• १० चैत २०८२, मङ्गलबार

लमही नगरपालिकामा सुशासन र पारदर्शिताः राजस्व वृद्धि, सेवामा आधुनिकीकरण

blog

दिवाकर पोख्रेल
देउखुरी, चैत १० गते ।
दाङको लमही नगरपालिकाले सुशासन, पारदर्शिता र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राख्दै कार्यशैलीमा उल्लेखनीय परिवर्तन थालेको छ। नगरपालिकाले गत पुस ५ गते लामो समयपछि सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरी सेवाग्राहीका गुनासा, सुझाव र अनुभव संकलन गरेको थियो। कार्यक्रममा उठेका विषयलाई कार्यान्वयनमा लैजाने प्रयासस्वरूप सेवा प्रवाहमा सुधार गरिएको नगरपालिकाले जनाएको छ।

सार्वजनिक सुनुवाइमा लमही–५ निवासी शशिराम नेपालीले राजस्व संकलन पूर्ण रूपमा डिजिटल माध्यमबाट, विशेषगरी क्यूआर प्रणालीमार्फत गर्नुपर्ने सुझाव दिनुभएको थियो। उहाँले हालै नगरपालिका पुगेर क्यूआर कोडमार्फत राजस्व भुक्तानी गरेपछि आफ्नो सुझाव कार्यान्वयन भएको अनुभव सुनाउनुभयो।

नगरपालिकाले सेवाग्राहीका गुनासा र सुझावलाई सम्बोधन गर्दै सेवा प्रवाहलाई सहज बनाउनेतर्फ सक्रियता देखाएको छ। प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीका अनुसार सेवाग्राहीको काम नहुने अवस्थाको अभिलेख राखी समस्या पहिचान र समाधान गर्ने अभ्यास सुरु गरिएको छ।

उहाँले भन्नुभयो, “हामी सेवा दिनका लागि बसेका हौँ। सबै शाखाबाट छिटोछरितो सेवा दिन प्रयासरत छौँ। नीतिगत समस्या भएका विषयमा कार्यपालिका बैठकबाट समाधान खोज्ने गरिएको छ।”

नगरपालिकाले पारदर्शिता अभिवृद्धिका लागि कार्यपालिकाका निर्णयहरू वेबसाइट र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने व्यवस्था गरेको छ। साथै, ‘भोलिको काम आजै र आजको काम अहिल्यै’ भन्ने अवधारणाअनुसार कर्मचारी परिचालन गरिएको छ।

प्रविधिको प्रयोग बढाउँदै क्यूआर कोडमार्फत सेवा भुक्तानी प्रणाली लागू गरिएको छ, जसले सेवा प्रक्रियालाई सहज र पारदर्शी बनाएको छ।

यसका सकारात्मक प्रभाव राजस्व संकलनमा समेत देखिएको छ। आर्थिक वर्ष २०८१/०८२ को चैत ९ गतेसम्म करिब २ करोड १८ लाख रुपियाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्ष २०८२/०८३ को सोही अवधिमा ४ करोड ८८ लाख ३५ हजार ३ सय ९८ रुपियाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो।

राजस्व संकलनलाई प्रभावकारी बनाउन उद्योग वाणिज्य संघ र लमही चेम्बर अफ कमर्सको सहकार्यमा विभिन्न वडामा घुम्ती शिविर सञ्चालन गरिएको थियो।

भौतिक पूर्वाधारतर्फ ‘लमही नगर निर्माण महाअभियान’अन्तर्गत नाली सरसफाइ, सडक मर्मत तथा दुर्घटना न्यूनीकरणका लागि जेब्रा क्रसिङ निर्माण गरिएको छ।

सामाजिक क्षेत्रमा पनि नगरपालिकाले विशेष पहल गरेको छ। मिर्गौला र सिकलसेल एनेमियाका बिरामीलाई रगत चढाउँदा लाग्ने खर्च नगरपालिकाले व्यहोर्ने निर्णय गरेको छ। साथै, लामो समयदेखि रोकिएको ‘मेयर कप’ खेलकुद प्रतियोगिता पुनः सञ्चालन गर्ने तयारी गरिएको छ।

नगर प्रमुख जोगराज चौधरीले नागरिकका सुझावलाई विकासको मार्गदर्शक मान्दै सीमित स्रोतको अधिकतम उपयोग गरेर लमहीलाई नमुना नगर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।