रवीन्द्र उप्रेती
बर्दिबास, चैत १० गते । जलेश्वर कारागारबाट फरार भएका एक भारतीय कैदीलाई प्रहरीले सीमा क्षेत्रबाट पक्राउ गरेको छ । गत भदौ २४ गते कारागार तोडफोड गरी फरार भएका भारतीय नागरिक सब्दुल नदाफ पक्राउ परेका हुन् ।
भारतको बिहार राज्यस्थित सीतामढी जिल्ला, बेला थानाअन्तर्गत बेताहा गाउँका नदाफलाई सीमावर्ती सम्सी गाउँपालिका नजिकको क्षेत्रबाट सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जलेश्वर कारागार प्रमुख अशोककुमार क्षेत्रीका अनुसार नदाफ चोरी तथा डाँका मुद्दामा महोत्तरी जिल्ला अदालतको आदेशले २०८१ वैशाख ३ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए । गत भदौ २४ गते देशमा उत्पन्न असहज परिस्थितिको मौका छोपी उनीसहितका कैदीहरू जेल ब्रेक गरी फरार भएका थिए ।
कारागार प्रशासनका अनुसार उक्त घटनाका दिन ४१ भारतीयसहित ५७३ जना कैदी फरार भएका थिए । प्रशासनको आह्वानपछि हालसम्म १० भारतीयसहित ३०९ जना कैदी पुनः सम्पर्कमा आएका छन् । जसमध्ये धेरैजसो स्वेच्छाले फर्किएका छन् भने केहीलाई पक्राउ गरेर ल्याइएको हो ।
जलेश्वर कारागारका सूचना अधिकारीका अनुसार हाल पनि ३१ भारतीय र २२३ नेपाली गरी कुल २५४ जना कैदी फरार रहेका छन् । उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक हेरम्ब शर्माले फरार कैदीहरूको विवरण सबै प्रहरी इकाइहरूमा पठाइएको र खोजी कार्यलाई तीव्रता दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार फरार कैदीलाई लुकाउने, आश्रय दिने वा सीमा पार गराउन सहयोग गर्ने व्यक्तिलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइनेछ ।
नेपाल–भारत सीमा क्षेत्रमा लुकेर बसेका कैदीहरूको खोजीका लागि भारतीय समकक्षीसँग समन्वय बढाइएको छ । सोही क्रममा नदाफलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।