विजयकुमार साह
ढल्केबर, चैत १० गते। आगामी चैत १९ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मधेश प्रदेशबाट ८७ हजार ५९१ जना विद्यार्थी सहभागी हुने भएका छन् ।
शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका अनुसार परीक्षाका लागि प्रदेशभर २९९ वटा परीक्षा केन्द्र तोकिएको छ भने एक हजार ३१६ विद्यालयका विद्यार्थी यसमा सहभागी हुने छन् ।
निर्देशनालयका अनुसार परीक्षालाई व्यवस्थित बनाउन २९९ जना केन्द्राध्यक्ष, ४३३ जना सहायक केन्द्राध्यक्ष, चार हजार २३५ जना निरीक्षक, ७३४ जना परीक्षा सहायक तथा एक हजार ६०३ जना कार्यालय सहयोगी खटाइने छन् ।
त्यस्तै, सुरक्षाको व्यवस्था सुदृढ बनाउन चार हजार ४८५ जना सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ । मधेश प्रदेशका आठ जिल्लामध्ये धनुषाबाट सबैभन्दा बढी विद्यार्थी एसइईमा सहभागी हुने छन् ।
यहाँका २०३ विद्यालयका १३ हजार २६२ विद्यार्थी परीक्षामा सहभागी हुने छन् । सबैभन्दा कम विद्यार्थी सप्तरीबाट रहेका छन् । सप्तरीबाट १६२ विद्यालयका नौ हजार २७६ विद्यार्थी परीक्षामा बस्ने छन् ।
त्यस्तै, सिराहाबाट ११ हजार ३८, महोत्तरीबाट ११ हजार ३५१, सर्लाहीबाट ११ हजार ३७१, रौतहटबाट नौ हजार ७७७, बाराबाट १० हजार ८१३ र पर्साबाट १० हजार ७०३ विद्यार्थी सहभागी हुने निर्देशनालयले जनाएको छ ।
निर्देशनालयको तथ्याङ्क अनुसार अघिल्लो एसइई परीक्षाको तुलनामा यसवर्ष एक हजार २६७ विद्यार्थी कम छन्। अघिल्लो पटक ८८ हजार ८५८ विद्यार्थी सहभागी थिए ।
शिक्षा विकास निर्देशनालय जनकपुरका निर्देशक महेन्द्र महतोले परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
उहाँले परीक्षालाई मर्यादित, अनुशासित र निष्पक्ष रूपमा सम्पन्न गराउन आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समितिमार्फत निरीक्षण तथा अनुगमन गरिने जानकारी दिनुभयो ।
निर्देशक महताले मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालय, शिक्षा विकास निर्देशनालय, शिक्षा तालिम केन्द्रलगायतका निकायको समन्वयमा प्रदेशस्तरीय अनुगमन टोली गठन गरी परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाइने तयारी गरिएको बताउनुभयो ।