• ९ चैत २०८२, सोमबार

विश्व मौसम दिवस : विपद् पूर्व तयारीमा जुट्न आग्रह

blog

विश्व मौसम दिवसका अवसरमा आयोजित प्रभात फेरीका सहभागीहरु । तस्बिर : भवानीदत्त भट्ट

भवानीदत्त भट्ट

अत्तरिया (कैलाली), चैत ९ गते । विश्व मौसम दिवसका अवसरमा सोमबार कैलालीको अत्तरियामा विभिन्न गतिविधि भएका छन् । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले विश्व मौसम दिवसको अवसर पारेर प्रभात फेरी र अन्तरक्रिया आयोजना गरेको हो ।

विश्व हिमनदी, जल तथा मौसम दिवस समेत भनिने विश्व मौसम दिवसको विषेश कार्यक्रममा बोल्नुहुँदै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपद् पूर्व तयारीमा जुट्न सम्बन्धित सबैपक्षलाई आग्रह गर्नुभयो ।

प्रविधिमा भएको विकास क्रमसँगै हालको समयमा विपद् आउनु पहिले पूर्व जानकारी प्राप्त गर्दैआएका छौ भन्दै मन्त्री सार्कीले ग्रामीण भेगका विपद प्रभावितलाई पूर्व सतर्कता अपनाउन जरुरी रहेको बताउनुभयो । उहाँले मौसम सक्रिय हुने समय नजिकिएसँगै पूर्व सूचना प्रणालीलाई थप सक्रिय तुल्याउन आग्रह गर्नुभयो । 

विगत वर्षका कैलाली, कञ्चनपुरका विभिन्न क्षेत्र डुबानमा पर्दैआएकाले आगामी वर्षदेखि मनसुनजन्य विपदको पूर्वतयारीमा जुट्न सम्बन्धित सबैलाई समेत उहाँले आग्रह गर्नुभयो । 

कार्यक्रममा बोल्नुहुँदै सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले विपद् उत्थानमा सबै पक्षलाई सबल तुल्याउन जरुरी रहेको बताउनुभयो । विश्वभर विपद्जन्य घटना घट्दै आएकाले विपद् जोखिम न्यूनीकरण गर्न प्रविधिको प्रयोग गरेर समायानुकुल परिवर्तन हुन जरुरी रहेको उहाँको भनाइ थियो । 

सुदूरपश्चिममा चुरे भएर बग्ने नदीबाट बस्ती डुबानमा पर्दैआएकाले जोखिम क्षेत्रहरूमा लगानी बढाउन प्रदेशका सबै मन्त्रालयलाई उहाँले आग्रह समेत गर्नुभयो । यसका साथै, बाढी जन्य जोखिम न्यूनीकरणका लागि संघ संस्थाहरुलाई जोखिम क्षेत्रमा काम गर्न समेत सभापति पाठकले आग्रह गर्नुभयो । 

पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयाप्रसाद शर्माले प्रविधिको विकाससँगै बाजा बजाएर आउने विपद्बाट जोगिन सबै पक्षहरूलाई आग्रह गर्नुभयो । पुनर्वासस्थित दोदा नदीले गत वर्ष दुई सय परिवार डुबानमा परेको स्मरण गर्नुहुँदै नगरप्रमुख शर्माले आगामी वर्षमा भने डुबान समस्या समाधानका लागि पालिकाले थुप्रै कामहरू गरेको बताउनुभयो । साथै, सङ्घ संस्थाहरूलाई विपद् प्रभावित परिवारको पक्षमा काम गर्न समेत उहाँले आग्रह गर्नुभयो । 

जल तथा मौसम विज्ञान कार्यालय अत्तरिया कैलालीका प्रमुख, इन्जिनियर सञ्जयकुमार साहले विश्व मौसम सङ्गठनले उपलब्ध गराएको सूचनाको सचेतना फैलाउनका लागि गत वर्षदेखि सुदूरपश्चिममा पनि विश्व जलवायु दिवस मनाउन सुरु गरिएको बताउनुभयो । 

उहाँका अनुसार विपद्जन्य जोखिमबाट जोखिम न्यूनिकरणका लागि सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा बाढी सम्बन्धी जानकारी दिन ३४ केन्द्र तथा मौसम सम्बन्धी जानकारी दिन ७६ केन्द्र स्थापना गरिएको बताउनुभयो । तर ७६ वटै केन्द्रहरूलाई स्वचालित गर्न नसकिएको बताउनुहुँदै उहाँले यसका लागि प्रदेश सरकारसँग आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गर्नुभयो । 

साथै, बाढी जन्य जोखिम तथा नदीहरूको जानकारीका लागि ११५५ मा फोन गरेर जोखिमको पूर्व जानकारी लिन समेत उहाँले सबैमा आग्रह गर्नुभएको छ । मौसम पूर्व सूचना प्रदान गर्नका लागि ग्रामीण भेगका बाढी प्रभावित बासीहरूलाई अग्रिम सूचना प्रदान गर्न आगामी वर्षमा मोबाइलमा घण्टी बज्ने गरी तयारी थालिएको समेत उहाँले बताउनुभयो । 

कार्यक्रममा विपद् सम्पर्कव्यक्ति जनकबहादुर कुँवरले विपद् व्यवस्थापन र पूर्व सूचना प्रणालीमा सुदूरपश्चिम प्रदेश सरकारबाट हालसम्म भएका प्रयासहरुको बारेमा प्रस्तुतिकरण गर्नुभयो । त्यसैगरी, प्राक्टिकल एक्सनका वरिष्ठ कार्यक्रम अधिकृत चक्रबहादुर वमले जोखिममा रहेका समुदायको गरिबी हटाउन संस्थाले विपद्का क्षेत्रमा गर्दे आएको कामका विषयमा प्रस्तुतिकरण गर्नुभयो । 

कार्यक्रममा निड्स नेपालका इश्वरी उपाध्यायले विपद् पूर्व तयारी द्रूत प्रतिकार्य तथा पूर्व लाभका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो भने, एनएनएस डब्लुएका कार्यकारी प्रमुख असोककुमार जैरुले विपद सम्बन्धि असल अभ्यासका विषयमा प्रस्तुतिकरण गर्नुभयो । कार्यक्रममा विभिन्न पालिकाका विपद् सम्पर्कव्यक्ति तथा विपद्का क्षेत्रमा काम गर्दैआएका सङ्घ संस्थाहरूका प्रतिनिधिहरू सहभागी थिए ।