शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अनिल पराजुली
हेटौँडा, चैत ९ गते । मकवानपुरको थाहा नगरपालिका–६, बज्रबाराही बजारमा बिजुलीको तार सर्ट हुँदा आगलागी भएको छ। यस आगलागीमा करिब पाँच लाख रुपियाँ बराबरको क्षति भएको छ।
आइतबार साँझ भएको आगलागीबाट बज्रबाराही लिलाखेलका सूर्यबहादुर बलामीको कपडा सिलाउने पसल (टेलर)मा ठुलो क्षति पुगेको हो। आगोले पसलभित्र रहेका कपडा र सिलाउने मेसिन जलेर नष्ट भएका छन्, जानकारी बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नान्तीराज गुरुङले दिनुभयो।
बिजुलीको तार सर्ट भएर सुरु भएको आगो स्थानीयवासीको सहयोगमा करिब एक घण्टापछि नियन्त्रणमा आएको थियो। घटनास्थलमा अस्थायी प्रहरी पोस्ट बज्रबाराहीबाट प्रहरी सहायक हवलदार मानबहादुर रुम्बा नेतृत्वमा तीन जनाको टोली खटिएको थियो। आगलागीमा मानवीय तथा चौपाया कुनै क्षति नभएको प्रहरीले जनाएको छ।