विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत १० गते । विगत केही दिन यता राजविराज नगरपालिकामा लामखुट्टेको प्रकोप बढेपनि त्यसको विरुद्ध विषादी छर्किन समस्या भएको छ । मानव स्वास्थ्य र स्वास्थ्य मन्त्रालयको निर्दैशिकाको व्यवस्था अनुसार लामखुट्टे विरुद्धको विषादी छर्किन समस्या भएको हो ।
नगरक्षेत्रमा लामखुट्टेको प्रकोप बढ्दै गएपछि सोको नियन्त्रणका लागि विषादी छर्किनुपर्ने जनस्तरबाट गुनासो र दवाव बढ्न थालेपछि राजविराज नगरपालिकाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी यसबारे स्पष्ट पारेका छन् ।
पत्रकार सम्मेलनमा कार्यबाहक नगरपं्रमुख इसरत परवीनले लामखुट्टे विरुद्धको औषधी छर्किन नमिल्ने बताउनुभयो । उहाँले लामखुट्टे विरुद्धको विषादी छर्किन जिल्ला स्वास्थ्य कार्यालय मार्फत स्वास्थ्य मन्त्रालय मातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पत्राचार गरेको भएपनि कुनै महामारी बगैर त्यस्तो विषादी छर्न नमिल्ने भनि जवाफ आएकोले औषधी छर्किन नमिल्ने स्पष्ट पार्नुभयो ।
यस्ता विषादीले मानव स्वास्थ्य तथा वातावरणीय अवस्थामा समेत असर पार्ने भएकाले अन्य विकल्पमा जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो ।
लामखुट्टे प्रकोप नियन्त्रणका लागि मुख्य सडक, गल्ली तथा नालाहरुको सरसफाईमा विशेष ध्यान दिईने तथा जथाभावी फोहर फाल्नेलाई जरीवानाको दायरामा ल्याउने उहाँले उल्लेख गर्नुभयो ।
यस्तै पत्रकार सम्मेलनमा नगर स्वास्थ्य शाखाका प्रमुख कामेश्वर यादवले कालाजार, मलेरिया र औलो जस्ता रोगको महामारी बिना यस्ता विषादी छर्न जनस्वास्थ्य तथा मन्त्रालयको निर्देशिका विपरित हुने भएकाले लामखुट्टेको प्रजनन स्थललाई नै सरसफाईको माध्यमले नष्ट गरिनु उपयुक्त उपाय भएको बताउनुभयो । उहाँले फोहोर तथा पानी जमेको स्थानहरुमा सरसफाई गरेरै लामखुट्टेको प्रकोपलाई नियन्त्रण गर्न सकिने हुँदा त्यतातिर ध्यानाकर्षण गराउनुभयो ।
जेनजी आन्दोलनका क्रममा सरसफाईमा प्रयोग हुने सबै सबारी साधन जलेर नष्ट हुँदा अहिले भाडामा लिएर भएपनि सरसफाईमा दैनिक १५ वटा ट्याक्टर प्रयोग गरिएको जानकारी दिदै निकट् भविष्यमै थप सवारी साधन प्रयोग गर्ने गरी खरिद प्रक्रियाको तयारी थालिएको नगरप्रमुख परवीनले जानकारी दिनुभयो ।
नगरपालिकाका योजना अधिकृत मनोज यादवले नगरको फोहोर मैला व्यवस्थापन तथा लामखुट्टेको प्रकोप नियन्त्रणका लागि सरसफाई नै मुख्य उपाय भएको भन्दै यसका लागि टोल सुधार र टोल विकास समिति गठन गरी अगाडी बढ्ने बताउनुभयो ।