पु¥याउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
तीनतारे स्तर प्राप्त विद्यालयमा विद्यार्थी संख्याअनुसार सुरक्षित खानेपानी र शौचालयको सुविधा, फोहोरमैला व्यवस्थापन, साबुनपानीले हात धुने व्यवस्था, फूलबारी तथा करेसाबारी, दिवा खाजाको व्यवस्था लगायतका सुविधा उपलब्ध हुन्छन् । साथै, सरसफाइ व्यवहार परिवर्तन, मर्मतसम्भार कोष, महिनावारी स्वच्छता सचेतना, आराम कक्ष र इन्सिनेटरसहित शौचालयको व्यवस्था पनि गरिनुपर्छ ।
बर्दियामा कार्यविधि कार्यान्वयनका लागि वाटरएड नेपालको आर्थिक सहयोगमा नेपाल प्रजनन स्वास्थ्य केन्द्र र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको प्राविधिक सहयोगमा बेस संस्थाद्वारा ‘वास गेन्स’ परियोजना सञ्चालन गरिएको थियो । तीन वर्षदेखि सञ्चालनमा रहेको उक्त परियोजनामार्फत खानेपानी, शौचालय तथा सरसफाइ संरचना निर्माणसँगै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बेस बर्दियाका कार्यक्रम संयोजक जगदीश चौधरीले जानकारी दिनुभयो ।
मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाटले परियोजनाले स्थानीय तहलाई धेरै अनुभव दिएको बताउनुभयो । प्राविधिक सहयोग अभावका कारण कार्यविधि पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको अवस्थामा परियोजनाले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ ।
गुलरिया नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत मुकुन्द अर्यालले परियोजनाका उपलब्धिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । तीनतारे विद्यालयको स्तर कायम राख्नु चुनौतीपूर्ण भए पनि त्यसतर्फ नगरपालिकाले ध्यान दिने उहाँले बताउनुभयो ।
वास गेन्स परियोजना सञ्चालन भएका पाँचवटै स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुखहरूको उपस्थितिमा परियोजनाका उपलब्धि सार्वजनिक गर्दै अपनत्व हस्तान्तरण गरिएको छ ।