काठमाडौँ, चैत १० गते । नेपाल पुलिस क्लब र बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सफलता हात पारेका छन् ।
मुलपानी मैदानमा मङ्गलबार भएको खेलमा पुलिसले नेपाल एपिएफ क्लबलाई एक सय ८५ रनले हरायो । यस्तै अर्को खेलमा बागमतीले गण्डकी प्रदेशलाई एक सय ७० रनले पराजित गर्यो ।
जित निकाल्ने क्रममा पुलिसले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा तीन सय ५५ रनको कीर्तिमानी योगफल बनाएको हो । यसअघि सन् २०१८ को दोस्रो संस्करणमा एपिएफले प्रदेश–२ विरुद्ध तीन सय ३९ रन बनाएको थियो ।
जितका लागि तीन सय ५६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको एपिएफ ४४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ७० रनमा समेटियो । एपिएफका लागि नन्दन यादवले सर्वाधिकअविजित ४४ रन बनाउनुभयो ।
यस्तै कमल ऐरीले ३५, सन्दीप जोराले २४, पूर्ण विकेले २०, आशिफ शेखले १८ र कप्तान रोहित पौडेलले ११ रन बनाउनुभयो । बलिङमा पुलिसका ललित राजवंशीले तीन विकेट लिनुभयो । दिनेश खरेल, करण केसी र रसिद खानले दुई दुई तथा सागर ढकालले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा तीन सय ५५ रन बनाएको थियो । पुलिसका लागि शंकर रानाले सर्वाधिक ६१ रन बनाउनुभयो ।
यस्तै ओपनर दिनेश खरेलले ६०, आरिफ शेखले ५० तथा रशिद खानले ४४, दिलसाद अलीले अविजित ५१ रन बनाउनुभयो । बलिङमा एपिएफका कमल सिंह ऐरी र अमरसिंह राउटेलाले दुई दुई तथा कप्तान रोहित पौडेल, नन्दन यादव र युवराज खत्रीले एक एक विकेट लिनुभयो ।
यस्तै अर्को खेलमा जितका लागि दुई सय ९५ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश ३१.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय २४ रनमा समेटिएको थियो ।
गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ७४ र सुवास भण्डारीले २९ रन बनाउनुभयो । अन्य ब्याट्सम्यान चल्न सकेनन् । गण्डकीलाई कमजोर बनाउन बलिङमा बागमतीका रिजन ढकालले तीन विकेट लिनुभयो । कप्तान सन्दीप लामिछाने र इशान पाण्डेले दुई दुई तथा दयानन्द मण्डल र सुवास खत्रीले एक एक विकेट झार्नुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ९४ रन बनाएको थियो । बागमतीका लागि उपकप्तान इशान पाण्डेले सर्वाधिक ७१ रन बनाउनुभयो ।
यस्तै ओपनर आशुतोष घिरैयाले ५९, शुभ कंसकारले ४४, उत्तम थापामगरले ३०, विवृक रानामगरले २७, कप्तान सन्दीप लामिछानेले अविजित २६ र शिभम तिवारीले १८ रन बनाउनुभयो । बलिङमा गण्डकीका कमल परियारले दुई तथा विपिन खत्री, अङ्कित न्यौपाने, सिव्रिन श्रेष्ठ र सुवास भण्डारीले एक एक विकेट लिनुभयो ।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र नेपाल एपिएफ क्लबसहित सात सात प्रदेश गरी १० टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेता टोलीले पाँच लाख रुपियाँ पुरस्कार पाउने छन् ।