• १० चैत २०८२, मङ्गलबार

प्रहरीद्वारा कपिलवस्तुमा अवैध काठ बरामद

blog

कपिलवस्तु प्रहरीले बरामद गरेको काठ । तस्बिर : सौजन्य कपिलवस्तु प्रहरी ।

नारद कोहार

तौलिहवा(कपिलवस्तु), चैत्र १० गते । कपिलवस्तु प्रहरीले अवैध खैर जातको काठ बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय गणेशपुर र प्रहरी चौकी पत्थरदेहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले विजयनगर गाउँपालिका-३, उदयपुरस्थित भित्री सडक खण्डबाट बेवारिसे अवस्थामा रहेको काठ बरामद गरेको हो ।

प्रहरीका अनुसार प्रहरी चौकी पत्थरदेहियाबाट करिब दुई किलोमिटर पश्चिम दक्षिणतर्फ सडक छेउमा बेवारिसे अवस्थामा रहेको खैर जातको सानो ठुलो गरी सय गोलिया काठ फेला परेको थियो ।

उक्त काठ करिब २५ क्विन्टल तौलको रहेको र अन्दाजी मूल्य दुई लाख रुपियाँ बराबरको रहेको प्रहरीले जनाएको छ । बरामद गरिएको काठ आवश्यक कारबाहीका लागि शिवगढी सब वन डिभिजन कार्यालय कपिलवस्तुमा पठाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले अवैध रूपमा सङ्कलन गरी राखिएको काठ फेला पारेर बरामद गरिएको बताउनुभयो ।

उहाँले अवैध काठ कटानी तथा ओसारपसारमा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको बताउनुभयो ।