• ९ चैत २०८२, सोमबार

चोरी पैठारीको सामान भन्सार बुझाइयो

blog

भन्सार कार्यालयमा बुझाएको चोरी पैठारीका सामान । तस्बिर : सप्तरी प्रहरी

विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत ९ गते ।
सप्तरी प्रहरीले चोरी पैठारीका सामान नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको छ । भारतबाट भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको एक लाख ८२ हजार नौ सय बराबरको किराना सामान र मोटरसाइकल प्रहरीले भन्सारमा बुझाएको हो ।

शनिबार हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित पूर्व पश्चिम राजमार्ग सडक खण्डस्थितमा ईलाका प्रहरी कार्यालय भारदह सप्तरीबाट खटिएको प्रहरी टोलीले गस्ती तथा चेक जाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलेर चोरी पैठारी गरी ल्याउँदै गरेको उक्त परिमाणको किराना सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।

नम्बर प्लेट नभएको कालो रङको मोटरसाइकलमा बोरा लोड गरी ल्याइरहेको अवस्थामा प्रहरी टोलीलाई देखेर मोटरसाइकलमा लोड गरिएको सामान सोही स्थानमा छाडी मानिस फरार भएको थियो ।

मोटरसाइकलमा लोड गरेको बोरा खोली चेकजाँच गर्दा एक लाख ८२ हजार नौ सय बराबरको सामान फेला परेकोले आवश्यक कारवाहीका लागि आइतबार भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।