• ९ चैत २०८२, सोमबार

सप्तरीमा बेपत्ता बालिकाको अवस्था सार्वजनिक गर्न स्थानीय आन्दोलित

blog

बालिकाको अवस्था सार्वजनिकको माग गर्दै चक्काजाम गर्दै आन्दोलित आफन्त। तस्बिर : सुधा देव

सुधा देव
भारदह (सप्तरी), चैत ९ गते ।
बेपत्ता पारिएको बालिकाको अवस्था सार्वजनिक गर्न स्थानीय बासिन्दा आन्दोलित भएका छन्। बालिकाको खोजी गरेर तत्काल जानकारी सार्वजनिक गर्न माग गर्दै, बेपत्ता बालिकाका परिवार र स्थानीयहरूले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुरुङ्गा नगरपालिका–८ करडबोनामा आइतबार करिब तीन घण्टा चक्काजाम गरेका छन्।

सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुरकी १४ वर्षीया दलित बालिका एक सातादेखि बेपत्ता भएकी थिइन्। सात महिनाकी गर्भवती रहेको भनिएकी बालिकाको खोजी र न्यायको माग गर्दै आफन्तले प्रहरीमा किटानी जाहेरी दिएका थिए, तर प्रहरीको पर्याप्त चासो नपाएको स्थानीयहरूले आरोप लगाएका छन्।

दलित अगुवाहरूको नेतृत्वमा ठूलो संख्यामा स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय कडरबोना अगाडि प्रदर्शन गर्दै बालिकाको अवस्था सार्वजनिक गर्न, दोषीलाई पक्राउ गर्न र निष्पक्ष छानबिन गर्न माग गरेका थिए। सुरुङ्गा नगरपालिका–३ का वडाध्यक्ष किरणकुमार पोखरेलले भने, “कुनै पनि हालतमा दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ।”

मानव अधिकारकर्मीहरूले यो घटनालाई केवल बेपत्ता प्रकरण मात्र नभई नाबालिगमाथि यौन शोषण र सामाजिक अन्यायसँग जोडिएको गम्भीर विषय भएको बताएका छन्। स्थानीय अधिकारकर्मी दिपेन्द्र पासवानले राज्यका निकायले संवेदनशीलता र तीव्रताका साथ अनुसन्धान अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ।

आफन्तका अनुसार बालिका विगत करिब १० वर्षदेखि महेश्वर यादवको घरमा घरेलु कामदारका रूपमा बस्दै आएकी थिइन्। पछिल्लो समय उनी सात महिनाकी गर्भवती भएको खुलेपछि ३० फागुनयता अचानक सम्पर्कविहीन बनाइएका हुन्। परिवारले गोप्य छलफल गरी बालिकालाई अन्यत्र लगेर गर्भपतन गराइएको र लुकाइएको हुन सक्ने आशंका व्यक्त गरेको छ।

सप्तरीका प्रहरी प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिनुभयो, “बालिकालाई उनकी दिदीले लगेको भन्ने प्रारम्भिक सूचना प्राप्त भएको छ। प्रहरी टोली परिचालन गरी खोजी कार्य जारी छ। बालिका फेला परेपछि स्वास्थ्य परीक्षणमार्फत गर्भावस्था पुष्टि गरिने र त्यसपछि यौन शोषण वा जबर्जस्तीका कोणबाट थप अनुसन्धान अघि बढाइनेछ।”