जनार्जन खत्री
सर्लाही, चैत १० गते । लामो समयदेखि समाजसेवामा क्रियाशील नरेन्द्र साह कलवारको प्रतिनिधि सभा सदस्य बन्ने सपना तेस्रो पटकको प्रयासमा पूरा भएको छ । २०७९ सालको निर्वाचनमा झिनो मतान्तरले पराजित र २०७४ सालमा पनि प्रतिस्पर्धात्मक मत प्राप्त गरेका साह फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा भने निर्वाचित हुनुभएको हो ।
नेपाली राजनीतिका चर्चित व्यक्ति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार नारायणकाजी श्रेष्ठलाई भारी मतान्तरले पराजित गर्दै सर्लाही–३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको हो । कलवारले नेकपाका श्रेष्ठलाई ३३ हजार ५५२ मतले पराजित गर्दै संसदीय यात्रा तय गर्नुभएको हो । कलवारले ४६ हजार ८९० मत प्राप्त गरी निर्वाचित हुनुभयो भने श्रेष्ठले १३ हजार ३३८ मत प्राप्त गर्नुभयो ।
२०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी एमालेका हरिप्रसाद उप्रेती ३२ हजार ९३८ मत प्राप्त गरी निर्वाचित हुँदा तत्कालीन नेकपा माओवादी केन्द्रमा रहेका कलवारले ३२ हजार १६८ मत प्राप्त गर्नुभएको थियो । २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि साहले स्वतन्त्र उम्मेदवार (गुलाब चिह्न) सहित निर्वाचनमा होमिदा १२ हजारभन्दा बढी मत प्राप्त गर्नुभएको थियो ।
प्रतिनिधि सभा सदस्य बनेका पर्यटन व्यवसायी कलवारले सर्लाही–३ मा एक दशकभन्दा बढी समयदेखि विभिन्न सामाजिक सेवामा काम गर्दै आइरहनुभएको छ । यो पटक नेपाली कम्युनिस्ट पार्टीले शीर्ष नेता श्रेष्ठलाई टिकट दिएपछि कलवार उक्त पार्टी परित्याग गरी रास्वपामा प्रवेश गरेर टिकट लिनुभएको थियो ।
अन्तिममा पार्टीकै पूर्वसहकर्मी श्रेष्ठलाई पराजित गर्दै साह तेस्रो प्रयासमा सांसद बन्न सफल हुनुभएको हो । साहले कोही कसैमाथि विभेद नगरी सबैलाई समान व्यवहार गरेर अघि बढ्ने बताउनुभएको छ । आफू निर्वाचनमा रास्वपाको उम्मेदवार भए पनि अब सर्लाहीको निर्वाचन क्षेत्र नं. ३ का सबै नागरिक र मतदाताको साझा व्यक्तिका रूपमा काम गर्ने उहाँले बताउनुभएको छ । “म कसैमाथि विभेद नगरी सबैलाई समान व्यवहार गरेर आफ्नो क्षेत्रको विकासमा लाग्छु ।” नवनिर्वाचित प्रतिनिधि सभा सदस्य कलवारले भन्नुभयो, “यहाँका नागरिकको समस्या र आवश्यकता पूरा हुने गरी काम गर्नु मेरो जिम्मेवारी हुन्छ ।”
आफू भारी मतान्तरले निर्वाचित हुँदा जनताको मनमा बसेको रैछु भन्ने भान भएको कलवारको भनाइ छ । मतदाताको विश्वास कायम गर्दै राम्रो काम गर्ने उहाँले बताउनुभयो ।
बोल्न र भाषण गर्न खासै नजान्ने आफूले काम गरेर देखाउने साहको प्रतिबद्धता छ । आफू यसअघि चुनावमा बारम्बार पराजित हुँदा पनि नागरिकको सेवा गरेकाले अब झन् प्रतिनिधि भएपछि सेवालाई थप प्रभावकारी बनाउने उहाँले बताउनुभयो । उहाँले निर्वाचनका व्रmममा मतदाताले स्थानीय समस्याबारे आफूलाई अवगत गराएको उल्लेख गर्दै समस्या समाधानका लागि सदनमा खुलेर अवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले परिवर्तनको पक्षमा जनताले मतदान गरेको भन्दै जनताको जनजीविकासँग जोडिएका विषयलाई सरकारले प्राथमिकतामा राख्ने उहाँको भनाइ छ ।