• १० चैत २०८२, मङ्गलबार

मादल बजाउने सीप सिक्दै रामरेखाका महिला

blog

बागलुङ नगरपालिका१ रामरेखाका महिला दिदीबहिनी मादल बजाउन सिक्नुहुँदै । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट) चैत १० गते ।
बागलुङ नगरपालिका –१ रामरेखाका महिलाहरु मादल बजाउने तालिम लिन थाल्नुभएको छ । वडा कार्यालयले आफ्नो वडाभित्र रहेको ४० जना महिलालाई ७ दिने निःशुल्क तालिमको आयोजना गरेको हो ।

वडाले टोल विकास समितिबाट, महिला स्वयंसेविका र आमा समुहहरुको सहभागी  बनाएर तालिम दिइएको वडाध्यक्ष जय बहादुर केसिले  बताउनुभयो । चैत ४ गतेदेखि सुरु भएको बाद्यवादन तालिम चैत १० गतेसम्म चल्ने बताइएको छ ।

सीप सिकेपछि कुनै बेला काम लाग्ला भनेर तालिममा सहभागी भएको स्थानीय माया अधिकारीले बताउनुभयो । विवाह, ब्रतबन्ध, रत्यौली, भजनकृतनमा काम लाग्छ भनेर तालिम लिएको उहाँको भनाइ छ ।

प्रशिक्षक शन्दिप श्रीसले महिलाहरु तल्लिन र अनुशासित भइ मादल बजाउन सिकिरहेको बताउनुभयो । ७ दिनको तालिमपछि भजन र रत्यौलीमा मादल बजाउन अब पुरुषहरुलाई खोज्न नपर्ने उहाँको भनाइ छ । महिलाहरु घरायसी काम र सामाजिक सञ्जालमा मात्र व्यस्त हुने भएकाले उनीहरुलाई पनि सक्षम बनाउन यो तालिम फलदायी हुने उहाँको विश्वास छ ।

आर्थिक वर्ष २०८२/८३ मा ८० हजार रुपियाँ बजेटबाट तालिम आयोजना गरेको अध्यक्ष केसिले बताउनुभयो । वडा कार्यालयले सबै महिला दिदिबहिनीहरुलाई  मादलको  व्यवस्थापन गरेर तालिम सञ्चालन गरिएको र हरेक मन्दिर र आमा समूहलाई हस्तान्तरण मादल हस्तान्तरण गरिसकेको बताइएको छ ।

सामाजिक कार्यक्रम गर्दा मादल भए पनि बजाउने मान्छेको अभाव हुने गरेकाले महिलालाई दक्ष बनाउन तालिम दिइएको वडा सदस्य शान्ति बोहराले बताउनुभयो । गत वर्ष भाषण कला लगाएतका सिपयुक्त तालिम दिइएको थियो । यस खालको मादल बजाउने तालिम फेरि थप गर्ने  महिला दिदिबहिनीहरुको माग अझै बढेकाले आगामी वर्षमा पनि बजेट व्यवस्थापन गरेर सहभागी संख्या पनि थप गरेर तालिम गराउने योजनामा रहेको सदस्य बोहराले बताउनुभयो।