• ९ चैत २०८२, सोमबार

कहिल्यै सुत्दैन ठमेल

blog

ठमेल पर्यटकीय दृष्टिकोणले आकर्षक गन्तव्य मानिन्छ । विदेशी तथा स्वदेशी पर्यटकको पहिलो रोजाइमा पनि ठमेल छ । नेपाल भ्रमणमा आउने करिब ९० प्रतिशत पर्यटक कुनै न कुनै काम विशेषले ठमेल पुग्ने गर्छन् ।  

ठमेल पर्यटन विकास परिषद्का अनुसार आन्तरिक तथा बाह्य पर्यटकको अत्यधिक चाप हुने भएकाले ठमेल २४ सै घण्टा जागा रहन्छ । सुविधायुक्त होटेल, लज तथा रेस्टुरेन्ट, रात्रिकालीन  मनोरञ्जनलगायत पर्यटनसँग सम्बन्धित विभिन्न व्यवसाय प्रायः ठमेलमै भएकाले पनि स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइमा पर्ने गर्छ । 

उमेर पुगेका महिला तथा पुरुषका लागि रात्रिकालीन मनोरञ्जन अड्डाका रूपमा चर्चित छ ठमेल । त्यसैले भन्ने गरिन्छ ठमेल राति पनि सुत्दैन । 

२४ सै घण्टा जागा रहने ठमेल पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । क्षेत्रफलका आधारमा सानो र साँघुरो भए पनि बन्द, विरोध, आमहड्ताल जस्ता गतिविधिमा पनि ठमेललाई खुला राख्ने व्यवस्था मिलाइएको छ ।

२०८० साल वैशाख १ गतेदेखि २४ सै घण्टाका लागि खुला गरिएको ठमेल काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६, १७, २६ र २७ मा पर्दछ । ठमेल पर्यटन विकास परिषद्का पूर्वउपाध्यक्ष राजुमान डङ्गोल ठमेललाई सुनको टुक्राका रूपमा तुलना गर्छन् । 

यहाँ पर्यटन व्यवसायसँग सम्बन्धित करिब छ हजार पाँच सय व्यापार व्यवसाय सञ्चालनमा छन् । ठमेलका रैथाने डङ्गोल भन्छन्, “नेपालका लागि विदेशी मुद्रा फलाउने मुख्य थलो हो ठमेल ।” 

सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेदेखि जङ्गल सफारी, जलयात्राको व्यवस्थापन, डिपार्टमेन्ट स्टोरदेखि टे«किङ कार्यालय यहाँ रहेका छन् । 

त्यति मात्र होइन रात्रिकालीन मनोरञ्जन डिस्कोथेक, डान्स रेस्टुरेन्ट, पप बार, लाइभ म्युजिक, दोहोरी र गजल बार ठमेलमै रहेका छन् । ट्याटु, स्पा, ज्याकुजीको सुविधा तथा अन्तर्राष्ट्रिय ब्रान्डका सामान यहाँ खरिद गर्न पाइन्छ । 

ट्यान एक्स बारका सञ्चालक नवराज लामिछानेका अनुसार  रात्रिकालीन व्यापार व्यवसायमा आबद्ध कामदार, कर्मचारी र व्यवसायी राति जाग्ने र दिउँसो सुत्ने गर्छन् । बिहान ५ बजे सुत्ने साँझ ५ बजे उठ्ने बानी नै परिसकेको छ उनी भन्छन्, “घाम के हो थाहा छैन । २४ घण्टा खुला राख्दा मनोरञ्जन मात्र होइन धेरै सुविधा प्राप्त भएका छन् ।” 

विगतमा कहिले १२ बजे त कहिले २ बजेसम्म मात्र खोल्न पाउने नियम थियो । अन्य व्यवसाय १० बजेभित्र बन्द गरिसक्नुपर्ने हुन्थ्यो । उनको भनाइमा अहिले आनन्द छ ।

पारिवारिक जमघट तथा साथीभाइबीच रमाइलो गर्न, खाना–खाजा खान, अत्यावश्यक सामान खरिद गर्न मध्यरातमा पनि मानिस ठमेल आउने गर्छन् । यो व्यवस्थाले व्यापार व्यवसाय राम्रो हुनुका साथै रोजगारीको अवसर प्रदान गरेको छ । गुण्डागर्दी नियन्त्रणसँगै सुरक्षा निकायबाट हुने अनावश्यक हैरानी हटेको छ । 

ठमेल क्षेत्रलाई २४ सै घण्टा खुला राख्न आचारसंहिता तथा मापदण्ड २०८० नै लागु गरिएको छ । यो आचारसंहिताले पर्यटन व्यवसायलाई व्यवस्थित र मर्यादित बनाइदिएको छ । 

गोरो छाला, लामो कपाल पालेका, झुत्रो कपडा लगाएका पर्यटक (हिप्पी) ले वसन्तपुरको झोँछे ढाकेपछि विकल्पका रूपमा ठमेल पर्यटकीय स्थलमा विकास भएको इतिहास छ । ठमेलका जानकार डङ्गोल भन्छन्, सन् १९७१ मा काठमाडौँ गेस्ट हाउसको स्थापनापछि ठमेल पर्यटकीय स्थलका रूपमा चिनिन थालेको हो । अहिले ५४ वर्ष भयो यहाँ विदेशी पर्यटक भित्रिन थालेको । 

कुनै बेला साँघुरो नेवार बस्ती थःबहिल नारायणहिटी दरबारनजिकै भएर पनि ओझेलमा थियो । नेपाल भाषाको थःबहिलबाट अपभ्रंस हुँदै जब ठमेल बन्यो त्यसपछि यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा छुट्टै पहिचान बनायो ।

पर्यटन व्यवसायी दावाङ तामाङ भन्छन्, “गर्ल फ्रेन्ड–ब्वाई फ्रेन्ड घुम्ने स्थान त धेरै छन् । अब त ठमेलमा सपरिवार घुम्न आउने र भिन्न स्वादका परिकार खाएर रमाइलो गर्ने हब बनेको छ ।” 

अचेल ठमेल साँझ पर्दै गर्दा झनै सुन्दर देखिने गर्छ । देशका अन्य सहर निदाएपछि ब्युँझिन्छ । त्यसैले ठमेलले रात्रि मनोरञ्जनको मुख्य थलोका रूपमा पहिचान बनाएको छ । यहाँका पर्यटन व्यवसायी भन्ने गर्छन्, “के–रात, के–दिन सदाबहार, ठमेल क्षेत्र पर्यटकका लागि बहार ।” 

–देवबहादुर कुँवर   

–युवामञ्च