• १० चैत २०८२, मङ्गलबार

सल्यानमा ६ वर्षमा १ हजार ३६० जना क्षयरोगी, ४६ जनाको मृत्यु

blog

सल्यानको छत्रेश्वरी गाउँपालिकामा क्षयरोग पहिचानका लागि सञ्चालन भएको स्वास्थ्य शिविर। तस्बिर : शंकर केसी

शंकर केसी
सल्यान, चैत १० गते ।
सल्यानमा विगत छ वर्षमा एक हजार ३६० जना क्षयरोगका बिरामी पहिचान भएका छन् भने आव २०७७/०७८ देखि चालु आर्थिक वर्ष २०८२/०८३ सम्म ४६ जनाको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ।

सूचना अधिकारी तथा क्षयरोग फोकल पर्सन थलराज डिसीका अनुसार आव २०७७/०७८ मा १७६, २०७८/०७९ मा २६१, २०७९/०८० मा २४६, २०८०/०८१ मा २६३, र २०८१/०८२ मा २७१ जना बिरामी फेला परेका थिए। चालु आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म १४३ जना बिरामी पहिचान भइसकेका छन्।

मृत्यु दरको विवरणअनुसार २०७७/०७८ मा पाँच, २०७८/०७९ मा सात, २०७९/०८० मा नौ, २०८०/०८१ मा १३, २०८१/०८२ मा नौ र चालु वर्षमा तीन जनाको ज्यान गएको छ।

सल्यानमा नयाँ बिरामीको संख्या घट्न सकेको छैन। जिल्ला अस्पताल सल्यानका प्रमुख डा। अर्जुन कुमार बुढाका अनुसार यो अवस्थाले संक्रमण बढेको मात्र होइन, परीक्षण र पहिचान प्रणाली सुदृढ हुँदै गएको सकारात्मक पक्ष पनि देखाउँछ। विगतमा परीक्षणको पहुँच सीमित भएकाले धेरै संक्रमित पहिचान हुन नसक्दा अहिले स्थानीय तहदेखि केन्द्रसम्मको समन्वय, प्रविधि र स्वास्थ्य संस्थाको विस्तारसँगै परीक्षण दर बढेको छ।

डा. बुढाले बताएअनुसार पहिले खकार परीक्षण सदरमुकाममै सीमित थियो भने अहिले विभिन्न स्वास्थ्य संस्थाबाट नमुना संकलन गरी परीक्षणका लागि पठाउने व्यवस्था गरिएको छ। सक्रिय खोजी अभियान, स्क्रीनिङ शिविर र एआई प्रविधियुक्त एक्स–रेको प्रयोगले ग्रामीण क्षेत्रका सम्भावित बिरामी पहिचानमा सहयोग पुगेको छ।

जिल्लाभरको वितरण
पछिल्लो तीन वर्ष ९२०८०/०८१ देखि २०८२/०८३० को तथ्यांकअनुसार सबैभन्दा धेरै बिरामी छत्रेश्वरी गाउँपालिकामा १२३ जना फेला परेका छन्। त्यसपछि शारदा नगरपालिकामा ८७, कपुरकोट गाउँपालिकामा ८३, त्रिवेणी गाउँपालिकामा ७९, कालिमाटी ७०, बनगाड कुपिन्डे नगरपालिकामा ७३, बागचोर नगरपालिकामा ६२, दार्मा गाउँपालिकामा ४२, सिद्धकुमार गाउँपालिकामा ३६ र कुमाख गाउँपालिकामा ३२ जना बिरामी फेला परेका छन्।

फोकल पर्सन थलराज डिसीका अनुसार जिल्लामा उपचार प्रभावकारी छ। गत आर्थिक वर्षमा उपचार सफलता दर ९४ प्रतिशत पुगेको छ। जिल्लाभर ५८ वटा डट्स केन्द्रमार्फत बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराइरहेको छ।

निवारक उपाय
क्षयरोग मुख्यतः श्वासप्रश्वास मार्फत सर्ने भएकाले लगातार दुई हप्ताभन्दा बढी खोकी लागेमा तुरुन्त परीक्षण गराउन, संक्रमितसँग सम्पर्क घटाउन, भीडभाडमा सतर्क रहन, धूम्रपान, अत्यधिक मदिरा सेवन, कुपोषण र कमजोर प्रतिरक्षा प्रणालीबाट जोगिन चिकित्सकहरूले सुझाव दिनुभएको छ।

मंगलबार विश्व क्षयरोग दिवसको अवसरमा जिल्लाभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै छन्। स्वास्थ्य सेवा कार्यालय, स्थानीय पालिका र वडास्तरमा जनचेतना अभिवृद्धि, परीक्षण प्रोत्साहन र रोग नियन्त्रणका कार्यक्रमहरू सञ्चालन हुनेछन्।

विशेषज्ञहरूका अनुसार गरिबी, कुपोषण, भीडभाडयुक्त बसोबास, स्वास्थ्य सेवामा सीमित पहुँच र ढिलो परीक्षणले क्षयरोग नियन्त्रण चुनौतीपूर्ण बनाएको छ। त्यसैले उपचारसँगै सक्रिय खोजी, जनचेतना र समुदायस्तरीय सहभागिता बढाउन आवश्यक देखिएको छ।