• १० चैत २०८२, मङ्गलबार

ग्यासको विकल्पमा विद्युतीय चुल्हो रोज्दै उपभोक्ता, विराटनगरमा चार गुण बढी व्यापार

blog

विराटनगरको एक इलेक्ट्रोनिक्स पसलमा विद्युतीय चुल्हो खरिद गर्न पुगेका सर्वसाधारणहरु । तस्बिरः शशिधर पराजुली

शशिधर पराजुली 

विराटनगर, चैत १० गते । विराटनगर लगायतका सहरी क्षेत्रमा यतिबेला विद्युतीय चुल्हो (इन्डक्सन र इन्फ्रारेड) को व्यापारमा उल्लेख्य वृद्धि भएको छ । भान्सामा प्रयोग हुने एलपी ग्यासको आपूर्तिमा समस्या हुन सक्ने आशंका र स्वदेशी बिजुलीको बढ्दो उपलब्धताका कारण उपभोक्ताहरू धमाधम विद्युतीय चुल्हो खरिद गर्न थालेका हुन् ।

विराटनगरको मुख्य बजारस्थित अरुण इलेक्ट्रोनिक्समा मात्रै अघिल्लो महिनाको तुलनामा विद्युतीय चुल्हो किन्न आउने ग्राहकको संख्या झण्डै चार गुणाले बढेको छ । सञ्चालक अरुण अग्रवालका अनुसार पहिले दैनिक १–२ वटा मात्र चुल्हो बिक्री हुने गरेकोमा अहिले दैनिक १० वटासम्म बिक्री भइरहेको छ । “बजारमा अहिले इन्डक्सन र इन्फ्रारेड चुल्होको माग अत्यधिक छ,” अग्रवाल भन्नुहुन्छ, “अन्य पसलहरूको अवस्था पनि उस्तै छ, ग्राहकहरू ग्यासको भरपर्दो विकल्प खोज्दै आइरहनुभएको छ ।”

नेपाल सरकारले आयातित इन्धनको उपभोग घटाउन र स्वदेशी विद्युत खपत बढाउन विगतदेखि नै विद्युतीय चुल्होको प्रयोगमा जोड दिँदै आएको छ । तर, उपभोक्ताहरूमा पर्याप्त सचेतना नहुँदा विगतमा यसको बिक्री तुलनात्मक रूपमा कम थियो । पछिल्लो समय कुनै पनि बेला इन्धन अभाव हुन सक्ने त्रासले गर्दा सर्वसाधारणहरू विद्युतीय विकल्पतर्फ आकर्षित भएको व्यवसायीहरूको अनुभव छ ।

विद्युतीय चुल्हो खरिद गर्न पुग्नुभएका विराटनगर–१२ का आयुष थापा भन्नुहुन्छ, “बजारमा ग्यास अभाव हुन थालेको हल्ला सुनिएको छ, आधा सिलिण्डर मात्र पाइने अवस्था देखिन थाल्यो । लाइन बसेर दुःख पाउनुभन्दा विद्युतीय चुल्हो किन्नु नै ढुक्क हुने भयो । कम्तीमा बिजुली त आफ्नै देशको उत्पादन हो, पकाएर खान त पाइन्छ ।” यस्तै, लामो समयदेखि इन्डक्सन प्रयोग गरिरहनुभएकी विराटनगर–४ की शर्मिला दाहालले विद्युतीय चुल्हो प्रयोग गर्दा खर्च कम हुने र ग्यास अभाव हुँदा पनि आत्तिनु नपर्ने अनुभव सुनाउनुभयो।

भन्सार विभागको तथ्याङ्कले पनि विद्युतीय चुल्होप्रतिको आकर्षण बढेको देखाएको छ । चालू आर्थिक वर्षको फागुन महिनासम्ममा मात्रै ३० करोड ४१ लाख १२ हजार रुपियाँ बराबरका १ लाख ४७ हजार ८६४ थान विद्युतीय चुल्हो नेपाल भित्रिएका छन् । जसमा १ लाख ४ हजार ७१७ थान इन्डक्सन र ४२ हजार २१८ थान इन्फ्रारेड चुल्हो रहेका छन् । गत आर्थिक वर्ष २०८१-८२ मा जम्मा २ लाख ३९ हजार १७२ थान चुल्हो आयात भएकोमा यो वर्ष आयातको दर अझ तीव्र देखिएको हो ।

नेपाली बजारमा विद्युतीय चुल्होको मूल्य भारतीय बजारको तुलनामा खासै फरक छैन । सरकारले यसको आयातमा १ प्रतिशत मात्र भन्सार दर तोकेका कारण उपभोक्ताहरूले सुलभ मूल्यमा नेपाली बजारबाटै चुल्हो खरिद गरिरहेका छन् । कम भन्सार दरकै कारण सीमावर्ती भारतीय बजार जानुको साटो स्थानीय बजारमै गुणस्तरीय चुल्हो पाइने भएपछि व्यापार बढेको हो ।

विशेषगरी मध्यपूर्वमा देखिएको भू–राजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन सङ्कट आउन सक्ने र त्यसले नेपालमा ग्यास आपूर्ति प्रभावित हुने डरले गर्दा उपभोक्ताहरू सचेत देखिएका हुन्। हर्मुज नाकामा हुनसक्ने अवरोधले ग्यासको मूल्य आकाशिने र अभाव हुने डरका कारण पनि उपभोक्ताहरूले विद्युतीय चुल्होलाई प्राथमिकता दिन थालेका छन् ।

यस्तो अवस्थामा स्वदेशी विद्युतको प्रयोग बढ्नु सकारात्मक भए पनि नियमित विद्युत आपूर्तिका लागि सरकारले ध्यान दिनुपर्ने माग उपभोक्ताहरूको छ ।