भक्तिविलास पोखरेल
गाईघाट, चैत ८ गते । उदयपुरको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थानीय युवा अमृत झाको सुरक्षित रिहाइका लागि कूटनीतिक पहल गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई औपचारिक रूपमा आग्रह गरेको छ ।
नगर प्रमुख बसन्त कुमार बस्नेतले चैत ८ मा परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँदै त्रियुगा नगरपालिका–११ गाईघाट निवासी ३३ वर्षीय मरीन इन्जिनियर अमृत झा इरानी रिभोलुसनरी गार्डको नियन्त्रणमा परेको भन्ने सूचनाले परिवार, स्थानीय समुदाय, सिंगो नगरपालिका र देशनै चिन्तित बनेको उल्लेख गर्दै उहाँको तत्काल सुरक्षित रिहाईका लागि कुटनैतिक पहल गरिदिन अनुरोध गर्नु भएको हो ।
नगर प्रमुख बस्नेतले झा दुबईबाट पानी जहाजमा इन्धन बोकेर इरानतिर फर्किने क्रममा पर्सियन गल्फस्थित होर्मुज जलडमरूमध्य नजिकै नियन्त्रणमा परेको भन्ने जानकारी प्राप्त भएको बताउनुभएको छ । त्यसयता उहाँको अवस्था र सुरक्षाबारे स्पष्ट सूचना नआएकोले परिवार तथा स्थानीय समुदायमा ठूलो चिन्ता बढेको समेत नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले परराष्ट्र मन्त्रालयमार्फत इरान सरकारसँग आवश्यक कूटनीतिक पहल गरी झाको सुरक्षा सुनिश्चित गर्न तथा यथाशीघ्र रिहाइका लागि पहल गर्न अनुरोध गरेको छ । यस विषयमा समयमै पहल भए परिवार र समुदायलाई ठूलो राहत मिल्ने विश्वास व्यक्त गरिएको समेत नगरपालिकाले जनाएको छ ।